By

Published on

डलरले कमाएको स्टाटस्

डलरले कमाएको स्टाटस्
“साथी म त बरबाद भए”, अचानाक सेल फोन उठाउन भ्याएको थिईन उताबाट आवाज आयो, मैले सोधे, “हैन के भो एति विहानै ? तिमी कसरी वरवाद भयो मित्र, हिज मात्र हामी फोनमा कुरा गरेको हैन तिमी त धेरै खुशी थियौ त, एति धेरै वर्षपछि सपरिवार भएकाछौ भरखरै परिवार नेपालबाट आएको, के भयो मित्र ? भनन्” । साथी फोनमा भक्कानिदै भन्न थाल्छ, “हैन मित्र तिमी एकक्षण मेरोमा आउन म त केहि सोच्नै सकिन , यहि आएर तिमीलाई सबै कुरा सुनाउछु” उस्ले फोन राखिदियो । मैले केहि बोल्नै पाएको थिईन फोनको लाईन कट । मनभित्र थुप्रै प्रश्नहरु आउन थाले , आखिर के भयो त उस्लाई? हतार हतार नुहाएर गाडी निकालेर सोझै उस्को डेरातिरलागे ।

यो अमेरिकामा खै के के हुन्छ हुन्छ? थाहै पाउन गाह्रो । मनमा चस्स चिसो पस्यो कतै स्टोरमा काम गर्दा गोली त चलेन? कतै उ घाईते त भएन? हिज आज निक्कै यस्ता घटनाहरु सुनिन थालेकाछन् धेरै नेपालीहरुले विनाकारणै ज्यान समेत गुमाएकाछन्, हैन, हैन सायद अरुनै केहि कारण हुन सक्छ, जे होस आखिर उतै जादैछु थाहा भईहाल्छनी । उ बसेको सहर मेरोबाट करिव एक घन्टाको दुरीमा छ त्यहि पनि यो अमेरिकाको सडकमा दु्रत गतिमा गाडी चलाउदा, नेपालमा हो भने करिव चार घन्टा लाग्न सक्छ, त्यति दुरीलाई तय गर्न, यहित विशेषता छ अमेरिकाको हरेक सहरलाई सडकले जोडेको छ र त्योपनि दु्रत गतिका हाईवेले जहाँ प्रति घन्टा सत्तरी माईलको गतिले गाडी चलाउन पाईन्छ भने सडकमा नेपालमा जस्तो गाई बाख्रा र मानिस रिक्सा दौडदैन । त्यही माथी जि पि एसको माध्यमले एक स्थान देखि कहिले नपुगेको स्थानमा जान समेत कसैको सहयोग लिन नपर्ने जिपिएसमा गन्तव्य स्थानको ठेगाना सेट गर्यो र गाडी दौडायो हावाको गतिमा । म पनि उस्को नया डेराका ठेगाना मिलाएर उस्लाई भेटन भनी गाडी लिएर निस्किए । आज आईताबार भएकोले म विदामै थिए र घरमा त्यति काम पनि थिएन मेरो श्रीमतिपनि घरमा थिइन उ छोराको कराटे क्लासमा गएकि थिई र फोनमा उस्लाई साथीको मा जादैछु खै के इमेरजेन्सी पर्यो रे बोलाएको छ भनेर घरबाट निस्किए । म बाटो भरि के के सोच्दै उ बस्ने नजिकको सहरतिर लागे ।
आहाँ कस्तो राम्रो दिन रहेछ, यो क्यालिफोर्नियाको विशेषता भनेकै यहाँको मौषम हो झन हामी बसेको यो बर्कले त वास्तवमै स्वर्ग छ न कहिले गरम हुन्छ न मुटु कमाउने जाडो । अन्य राज्यमा वस्ने साथीहरु गरममा उखर माउलो गरम भएको र जाडोमा हिउपरेर घरबाटै निस्कन नसकेको जानकारी गराउछन् तर आफुभने सदावहार मौसममा रमेर बसेका छौ । त्यहि माथि कहिले काहि अलिक गर्मि भएमा मरिनाको चिसो हाँवा खान त कहिले बर्कले हिलको नागबेली जस्तै गोरेटोमा गाडी दौडाउदै गल्फ कोर्स सम्म जानको मज्जा मलाई कहिलेपनि बोस्टनमा बस्दा होस वा रोड आईलयाण्डमा बस्दानै लाग्यो । यहिको मनोरम वातावरणमा मेरी श्रीमति मार्च अप्रिल लागेपछि बर्कले हिलमा लटरम्म फुलेको लाली गुराँस छोरालाई देखाउदै भन्छे, हेर त बाबु त्यही हो हाम्रो नेपालको राष्ट्रिय फुल, छोरापनि मक्ख परेर भन्छ तर मैले त नेपालमा कहिलेपनि देखिन त यो फुल फुलेको ? उस्का बालशुलभ प्रश्नको जवाव दिदै भन्छे हैन हामी नेपालको तराईमा वस्छौ र यो हिमाली वा पहाडी क्षेत्रमा फुलने भएकोले न देखेको हो , तर यस पाला नेपाल जादा तिमीलाई देखाउला है , उ पनि मक्ख पर्दै भन्छ हामी नेपाल कहिले जाने?
मेरो आठ बर्षे छोरोलाई नेपालको बारेमा जत्ति कुरा स ुनाएपनि सधै एउटै प्रश्न गरि रहन्छ, मम्मी नेपाल त्यति शुन्दर छ भने हामी यहाँ किन बसेको त? यस प्रश्नको जावाफ न मैले आज सम्म दिन सकेको छु न त मेरी श्रीमतिले नै तरैपनि हामी घरमा उस्लाई नेपालकै संस्कार र शिक्षा दिन रुचाउछौ र भन्नु पर्दा उ यहाँ नर्सरी देखिनै पडदै आएको भएपनि नेपाली भाषा उस्ले विर्शिएको छैन र एउटा नेपालीको बच्चाले जस्तै बोल्न सक्छ, यहिमा हामी सन्तुष्ट छौ । तर यहाँ रहेका धेरै अभिभावकहरु आफनो बच्चासित घरमापनि नेपाली नबोलेको देख्दा दिक्क लाग्छ र वहाँहरु आफनो सन्तानले नेपाली भन्दा अंग्रेजीमात्र बोलेकोमा दंग पर्छन् र भन्ने गर्छन् हेर्नोस न हाम्रो बाबु त अमेरिका आएको दुई बर्ष भएको छैन नेपाली त बोल्नै छाडयो, कस्तो राम्रो अंग्रेजी बोल्छ, हुनपनि यहि बस्ने हो नेपाली बोलेर के पो हुन्छ र बरु उस्को अंग्रेजी बोल्ने लवजमा नेपाली प्रभाव परेर यहाँकाहरुले जस्तो बोल्न सक्दैनन् त्यसैले हामी त आफनो छोरा छोरीलाई यहिको रहन सहन र भाषा अनुशार हिडन सिकाउछौ ।
एक दिनको कुराहो म मेरो एक जना मित्रको छोरोको जन्मदिनको पार्टीमा गएको थिए, त्यहाँ थुप्रै नेपाली बच्चाहरु आएका थिए तर कोहिपनि नेपाली बोल्न न जान्ने , मैले धेरै बच्चाहरुलाई नेपालीमा बोल्न खोजे सबै मलाई त कुन ग्रहबाट आए जस्तो गरि हेरे ति बच्चाहरुले । तर त्यही छिमेकमा मेरो एक जना अमेरिकी साथीको परिवार पनि बस्ने गर्छन उस्लाई फोन गरेर सोधे के उ घरैमा छ भनेर? उस्लेपनि म आएको थाहाँ पाउना साथ मलाईपनि छोरालाई लिएर आउन आग्रह गर्यो, मेरो छोरो उस्को छोरोसित खेल्न निक्कै रुचाउछ, किनभने ति अमेरिकि दम्पतीले नेपालबाट बच्चालाई धर्मपुत्र बनाएर ल्याएको छ र हरेक बर्ष गर्मी विदामा नेपाल लै जाने गर्छ त्यस बच्चालाई, साथै मेरो छोराकै स्कुलमा पडने भएकोले होला निक्कै मिल्छन दुईजना, साथै उनिहरु नेपालीमा बोल्न पाउछन् र नेपालको बारेमा जानकारी दिने धेरै सामग्रीहरु उस्को छोराको कोठामा सजाएर राखेको छ, उ जहिलेपनि मलाई भेटने साथ खै यस्लाई नेपाली पडाउनुपर्ने यहाँ त्यस्तो केहि व्यवस्थागर्न सके राम्रो हुनेथ्यो भनि रहन्छन । उनिहरु नेपालमा पिसकोरमा धेरै बर्ष बिताएको र नेपाल भनेपछि मरिहत्ते गर्छन् र जहिलेपनि भन्छ हामीलाई एउटै चिन्ता छ कि हाम्रो यस छोराले नेपाल र नेपाली भाषा कहिले नभुलोस जे भएपनि उ त नेपाली हो नि । तर मलाई दुख लागेर आउछ जब हाम्र्रै नेपालीहरु आफनो सन्तानले नेपाली बोल्न जान्दैन त भनेर गर्व महशुस गरेकोमा ।
अचानाक मेरो अघि दौडिरहेका गाडीको गति कम भयो र मेरो ध्यानपनि भंग भयो, एसो हेरेको बाटोमा मोटर साईकल र एउटा कार ठोक्किएछ , एकै क्षणमा हवाई पुलिस र एम्वुलेन्स आएर बाटो क्लियर बनाउन थाल्यो । लगभग दस मिनटपछिको रुकावटपछि फेरि गाडीहरु आफनै गतिमा दौडन थाल्यो, म मन मनै सोच्न थाले हेर यहाँ यस्तो दुर्घटना हुदा समेत केहि बेरमै बाटो खाली हुन्छ नेपालमा भए दिन भरि चक्का जाम हुने थियो ।
फेरि गाडीहरु आफनै गतिमा दौडन थाल्छ र यो मनपनि आफनै गतिमा फेरि त्यही साथीको बारेमा सोच्न थाल्छु, के भयो होला उस्लाई फोनमा कुरै गर्न चाहेन, यसरी कहिलेपनि मलाई यसरी अचानाक बोलाउदैन थियोरु? जे होस म उतै जादै छु थाहा भईनै हाल्छ नि, मलाई लाग्छ सायद आठ बर्ष भयो होला मैले उस्लाइ चिनेकोे , नेपाल बाट भर्खर भर्खर आएको थियो, पुर्वी नेपालको एउटा सानो गाँउको हो भन्थ्यो , सायद धरान देखि भित्र चतरा जाने बाटो भएर जान पर्छ भन्थ्यो, अहिले मलाई थाहाँ भएन उ त्यहाँ कुन गाउको हो भनेर तर उस्ले भने अवस्यपनि मलाई आफनो गाउको बारेमासुनाएको थियो । उ एक दिन उ काम खोज्दै मकहाँ आएको थियो र मैले एकजना चिनेको मित्रकोमा काम लगाइदिएको थिए । आज सम्म त्यही स्टोरमा काम गरिरहेकोछ । यहाँको दैनिकीमा दिन रात हैन तर बर्ष वितेकै थाहा हुदैन आज आठ वर्ष वितेछ । एतिका बर्षमा उस्ले सधै आफनो श्रीमति र सात बर्षको छोरीको कुरा मात्र गर्ने । उ साह्रै साझो, इमान्दार कहिले मौज मस्ति र अमेरिकाको हावा नलागेको मान्छे, । महिना मर्न भ्याएको छैन सबै डलर नेपाल पठाई हाल्ने । कहिले गाडी समेत किनेन, जहिलेपनि सार्वजनिक यातायातमै हिडने हुनाले उ त्यति केतै जादैनथ्यो । जहिलेपनि नेपालको बारेमै सोचि रहने, कहिले नेपालको बदलदो राजनैतिक परिश्थिति त कहिले नेपालमै शान्ति हुने भएत यहाँ विदेशमा के को यस्तो दुख गरेर बस्नु भनेर भन्थ्यो, तर उ बाध्य थियो, साधारण परिवारको छोरो सायद निक्कै कर्जा टाउकोमा उठाएर विदेश आएको हुनुपर्छ, उ भन्ने गथ्र्यो मलाई त विदेश आउनै मन थिएन के गर्ने श्रीमतिले जहिलेपनि साथी भाई, इस्ट मित्रले गरेको प्रगति देखाएर के जिवन भर हामी दुखैमा जिन्दगी विताउनु भन्ने गरेकै कारणले आज उ विदेश आएको भन्थ्यो । एता आएपछि उस्ले श्रीमति र छोरीलाई पनि गाँउबाट काठमाडौ झिकाएको थियो, भनौ उनिहरुनै गाँउमा वस्न नमानेकोले काठमाडौ डेरा लिएर बस्न थालेका थिए ।
उ सधै परिवारकै बारेमा चिन्तीत रहन्थ्यो र उनीहरुकै भविष्यको लागी भनेर दिन रात मेहनत गथ्र्यो । कहिले छोरीको स्कुलको बारेमा त कहिले श्रीमतिको बारेमा मलाई सुनाउने । छोरी नेपालकै वेस्ट बोर्डिंगमा हालेको छु, यहाँ मैले जे गरेपनि सबै तिनीहरुकै लागी त हो, यस्तै गन्थन जहिलेपनि सुनेउने मलाई फोनमा । उस्लाई कहिले यहाँ मनोरन्जन गरेको वा त्यस्ता गतिविधीमा सरिक भएको आज सम्म मैले देखेको छुईन, यहाँ सम्मकि उ यहाँ हुने नेपालीहरुको कार्यक्रमहरुमा समेत देखिदैन थियो , सधै घर परिवार छोरीको भविष्यको चिन्ता हुन्थ्यो उस्लाई । दिनमा कहिले काहि अठारह घण्टा सम्म कामगरेको जानकारी दिन्थ्यो मलाई ।
म गाडि जसरी आफनो गतिमा चलाई रहेको थिए त्यो भन्दा पनि दु्रत गतिमा मेरा दिमागहरु एस्कै बारेमा सोच्न वाध्य भईरहेथ्यो , एकदिन फोन गरेर भन्दै थियो, “हेरन कस्तो मुस्किलले पेपर बनाएर परिवार झिकाउन लागेको आमा छोरीनै आउदिन भन्छन्, सम्झाई दिनुन”, मैले भने, “हैन यो परिवारिक मामला हो सम्झाए मानीहाल्छननी, मानिसहरु अमेरिका भनेपछि नेपालमा घर खेत सबै बेचेर हिडछन, त्यसै पेपर बानाईदिन्छु, भिषा मिलाईदिन्छु भनेर पन्द्र बीस लाख खाईदिन्छन्, किन के भयोर अमेरिका नआउने?”, “खैे कहिले कहिले के कहिले के बहाना लाउछे छोरीपनि एस एल सी दिएर मात्र आउने भन्छे ”े । एकदिन फेरि फोनमा सुनाउदै थिया, “हैन नेपाल कस्तो महंगो भयो यार, महिनामा एक लाखले घर चल्दैन भन्छे , छोरीपनि स्कुलमा साथीहरुको बर्थ डे र पार्टिमा जानुपर्छ खाली हात गएर भएन डैडी अमेरिकामा वस्ने म चाही जाबो चार पाच हजारको उपहार दिनु साथीलाई भन्दै गुनासो गर्दै भन्छे , डलर अलिक धेरै मेरै नाममा पठाउनुपर्यो हजुरलाई के मेरा साथीहरुको सामु लज्जित भएको मन पर्छ ? मत छक्क पर्छु त्यस्ती फुच्चि नेपालमा छोडेर आएको अहिले अमेरिकामा बस्ने बाबुले छोरीको पकेट मनी पुर्याउन हम्मे” । यस्तै यस्तै उस्का परिवार सित भएका फोनका वार्तालापहरु मलाई स ुनाउने गर्छ उ । मलाईपनि लाग्न थाल्यो सायद अमेरिकामा बस्ने श्रीमान र डैडीको स्टाटस मेन्टेन गर्दा गर्दै देखा सेकीमै काठमाडौको आधुनिकताले गाजेछ उस्को परिवारलाई, । उभने यहा लिभींगमा साहुकैमा कामगर्दै त्यही स्टोरमाथिको एउटा कोठामा सात बर्ष वितायो, हालै मात्र नया एपार्टमेन्टमा सरेको थियो त्यहीपनि परिवार आउदै छ भनेर । तर जेहोस उस्ले परिवारलाई सम्झाउन सकेछ र गत महिनामात्र परिवार आइपुग्यो भनेर मलाई सुनाएको थियो मलाई एयर पोर्ट लिन जान अनुरोध गरेको थियो तर म आफनो कामको शिलशिलामा बाहिर गएको हुनाले उस्लाई सहयोग गर्न सकिन, पछि थाहाँ भयो उस्कै शाहुको छोरोले परिवारलाई एयर पोर्टदेखि ल्याउन मदद गर्यो रे ।
उस्को परिवार आईसकेको थाहाँपाए पछि एकदिन फोन गरेर भेनको थिए “ ल एकदिन भाउजुलाई लिएर म कहाँ खाना खान आउने, मैले बधाई दिदै भनेको थिए ।” उस्कै बारेमा सोच्दा सोच्दै म उ बस्ने डेरा नजिकै पुगेछु, अचानाक रातो बत्तीमा आफुभन्दा अघि दौडिरहेको गाडी रोकिएपछि मपनि हत्तन पत्त गाडीको ब्रेक हान्न पुग्छु, तर भाग्य राम्रो मेरो अगाडि भएको गाडीकै कारणले रोक्न सफल भए नत्र रातो बत्तिमा हिडेको भए ? मन ढक्क फुलेर आयो या त मेरो गाडी अरु गाडीसित ठोक्किनन्थो वा ट्राफिक लाईटमा भएको क्यामेराले फोटो खिचेर चार सय डरल र टाफिक क्लास लिन जानपर्ने हुन्थ्यो । जे होस केहि भएन । म जिपिएसमा हेरेर त्यसकै निर्देशन अनुशार उस्को घर नजिकको बाटोको किनारमा गाडी पार्क गरेर उस्को घर तिर लागे, उस्ले दिएको ठेगाना अनुशार उस्को कोठाम पुग्न केहि कठिनाई भएन, यहि विशेषता छ यहाँको घर नम्वर वा कोठा नम्बर भएपछि र त्यस स्थानको सिह ठेगाना भएपछि जिन्दगीमा कहिले नपु्गेको स्थानमा समेत पुग्न कुनै मुस्किल पर्दैन , मपनि उस्कै कोठामा पुगेर कलबेल बजाउन पुगे । तर कल बेल बजाउदापनि कोहि आएनन ढोका खोल्न, एसो धकेलेको ढोका खुलै रहेछ, र लिभिंग रुममा उ थच्च बसेर झोक्राई रहेको । “हल्लो मित्र के छ हाल खबर? खै त भाउजु, छोरी?” , मलाई देख्ने वित्तिकै उ त रुन थाल्यो, “खै के भन्ने मलाई छाडेर कहाँ गए तिनीहरु , म त बरवाद भए, मसित नबस्ने रे, मेरो र उनिहरुको स्टाटस मिलेनरे छोरीपनि मलाई डैडी भन्न लाज लाग्छरे, म त त्यही गाउकै जस्तो पाखे छुरे” , हातमा च्यापेको पत्र देखाउदै विलौना गर्न थाल्छ ……………….. म चुपचाप उस्को बिलौना सुनिरहे, मेरोमा केहि शव्दै थिएन उस्लाई सम्झाउने ।

first published in Jan 26th 2014


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading