कति ताप्छौ बलेको आगो मात्रै
कहिले काहिँ आफै सल्काएर त हेर
बर्खामा भिजेको दाउरालाई
कालो मुस्लो धुवाको रापमा
एक फेर स्वास फेरेर त हेर
अनि थाहा पाउछौ
कस्तो हुन्छ बाल्न दाउरालाई !


कति सजिलो छ यहाँ
अरूले बालेको आगोलाई ताप्नु
कत्ति सजिलो छ यहाँ
अरूले हिडेको बाटोलाई नाप्नु

झन् कति छ सजिलो अर्काको बुई चडन
कति सजिलो छ अर्काको लिस्नोमा चडन

एक फेर आफै बाटो बनाएर त हेर
कति गह्रोछ भल पैरोले बगाएको
त्यो गोरेटोलाई हिड्ने बाटो बनाउनु

हो सबै भन्दा सजिलो त
अरूले बालेको आगो ताप्नु हुन्छ
र अरूले हिडेको बाटो नाप्नु हुन्छ

अध्यारोलाई कसले पो देख्दो रहेछ र ?
एक झिल्का उज्वालोमा छिचिमिरा जस्तै
सबै झुमिँदो रहेछन यहाँ
भेडा को बथान जस्तै
सबै अरूकै बाटोमा हिड्न
रमाउदो रहेछन यहाँ !

निभेको आगो र कचल्टिएको भातमा
हुँदैन कोही दुई शब्द सहानुभूति दिने
चर्किएको पैताला र ठेला उठेको हातमा
आउदैन कोही खेतालाभइ पालो दिने
बस आउछन त फलेको फल चाख्न
अर्काको भाग माग्न , लाज पचेकाहरु

कति ताप्छौ ह ! अरूले बालेको आगो मात्रै ?
सक्छौ भने त्यो पुषको जाडोमा
र भदौको भलमा रात भरि भरि
त्यो अध्यारो गल्लीमा सुक्सुकाएका
रित्तो पेट र फाटेको बोरामा
चिहाएर त हेर …..

त्यहाँ रातभरी अदृश्यमा
पारिजातको फूलहरु फुलेका छन्
र बिहान सुर्योदय नहुदै
आफ्नै रुख देखि पर झरेका छन्
एउटा दैविक सुन्दारता छरेर ,
तर कसले बुझ्ने उसको बेदना ?

अन्धकारमा फुलेर संसार हेर्नै नपाई
कति लावारिस पारिजातहरु
अकालमै प्राण त्यागी रहेकाछन्
तर हामि भने बिहानै उठाएर
मन्दिरमा छाडाई रहेका हुन्छौ
अर्काको दुख र बेदनालाई
अर्पण गरि बरदान मागी रहेका हुन्छौ
ईस्वरसित मात्र आफ्नै  स्वार्थको।

१३ अक्टोबर २०१२

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading