मौनको मूल्य
रिल्सको तीन सेकेन्डमा
भावना जन्मिने, मर्ने समय।
यहाँ
कसलाई फुर्सद छ र
लामो भाषण सुन्ने?
धेरै बुझ्ने?
लामो पर्खिने?
हिजो
मञ्चहरू शब्दले भरिन्थे
उखान–टुक्का
धाराप्रवाह भाषण
र तालीको गडगडाहट ।
आज
ती शब्दहरू
हावामा अल्झिएका छन्।
तालीको आवाजभन्दा
मौनताको गुञ्जन ठूलो भएको छ।
सुन्ने कानहरू थाकेका छन्।
हेर्ने आँखा लोलाएका छन्।
मनहरू…देसले जस्तै
अब परिणाम खोज्दैछन्।
यो समय
बोल्नेको होइन
नबोल्नेको पिठो बिक्ने समय हो।
किनकि
नबोल्नेले
शब्द बचाएर
काममा खर्चिएको हुन्छ।
शब्द धेरै भए
सत्य सानो हुन्छ।
मौन गहिरो भयो भने
सत्य आफैं उभिन्छ।
हिज तिमी बोलिरह्यौ
समय बगिरह्यो।
तिमी धेरै करायौ
विश्वास घटिरह्यो।
र आज
जनताले
तिम्रो आवाजभन्दा
उस्को मौनता रोजे।
अब
माइक होइन,
माटो बोल्नुपर्छ।
सपना होइन,
बिकाशको बाटो देखिनुपर्छ।
किनकि
यो देशले अब
कथा होइन
परिवर्तन चाहन्छ।
र याद राख
यो युगमा
शब्दले होइन,
कामले कविता लेखिन्छ।





