थाहै नपाई उ गैरआवासीय बन्यो।

अंग्रेजले गोर्खाली बनाएर बिदेशमा लड्न पठाए
देशले बैदेशिक रोजगारीको नामा खाडीमा पठाए
हुनेले युरोप , अमेरिका र बिकसित मुलुक पठाए
नहुनेले एक छाक टार्न भारतको सहर पठाए
जसले जहाँ पठायो , उ त्यहि गयो
उ कहिले जान्न भन्नै सकेन।
बरु उसले देशलाई मान सम्मान संगै
भिक्टोरिया क्रश र बीर गोर्खाको संज्ञा दियो
द्वन्द र आर्थिक रुपले जीर्ण भएको देशलाई
हरेक दिन उसले देशलाई रेमिट्यान्स दियो।

शायद एक मुठी खुसि खोज्न होला
शायद गाँसबासको जोहो गर्न होला
शायद साहुको दासत्वबाट मुक्त हुनहोला
चुपचाप उ आफ्नो हैसियत र गच्छे अनुसार
जहाँ मिल्छ त्यहि देशमा गयो
आफुले आधा पेट खाएर भएपनि
हरेक महिना देशलाई रेमिट्यान्स दियो।

त्यसैले त कहिले लाहुरेको नाममा
कहिले शान्तिसेनाको नाममा
कहिले बैदेशिक रोजगारीको नाममा
कहिले शिक्षक र विद्यार्थीको नाममा
कहिले पी आर र डिभी को नाममा
कहिले सरकारी र गैह्र सरकारीको नाममा
देशले उसलाई बिदेसिन प्रोत्साहित गर्दै
उसको भबिष्यको बैकल्पिक बाटो रोजी दियो ।

देशले कहिले तिमी नजाउ भनेन
तिमी मेरो सन्तान हौ यहि तिमीलाई
रोजगारी र आत्मनिर्भर बनाउछु भनेन
किनकी देशलाई तिमी गएबापत
हरेक महिना रेमिट्यान्स जो लिनु थियो।
रेमिट्यान्स संगै देशमा लाश भित्रिंदा समेत
कहिले नजाउ अब तिमीहरु भन्न सकेनौ
युवा शक्तिलाई देशमै उपयोग गर्न सकेनौ।

देशमै उसको भविष्य सुनिश्चित हुदो हो त
किन बिदेशमा श्रम बेच्न उ जान्थ्यो होला र ?
नपत्याए एक फेर त्रिभुवन बिमानस्थललाई सोध
भारत र तिब्बतसित जोडिएको हरेक नाकालाई सोध
उ संगै बिदेशिएको सुटकेश, ढाक्रो र झोलालाई सोध
र सोध ल्याटिन अमेरिकाको अनकन्टार गाउ, सहरहरुमा
अफ्रिकाका जंगलहरुमा र पानामा क्यनालमा
मृत्यु र जीवनको बीचबाट उम्केका ति आत्माहरुलाई
जहाँ उसलाई दलालले लाखौ लिएर बीचबाटोमै छोडिदियो
र कहिले बाच्यो बाचेन वा आफ्नो गन्तब्यमा पुग्यो पुगेंन
कहिले कसैले खोज खबर नै लिएन
न सरकार न दलाल न कुनै नेताले
कहिले कसैको चासो र सरोकारनै लिएन ।

तरैपनि उ आफ्नो पोल्टामा
एउटा सिंगो नेपाल बोकेर हिडेको छ
जहाँ देशको मानचित्र संगै
सगरमाथा, बुद्ध र रास्ट्रीय झण्डा बोकेको छ
आफ्नै देशमा फर्की आउछु भनि उसले
हरेक गुम्बा र मन्दिरमा भाकल राखेको छ।

उ त मात्र घरको छानो टाल्न निस्केको हो
उ त मात्र साहुको बन्दक तिर्न निस्केको हो
उ त मात्र गाँस र आवासको सपना बोकेर निस्केको हो।

तर उसलाई के थाहा ?
गाँस र बासको खोजीमा निस्किदा
आफ्नै आवास गैह्र हुन्छ भनेर
तर उसलाई के थाहा ?
देशले उसितको नाता तोड्दा,
उ अचानक गैह्र आवासीय हुन्छ भनेर
उ सोच्नै सक्दैन उसले हो कि देशले
एकै पलमा उसलाई गैह्र बनायो, भूपू बनायो
त्यसैले त उ अहिले गैरआवासीय र भूपू हुदै
आफ्नै देशको अवहेलित नागरिक बन्यो।
हिज आज त उसलाई
भूपू नेपाली समेत भन्न पछि परेन
देसका जिम्मेवार र ठेकेदारहरु।

पहिलोपल्ट अक्टोबर ११ , २०१४ मा प्रकाशित

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading