कति ताप्छौ बलेको आगो मात्रै ?

कति ताप्छौ बलेको आगो मात्रै
कहिले काहिँ आफै सल्काएर त हेर
बर्खामा भिजेको दाउरालाई
कालो मुस्लो धुवाको रापमा
एक फेर स्वास फेरेर त हेर
अनि थाहा पाउछौ
कस्तो हुन्छ बाल्न दाउरालाई !


कति सजिलो छ यहाँ
अरूले बालेको आगोलाई ताप्नु
कत्ति सजिलो छ यहाँ
अरूले हिडेको बाटोलाई नाप्नु

झन् कति छ सजिलो अर्काको बुई चडन
कति सजिलो छ अर्काको लिस्नोमा चडन

एक फेर आफै बाटो बनाएर त हेर
कति गह्रोछ भल पैरोले बगाएको
त्यो गोरेटोलाई हिड्ने बाटो बनाउनु

हो सबै भन्दा सजिलो त
अरूले बालेको आगो ताप्नु हुन्छ
र अरूले हिडेको बाटो नाप्नु हुन्छ

अध्यारोलाई कसले पो देख्दो रहेछ र ?
एक झिल्का उज्वालोमा छिचिमिरा जस्तै
सबै झुमिँदो रहेछन यहाँ
भेडा को बथान जस्तै
सबै अरूकै बाटोमा हिड्न
रमाउदो रहेछन यहाँ !

निभेको आगो र कचल्टिएको भातमा
हुँदैन कोही दुई शब्द सहानुभूति दिने
चर्किएको पैताला र ठेला उठेको हातमा
आउदैन कोही खेतालाभइ पालो दिने
बस आउछन त फलेको फल चाख्न
अर्काको भाग माग्न , लाज पचेकाहरु

कति ताप्छौ ह ! अरूले बालेको आगो मात्रै ?
सक्छौ भने त्यो पुषको जाडोमा
र भदौको भलमा रात भरि भरि
त्यो अध्यारो गल्लीमा सुक्सुकाएका
रित्तो पेट र फाटेको बोरामा
चिहाएर त हेर …..

त्यहाँ रातभरी अदृश्यमा
पारिजातको फूलहरु फुलेका छन्
र बिहान सुर्योदय नहुदै
आफ्नै रुख देखि पर झरेका छन्
एउटा दैविक सुन्दारता छरेर ,
तर कसले बुझ्ने उसको बेदना ?

अन्धकारमा फुलेर संसार हेर्नै नपाई
कति लावारिस पारिजातहरु
अकालमै प्राण त्यागी रहेकाछन्
तर हामि भने बिहानै उठाएर
मन्दिरमा छाडाई रहेका हुन्छौ
अर्काको दुख र बेदनालाई
अर्पण गरि बरदान मागी रहेका हुन्छौ
ईस्वरसित मात्र आफ्नै  स्वार्थको।

१३ अक्टोबर २०१२