हिज जस्तो लाग्छ बुबाले “ला यो घडी लगा” भनेर सुनौलो रंगको सिटीजन घडी दिएको । मलाई थाहा छ त्यसबेला म आठ कक्षामा पढदै थिए र हाई स्कुल जाने तर्खरमा थिए । गाउ देखि टाडा सहरमा जहाँ मेरा अग्रज दाजु दिदीहरु पडन जाने गर्थे। त्यसबेला उनीहरुको गाँउमा शाननै अर्कै हुन्थ्यो थाहै नपाई सारा जीवन शैलीनै परिवर्तन हुन्थ्यो मेरोपनि अब परिवर्तनको दिन आयो भन्दै मनमनै खुशीले गदगद भएको थिए त्यस बेला नयाँ घडी पाएर ।
त्यो दिन मेरो जिन्दगीमा सबै भन्दा खुशीको पल थियो किनकि मेरॊ पनि हातमा घडी बाँध्ने उमेर पुगेको थियो वास्तवमै त्यो मेरो जिवनको एउटा अविस्मरणी य दिन थियो । हातमा सुनौलो रंगको घडी बाँधेर स्कूल जान पाउनु वाँह क्या शान थियो त्यस बेला । मलाई थाहाछ त्यस बेला हाम्रो कक्षामा दुई वा तीन जना भन्दा धेरै साथीहरुको हातमा घडी थिएन । मलाई अझै थाहा छ त्यो घडी लाउन थाले देखि सधै हाफ बाहुलाको सर्ट लाँउथे या त सर्ट माथिसम्म दोबारेर लाउथॆ ताकी सबैले मेरा ती सुन्दर घडी देखुन । विदाको दिन पढन भन्दा घडी हल्लाउदै गफ गर्न रामायण र चित्रहार हेर्न भेला हुन्थ्यौ । कहिले दिन भरी भगटेको गोली खेलेर चरचराएको खुट्टा लिएर घरभित्र झ्यालबाट लुक्दै छिरिन्थ्यो। किनकी हातको घडीले ढोकाबाट छिर्ने समय वितिसकेको संकेत दिन्थ्यो ।
त्यस बेला कहिले काही आमाले घर ढिलो आएको बेला त्यो घडी फालिदे यदि समयको पालना गर्न सक्दैनस भने भनेर गाली गर्नु हुन्थ्यो । म भने चुपचाप हातमा घडी बाधेर शानसित हिढथे समयको पालनै नगरि । किनकि हातमा घडी थियो , दिमागमा शान थियो र मनमा भुत सवार थियो वाहँ क्या जिन्दगी थियो त्यो ।
तब लाग्थ्यो वाह यो घडीको अविस्कार नभएको भए अथवा मेरो हातमो यो घडी नभएको भए मलाई कसैले हेर्दैन थिए होलान्, साथीहरु मलाई देखेर डाह गर्दैन थिए होलान् । म मन मनै यो घडीको अविस्कार भएकोमा र हातमा यो सुन्दर घडी बाधन पाएकोमा गर्व महशुस गर्थे । आफैलाई अतिनै राम्रो र अरुभन्दा फरक महशुस गर्थे ।
तर आज अचानाक एतिका बर्षपछि सपिङ्ग जाँदा मेसीजको मलमा एउटा घडीले मलाई लोभ्यायो र अतितका। दिनहरु र त्यो बाल्य कालको सम्झना दिलायो। त्यहाँ शो केसमा सजाएर राखेको नजरपर्यो सुनौलो रंगको सुन्दर घडीहरुले। मलाई थाहा छ मैले कलेज पदुन जेल बुबाले दिनुभएको त्यो घडी लगाएको थिए हुनत मेरोमा थुप्रै घडीहरु थिए खासाको पिलपिले घडी देखि क्यालकुलेटर समेत भएको घडीहरु युवा अवस्थामा र कलेजका दिनहरुमा बाधेको थिए त्यसबेला घडी मात्र समय हेर्न बाँधिदैनथ्यो घडीत एउटा गहना थियो शान थियो कलेजमा सबैलाई इम्प्रेस गर्ने माध्यम थियो । त्यसैलेत कहिले कुन कहिले कुन घडी बाँधिन्थ्यो र कहिले काहीत साथीहरुसित साटेर समेत लगाइन्थ्यो अर्को नया साथीलाई प्रभाव पार्न त्यसबेला कल्पना समेत गर्न गाह्रो हुन्थ्यो हातमा घडीनै नबाँधि बाहिर कतै जान । जसरी आज सेलफोन(cell Phone) नबोकि कतै जान सोच्नपनि सकिंदैन यो कस्तो समयको खेल हो।
तर आज अचानाक नाडीमा हेरे धेरै बर्ष दखिको शानसित टल्कने घडी थिएन त्यहाँ , घडी किन्न नसकेर त पक्कै हैन किनकी आज कमसेकम महिनामा दुई चारवटा सम्मत घडी किनेर बाध्नसक्ने हैसियत त पक्कै भएको छ यो अमेरिकामा आएपछि तर अचम्मलाग्छ वास्तवमा भन्ने हो भने यहा आएको साल देखिनै मैले घडी बाध्न छाडे । खै किन बाध्न छाडे र कहिले देखि यस्लाई बाध्न छाडे यकिनका साथ भन्नै नसक्ने भएछु अहिले । जेहोस अहिले यो हात विना घडी हिडेको धेरै भइसक्यो थाहा छैन घरमा कुन कुन कुनामा होलान् मेरा ति पुराना घडीहरु ।
मन मनै सोच्न थाले पहिला हामी हातमा घडी बाँधेपनि कहिले केहि समयमा गर्दैनौ थियौ जहिलेपनि जहाँपनि ढिलो हुनेत नेपालीको पहिचाननै हो यहा पनि हाम्रो केहि कार्यक्रम हुदा ढिलै हुने गर्छ र किन ढिला गरेको भनेर कसैले सोधे नेपाली समय हो ढिलो त भई हाल्छ भन्ने जवाफ हामी जहिलेपनि पाउछौ ।
अमेरिकामा बसेर घण्टा हान्नै फुर्सद हुदैन हातमा बाधेको घडी हेर्ने फुर्सद कस्लाई? त्यसैले यहा कमै मान्छेले हातमा घडी बाधेको देखिन्छ तर जे होस हाम्रो देसमा जस्तो हातमा घडी बाधेर अबेरमा आफनो काममा जान यहा पाईदैन मिनट, मिनटको हिशाव हुने देसमा ढिलो आउनेको त जागिररै चट । त्यसैले होला यहा हातमा हैन मानिसले दिमागमा घडी बाधेको हुन्छन ।
जे होस घडी त घडीनै हो एउटा त बाँध्नै पर्ला भन्दै एउटा सुन्दर घडी किने । घडी किनेर सोझै आफनो गाडीतिर हानिए किनकि समय निक्कै विती सकेको थियो । छोरालाई स्कुलबाट पिकअप गर्नुथियो त्यसैले सोझै पार्किंगलट तिर हानिए हातमा घडीको झोला हल्लाउदै । गाडी स्टार्ट गर्दा आखाँ गाडीको घडीमा पर्यो ला………। छोराको स्कुल त विदा भई सकेछ, हतारिइदै गाडी हुईकाए पुलिसले टिकट दिन्छकि भन्ने कुरालाई समेत भुलेर। त्यतिनै बेला छोराको फोन आयो “डयाड किन लेट” हेर्नु त मेरो कराटे क्लास पुग्न मात्र दस मिनेट छ ढिलो भयो भने क्लासमा पस्नै दिदैन ” ल ल म आई पुग्नै लागे भन्दै गाडी स्कुल तिर हुइकाए आखाँ भने घरी गाडीको घडीमा र आइफोनको घडीमा परि रहेको थियो । नभन्दै आज यो घडी किन्न लागेकोले सबै ढिलो हुने भयो स्कुलमा पुग्ने वित्तिकै छोरा रिसाउन थाल्यो, ” ड्याड आज मेरो कराटे क्लासपनि गयो हजुरले गर्दा” ल ल भ्याईन्छ भन्दै छोरालाई गाडीमा हाल्दै थिए उताबाट पुलिसले साईरन लाउदै आएर टिकट थमाई दियो तीन मिनेट पार्किंग जोनमा धेरै रोकेको कारणले खै यो समयपनि कत्ति चाडो भागेको । उता छोरा रिसाएर बम ।
अब उस्लाई फकाउन सिवाय मेरोमा अरु केहि उपाय थिएन र अचानाक दिमागमा एउटा उपाय आयो यो घडी त छोरालाई दिन पर्यो ” ला यो घडी लगा” भन्न नभ्याउदै उस्ले आफनो ध्यान पिएसपिबाट नहटाई जवाफ दियो ” के गर्नु मलाई यो घडी? “बरु अस्ति देखि भनेको हैन आइ वाच किन्छु भनेर ?” हैन बाबु यो घडी लगा न हेर त कत्ति राम्रो छ फेरि समय हेर्नपनि त काम आउछ हैन र !!
समय हेर्न घडीनै चाहिन्छ त? ” मेरोमा सेलफोनमा घडी छ , यो पिएसपीमा घडी छ हजुरको गाडीमै घडी छ, मेरो व्यागको लकमै घडी छ , मेरो अस्ति भरखर किनेको पेनमै घडी छ अनी म आउट डेटेट यो घडी लाउनु स्कुलमा ? साथी हरु मलाई घडी लागाएको देखेर हाँस्दैनन् नाई म त लाँउदिन हजुर आफै लाँउनुस् मलाई चाहिदैन ।
हो त नि छोराले ठिकै त भन्यो। मेरो मा एति धेरै समय हेर्ने साधन हुँदाहुँदै मलाई किन यो घडी किन्ने सुर चडयो होला अब घरमा श्रीमतीलेपनि यो बुदोलाई के सुर चडेर घडी किन्न हिडेछन र कुनैपनि काम पूरा नगरेकोमा गाली खाने डरले त्यस घडीलाई गाडीको ग्लोव बक्समै लुकाएर राखे मन मनै सोचे भोलि विहानै छोरालाई स्कुल छाडेर आउदा घडी फिर्ता दिन पर्यो । कस्तो अचम्म अहिले हरेक समयको कस्तो महत्व छ तर हातमा घडी छैन त्यसबेला हातमा घडी थियो समयको महत्वै थिएन ।
हेर्नुहोश त हजुरको हात मा घडी छ कि? मैले त घडी लाउन छाडेको पनि एक दशक हुनै लागेछ ।

 

पहिलो पल्ट प्रकाशित मिति : जुन ७, २०११

 

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading