By

Published on

भो मलाई समाज सेवा गर्नु छैन।

२०७५ माघ २८ गते

 विधा : कथा साहित्य  

सुनिल मस्त निन्द्रामा सुति रहेको थियो अचनाक फोनको रिङ्ग टोनले उसलाई झस्कायो , नेपालबाट पो हो की एति बिहानै ? निन्द्रैमा फोन उठाएर बोल्छ, “हल्लो को हो ?”

“हल्लो मित्र मेरो इमेल पायौ ? अह हेरेको छुइन राति अबेर कामबाट आएर सुतेको अहिले ओछ्यानमै छु।”

के छ भनन हेर्ने पर्दैन नि तिमीले भने पछि, उताबाट फोनमा आग्रह गर्छ , होइन हेरन फोटो पनि छ, ल भरे फोन गर्छु अरु साथीहरुलाई पनि फोन गर्नु छ भन्दै अचनाक फोन कट हुन्छ। सुनिल फेरि सिरकले मुख छोप्दै घोप्टो परेर सुत्न खोज्छ । नसुतोसपनि किन र हिजो कमसेकम एक्काइस घण्टा ट्याक्सी हाकेर बल्ल सुत्न पाएको छ। उस्को साथी खै कस्को नानीको पास्नीमा जानु थियोरे र उसको सिफ्टपनि ट्याक्सी हाकेर भर्खरै आएर सुतेको हो । हुनत उसलाई पनि नबोलाएको होइन तर उ भने एउटा ५० डलरको भिसा गिफ्ट कार्ड किनर सानो पत्र समेत लेखी आउन नसकेकोमा क्षमा याचना गर्दै सानो बाबुलाई धेरै आशिर्बाद लेखी पठाउँछ।

हो उ प्रायः कसैको जन्म दिन वा पास्नीको निम्तो होस वा अन्य भोजमा बोलाउँदा जान नसकेको खण्डमा यसरीनै सुभकामना पठाउने गर्छ। उसलाई देखावटी र ढोंग पटक्कै मन पर्दैन नकि सस्तो प्रचारबाजीनै। अनौठो छ उसको जीवन शैली। हरेक महीना कमाएको दस प्रतिसत नेपालको बिपन्न परिवारका नानीहरुको शिक्षामा पठाउँछ तर कहिलेपनि त्यसको प्रचार गरेर ठुलो समाज सेवक हु भनेर सामाजिक संजालमा सेर गर्दैन । यहाँ पनि हरेक बिपद र कसैको दुर्घटना भएर मृत्यु हुदा होस वा कसैको उपचारको लागि सहयोग उठाउँदा जहिले पनि आफुले सकने सहयोग गर्छ र नाम सधै अज्ञात राख्न रुचाउछ। उसको बुझाई छ एउटा हातले दिएको दान अर्को हातले समेत थाहा नपवोस नत्र त त्यहाँ सेवा होइन स्वार्थ लुकेको हुन्छ।

केहि बेर पछि फेरि फोनको घन्टी बच्छ र उसलाई ब्युझाउछ, हेर्छ उसैको फोन रहेछ रिसले चुर भएर फत फताउछ “यिनीहरुलाई काम छैन खाली फोन मात्रै गर्छन ” , फोनलाई साइलेन्स मोडमा राखेर फेरि सुत्छ। त्यस पछि कत्ति फोन आयो उसलाई केहि पत्तै हुदैन। उ जस्तो सुकै जरुरि किन नहोस फोन नउठाउने निदो गरेरै फोन साइलेन्स्मा राखेर सुत्छ।

तर उसको निन्द्रा भने भागि सकेको हुन्छ र ओछ्यानमै कोल्टे फेर्दै के के सोच्न थाल्छ। यो गुगलको इनपुटले पनि गर्नु गर्यो, हिजो सम्म दुइ लाईन नेपालीमा लेख्नु पर्यो भने नेपालमा फोन गरेर साथीहरु र आफन्तलाइ गुहारेर वा मलाइ कर गरेर एसो नेपालीमा यो लेखि देउन जरुरी छ भनेर दिक्क लाउथ्यो अहिले सरर नेपालीमै आफ्नै कम्प्युटर मार्फत लेख्न सिकेकाछन , लेख्न पनि किन न सिकोस कत्ति सजिलो र सरल छ यो गूगल इन्पुट , हुनत उ मात्र होइन हिज आज यो इमेल र फेस बुकको कारणले त सबैनै नेपालीमा लेख्न जान्ने भएका छन।

त्यसैले अहिले सबै पत्रकार र सम्बाददाता बनेका छन्, आफ्नै खबर आफै बनाउने र भएभरको अनलाइन साइटमा पठाएर प्रकाशित गर्न कर लाउने। वा आफ्नै अनलाइन खोल्ने र अरुको बाट कपि पेस्ट गर्ने , कत्ति सजिलो छ अहिलेको संचार प्रबिधि। फेरि त्यस्ता अनलाइनहरुलाई पनि सित्तैमा समाचार चाहिएको छ, यो कत्तिको सहि हो वा होइन कसैलाई मतलब छैन। दुइ चार जना मिलेर एसो कुनै चाड पर्व वा सानो जमघट भयो कि यो साँझ र त्यो साँझ भन्दै समाचार बन्छ , “लेख्नेलाई भन्दापनि पड्नेलाई लाज “ त्यस पछि फेसबुक र अन्य सामाजिक संजालमा सेर गर्यो र आत्मरतिमा रमायो। कति सजिलै नाम र प्रसंसा कमाउन सक्ने सामाजिक संजाल छ अहिले ।

झन् अहिले त कुनै आधारभूत तालीम बिनानै रोमन र नेपालीमा लेख्न सक्ने सुबिधाको बिकाश भएको छ र अब कसैले कसैलाई गुहार्न र चाप्लुसी लाउनु पर्दैन। जे मन लाग्छ सरर आफै लेख अनलाइन पत्रिकालाई पठाउ र त्यसको लिंक र इमेल र फेसबुकको भित्ता भरि टासी देउ, बस सबैलाई जानकारी भइ हाल्छ। फेरि मन मनै फतफताउन थाल्छ , सस्तो लोकप्रियता र आत्मा संतुष्टिको माध्यम बनेको छ यो सब बिदेशमा बस्ने नेपालीहरुलाई। सबैलाई नाम चाहिएको छ, मात्र एउटा बहाना चहिञ्छ.सहयोग र सेवाको नाममा आफ्नै प्रचार गर्न होड़बाजी नै चल्छ यहाँ। त्यस्तै केहि बहानाको नाममा बनेको समाचार हेर्न बिहाननै देखि फोन गरेर हैरान गरेको हुनु पर्छ । कस्तो जमाना आयो आफै फोनै गरी लाइक र सेर गर्न लगाउछन लाजै पचाएर।

अचेल सुनिललाई इमेल खोल्न र हेर्न समेत मन लाग्दैन, यो उस्को कम्प्युटर वा इमेल प्रति बितृष्णा जागेर होइन तर इमेलको वर्षा र संघ संस्थाको सस्तो लोकप्रियताले भरिएको स्वलिखित समाचार र प्रचार प्रसारले होला। झन् दशैँ तिहार, नेपाली, अंग्रेजी नया बर्ष र ल्होसारको सिजन लाग्नै हुदैन इमेलको वर्षा मात्रै कहाँ हो र ? सुनामी र कट्रिनानै आउन थाल्छ, फेरि उ सोच्न थाल्छ “ हुन् पनि किन न होस् गन्ने हो भने अमेरिकाको प्रमुख सहर र नेपाली धेरै भएको राज्यहरुमा तीन चार दर्जनको हारा हारिमा नेपालीहरुले संचालन गरेको संघ, संस्थाहरु खुलेका छन् झन् अमेरिका भरिको नेपाली संघ संस्थाको नाली बेली केलाउने हो भने त एउटा महा भारतनै तयार हुन्छ।”

उसलाई दिक्क लागेर आउछ र एसो घडीतिर हेर्छ दिनको १२:३५ भइ सकेछ, ए है ! दिन त चिप्ली सकेछ, जुरुक्क उठेर कफी मेकर अन गर्छ र बाथरुम तिर लाग्छ। यो उसको दिन चर्या हो करिब चार बर्ष भयो अमेरिका आएको र केहि महिना भित्र उसको परिवार समेत आउने भएकोले एकलै कोठा लिएर बसेको छ, यस अघि उ साथीहरुसित रुम सेर गरेर बस्थ्यो।

उ एकदमै मिलनसार छ सबैलाई सहयोग गर्ने, दुख परेको बेला जस्तै काम छोडेर भएनी जाने तर पार्टी, संघ संस्था र भोज भतेरमा भने त्यति जान रुचाउदैन, बरु मागेको सहयोग गर्छ र जहिले पनि भन्ने गर्छ पहिले आफु सक्षम हुनु पर्छ, आर्थिक प्रगति नगरी समाज सेवा वा अन्य कुनै सेवा गर्न सकिदैन। उ एकदमै इमान्दार र अनुसासित छ, कर्म गर तर फलको आसा नगर भन्ने उसको सिद्दान्त छ त्यसैले सबैलाई सहयोग गर्ने, दुख मा साथ दिने र नाम र यस भने कहिले नलिने खालको व्यक्तित्व छ उसको।

अहिले भर्खरै उसले दुइ बेडरुमको कोठा लिएको छ , सबै कोठामा सर समान किनेको छ तर मिलाउन भने नभ्याएको हो वा परिवार आउने निधो नभए पछि नमिलाई राखेको हो। सबै सामान प्याकेटमै थाक लगाएर राखेको छ । उसको कोठामा जता ततै सामानहरु छरपस्ट छरिएको छन । एउटा कोठामा दुइ छोरीहरु र एउटा कोठामा आफु र श्रीमती बस्ने गरेर डेरा लिएको छ , साथमा एउटा ठुलो बैठक कोठा, बाथरुम र किचेन यहि हो अमेरिकी एपार्टमेन्टको बनोट अनुसार को राम्रो नेबरहुडमा निकै राम्रो ठाउमा कोठा लिएर हालै सरेको छ।सायद परिवारलाई राम्रो स्थानमा राख्नु पर्छ भन्ने सोच भएर होला ।

आज फुर्सद मिलाएर एसो कोठा मिलाउने सोची रहेको बेलामा उसको मूडनै अफ गरिदियो साथीहरुको फोनको घन्टी र उनीहरुको कुराले। बाथरुमबाट निस्किएर कफीको चुस्की लिदैं आइफोनमा इमेल र फेसबुक हेर्न थाल्छ, त्यहि फोन गर्ने साथीको इमेल र फेसबुक स्टाटसले भरिएको रहेछ। भाइबर र मेसेन्जर त उ जहिलेपनि म्युट गरेर राख्छ नत्र दिन रात टिंग टिंग गरेर हैरान पार्छ।

दिक्क लागे पनि एसो हेरी पठाउछ , त्यहाँ उ एउटा नया संस्थाको अध्यक्ष पदमा उम्मेदवारी दिएको समाचार रहेछ, उ फेरि सोच्छ हन यो मान्छे अस्ति भर्खर एउटा संस्थाको अध्यक्ष भएर आफ्नो कार्यकाल पुरा गरेको कस्तो अर्को संस्थाको अध्यक्ष हुन् तम्सेको ह? फेरि भएन यहाँ रहेको हरेक संघ संस्थामा पनि बिभिन्न पदमा रहेको जानकारी उसको फेसबुक प्रोफाइलमा समेत छदै छ अझै नपुगेर फेरि अध्यक्ष हुन् तम्सेछ , कस्तो भुत चढेको हो एस्तो। बिदेशमा बसेर एसो आफ्नो र परिवारको भविस्य बनाउनु, छोरा छोरीलाई समय दिनु , उनीहरुको स्कुल अन्य गतिविधिहरुमा साथ् दिनु। घर परिवारको जिम्मेवारी सबै छोडेर दिन रात यहाँ पनि पार्टी, संथा र क्लबको मात्रै कुरा गरि हिड्छ। घरमा भने………

एसो लाजपनि हुनु पर्ने एउटा संस्था छोडेको दुइ चार महिना हुन् नपाउदै अर्को संथा को कुर्सी ताक्ने। के यहि हो समाज सेवा ? उ आफैलाई प्रश्न गर्छ। खै के ठिक हो बेठिक ? बुझ्नै गाह्रो भन्दै कफीको घुट्को तान्छ र फोनलाई पनि सोफामा मिल्काउदै हप्ता भरिको धुने लुगाको ब्याग बोकेर लण्ड्रीतिर लाग्छ।

सुनिल , ए सुनिल हन कता छौ हौ ? भन्दै उही मित्र केहि साथीहरुलिएर उसलाई खोज्दै उसकै डेरामै आइ पुग्छन, ए तिमि त लुगा धुन लागेको ? एक छिन बसौन तिमिसित केहि सल्लाह गर्नु छ भन्दै उसलाई कोठातिर लान्छ उ पनि एक छिन है लुगा मिसिनमा हाली हाल्छु , तिमीहरु कोठामा बस्दै गरन म आइ हाल्छु , कोठा खुल्लै छ, भित्रै बस्दै गर भन्दै लुगा धुने कोठा तिर लाग्छ ।

जब उ आफ्नो कोठामा आउछ सबै जना सोफामा बसेर गफ गरि रहेको हुन्छन । ए एतै बसन हामी आएर तिमीलाई डिस्टर्ब त भएन ? भन्दै त्यहि साथि अन्य साथिहरुको परिचय गराउन थाल्छ। “हेर साथी हो यस क्षेत्रको भोट जित्नु छ भने सुनिललाई हातमा लिनु पर्छ उसको यहा राम्रो पकड छ, सबै नया आउने नेपालीहरुलाई उसले सहयोग र साथ दिएको छ, उसको घरमा बास बस्न नआउने यस क्षेत्रका नया नेपालीहरु भेट्नै गाह्रो छ, उ सारै मिलनसार र बरिस्ट समाज सेवी हो यस क्षेत्रको , सबै जना हो हो भन्दै उसलाई साथ दिन्छन र आग्रह गर्छन , हेर सुनिल तिमीले धेरै समाज सेवा गरेउ अब यस स्थानको नेतृत्व गर्ने बेला आएको छ, तिमि जस्तो मान्छे पछि बसेर हुदैन , हाम्रो कम्युनिटी सेन्टर बनाउने सपना, मन्दिर, नेपाली क्लास संचालन गर्ने देखि थुप्रै योजनाहरु छन , अहिले सहि समय छ तिमि आउने , हेर त तिम्रो नाम र इज्जत हुनेछ सबैले तिमीलाई चिन्नेछ। “ उ एक प्रकार ले भाषण नै छाट्न थाल्छ तर सुनिल भने बिहानै देखिको बिग्रिएको मुड लाईइ सान्त गर्ने कोशिस गर्दै , “एक छिन ल साथीहरु म लुगा ड्रायरमा हालेर आउछु तिमीहरु कुरा गर्दै गरन भनेर बहिरिन्छ। मन मनै मुर्मुरिदै हिड्छ, वाइयात. काम न काज रोज्छ आफ्नो राज। सब स्वार्थी छन् सब आफुलाई जिताउन यसरि अर्कालाई मुर्गा बनाइ हिडछन्।”

उसलाई लण्ड्रि बाट फर्केर कोठामा त आउन मन त थिएन तर बिचारा गरोस पनि के र ? फेरि फर्की आउछ, अहिले भने उनीहरुको बिषय बदलिन्छ, र सोहनले प्रश्न गर्छ सुनिल दा भाउजु , नानीहरु कहिले आउने हो ? कोठा त राम्रो लिनु भएछ सुनेथे यहाको स्कुल डिस्ट्रिक पनि राम्रो छ रे। म पनि परिवार आउने टुंगो भए पछि एतै सर्नु पर्यो। रेन्ट कस्तो छ एता दाइ ? भन्छ , सुनिल बोल्ने मुडमा हुदैन ठिकै छ अब चाडै आउछन , हुन्छ नि एतै आउनुनि। फेरि एक प्रकार को सुन्यता छाउछ कोठामा। अचानक फेरि उही मित्रले ब्यागबाट केहि पेपर निकाल्दै भन्छ ल साथी नया मेम्बरशिप को फर्म ल्याएको छु र साथीले कमसेकम चालिस पचास जना जति एसो हामीलाई भोट दिने खालको मनले जित्ने साथीहरुलाई मेम्बर बनाउनु होला। भोट दिने खालको हुनु पर्छ नया साथीहरु छन् भने मेम्बरशिपको पैसाको चिन्ता गर्नु पर्दैन नाम र इमेल भए पुग्छ, हामि हेरौला एसो नया हरुलाई सेवा गर्ने मौका पनि हुन्छ, अखिर हामी पनि समाज सेवा गर्न त उठेका हौ होइन र साथीहरु ? सबैले एकै स्वरमा हो हो भनछन । फेरि उही साथीले नया प्रस्त्वाब राख्छ,

“ हेर सुनिल तिमि चिन्ता गर्नु पर्दैन हामीले तिम्रो लागि सोचेका छौ। यदि हाम्रो प्यानलले जितेछ भने तिमीलाई ससम्मान हाम्रो संस्थाको बरिस्ठ सल्लाहकारमा मनोनयन गर्ने छौ। बस तिमीले हामीलाई एति सहयोग गर्नु पर्यो। तिमिलाई सम्मान गर्ने जिम्मा हाम्रो भयो, भन्दै एक थान पेपरको फर्म थमाउछ र भन्छ ल साथी हामि तिम्रो अमुल्य समय धेरै लिन चाहदैनौ बस यो फर्म भरेर रेडी गर्नु होला हामि आउदो आइतबार संकलन गर्न आउछौ आज अरुपनि थुप्रै ठाउमा जानु छ , ल अहिले लाई बिदा पाउ भन्दै हात मिलाएर सबै बहिरिन्छन । उ केहि बोल्दैन एक टक हातमा भएको फार्म हेरि रहन्छ र टेबलको एक कुनामा राखेर सीलिंग तीर हेर्दै टोलाउन थाल्छ । टेबलमा छोडेको मेम्बर्शिपको फर्मतिर हेरेर मन मनै के के फतफताउन थाल्छ त्यस पछि गहिरो स्वास लिदै फ्रिजबाट एउटा बियरको बोतल खोलेर तान्न थाल्छ, कस्ता कस्ता मानिसहरु अमेरिका आएका छन् बरु नेपालमै बसेर राजनीति गर्नुनि।

अचानक फोनको घन्टी बज्छ , र मन नलागि नलागि फोनको स्पिकर अन गरेर हल्लो भन्छ, ए सुनिलजी होइन म म बोलेको क्या हजुरको अति हितैसी साथि , यहालाई भेटेर केहि सल्लाह गर्नु थियो के भेट्न सकिन्छ ? उ अचानक चर्को स्वरमा बोल्छ भन्नुहोस के कामको लागि भेट्ने ? फोनमै कुरा गर्दा हुदैन ? सायद भोको पेटमा बियरको नशा र बिहानको घटनाले उसको पारा चढ़ि सकेको हुनु पर्छ।

हैन हैन मित्र नरिसाउनोसन हामि हाम्रो प्यानलबाट यहालाई एउटा सम्मानित स्थान दिने निर्णय गर्न लागेको। यहाको त्यस क्षेत्रमा राम्रो पकड छ, सबैले चिन्छन , यहाको ठुलो इज्जत छ यदि यहा हाम्रो प्यानेलमा आउने हो भने हामि यहालाई सम्मानित स्थान दिनेछौ।

यो गैर राजनैतिक संस्थाको चुनाव पनि नेपालको राजनीति भन्दा कमछैन, जब कार्यसमिति चुन्नुपर्ने हुन्छ तब फलानो र चिलानो भन्दै विभिन्न राजनीतिक दलका आ-आफ्ना प्यानलहरूबीच अव्यावहारिक र अस्वस्थ प्रतिस्पर्धा सुरु हुन्छ । यस्तो लाग्छ तिनीहरू गैरराजनीतिक, सामाजिक संघसंस्था नभएर विभिन्न राजनीतिक दलका भ्रातृ संगठनहरू हुन् । उ मन मनै बर बराउन थाल्छ। त्यसमाथी भद्र सहमति भन्दै बार्गेनिंगको कोठे बैठक सुरु हुन्छ। यस्तै छ यहाको चलन।

“सरि म अहिले ड्राइभ गर्दैछु पछि कुरा गरौ है”, भन्दै फोन काटी दिन्छ र रिसले चुर हुदै पिजालाई फोन गर्छ. “केन आइ हेव वान लार्ज पिज्जा विथ मसरुम एंड चिकेन, येस नॉव प्लिज, होप यु ह्याभ माइ अड्रेस , ओके देन, भन्दै फोन राख्छ र अर्को बियरको बोतल खोल्छ। अचानक उसको नजर त्यहि टेबलमा छरपस्ट भएको फर्ममा पर्छ र के सोच्छ कुन्नि सबै उठाएर किचनको गार्बेज ब्यागमा फालिदिन्छ । सब आफ्नो लागि मात्र समाज सेवाको ढोंग गर्छन । अनि मलाई भन्छन “मेरो प्यानेलमा आउनोस यहालाई सम्मानित स्थान दिइनेछ।”

त्यतिनै बेला ढोकाको घन्टी बज्छ, सोच्छ सयाद पिज्जा डेलिभरी गर्न आयो होला। उ मन नलागी नलागी ढोका खोल्छ तर त्यहाँ एक जना चिनेको भाइ हुन्छ , नमस्ते दाइ आज घरमै हो ? हेर्नु न मेरो गाडी स्टार्ट भएन काममा जानु हतार भै सक्यो के गर्नु के गर्नु भएर दाईलाई एसो सहयोग मागु भनेर आएको। के चाहियो तिमीलाई भनन तिमीलाई ड्रप गर्न भने जान सक्दिन अहिले अलिकति ड्रिंक्स गरेको छु बरु मेरो गाडी लिएर जाउ भन्दै चाबी थमाई दिन्छ। अ भरे समयमै आउनु मेरो पनि सपिङ्ग गर्न जानु छ। हुन्छ दाई , थांक्स म चाडै आउछु, भनेर चाबी लिएर त्यो भाइ निस्किन्छ र ढोका बंद गरेर सोफामा ढल्किन्छ, ओह गड , कस्तो दिन परेछ आज। फेरि ढोकाको घन्टी बज्छ तर उसलाई ढोका खोल्ने मूड छैन उ नसुनेको जस्तो गरेर आखा चिम्म गर्छ। सायद पिजावाला होला फेरि फोनको घंटी बज्न थाल्छ. तर उ भने वास्तै नगरी आखा चिम्म गरेर सुति रहन्छ । ढोकाको बेल र टेलीफोन निक्कै बेर सम्म बजी रहन्छ। सायद उ निन्द्रामा बरबराउन थाल्छ , भो समाज सेवा भनेको एस्तै हो भने मलाई समाज सेवा गर्नु छैन मैले जे गरि रहेको छु त्यसैमा मलाई खुसी छ ।


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading