बसन्त किन मन पर्छ मलाई?

एक समय थियो
जब हावामा मोबाइलको सिग्नल थिएन,
तर फूलको सुवासले खबर दिन्थ्यो
“बसन्त आयो।”

त्यो दिनहरू सम्झन्छु,
आँगनको धुलोमा नाङ्गा खुट्टा
माटोसँग खेल्दै हुर्किएको बाल्यकाल,
जहाँ गुराँस फुल्नु भनेको
पहाडले रातो सारी ओढ्नु जस्तो लाग्थ्यो।

आमाको हातले टाँसेको टिका जस्तै
राताम्ये गुलाब र बेगन बेलिया फूलहरू
नबोलिकनै आशीर्वाद दिन्थे।

मलाई बसन्त मन पर्छ,
किनकि त्यो केवल ऋतु होइन,
एउटा सम्झनाको ढोका हो
जसलाई खोल्दा
पुराना दिनहरू हावा भएर आउँछन्।

त्यो हावा
कहिल्यै लेखिएन डायरीमा,
तर मुटुको कुनामा
अझै पनि ताजा छ।

बसन्त आउँदा
मलाई लाग्छ
म फेरि त्यही बाटो हिँडिरहेको छु,
जहाँ समय बिस्तारै बग्थ्यो
र सपनाहरू छिट्टै हुर्किन्थे।

पुराना हाँसोहरू
अहिले पनि कतै गुञ्जिरहेछन्,
जस्तै टाढाको बाँसुरी
जुन सुन्न नसकिने गरी नजिक छ।

त्यसैले
बसन्त मन पर्छ मलाई
किनकि यसले फूल मात्र फुलाउँदैन,
भित्र हराएको समयलाई पनि
फेरि अंकुराउँछ।

Leave a Reply

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading