By

Published on

खै कसरि भनौ यसपाली अमेरिकामा दशैँ रमाइलै हुन्छ भनेर?

कृष्णहरि सर अमेरिकाको सन् फ्रान्सिको सहर आएको पनि अब त छ महिना बित्नैलागेछ । उ एक्लै अतितमा रुमालिदै कफीको चुस्की लिदै आफनै गाउ घरको सम्झनामा हराउछन । दिनभरी एक्लै कोठामा बसेर कफी पिउनु, ल्यापटपमा नेपालको समाचार पड्नु र सुन्नु बाहेक उनको कुनै दिन चर्यानै हुदैन। प्राय सधै जस्तो तीन बजेपछि नाति नातिनी स्कुलबाट आएपछि संगै माइक्रो वेबमा खाना तताएर खाने बानि बसी सकेको छ। आज पनि उनि एक्लै कफी पिउदै दशैको मुखमा नेपाल र त्यो गाउ छोडेर हिडेको दिनको कल्पनामा हराउछन।

त्यसदिन कृष्णहरि सरलाई बिहान नभई दिए हुन्थ्यो जस्तो लागि रहेको थियो। जेठ महिनाको दिन पहाडमा मौसम निक्कै राम्रो थियो , पारि पूर्वको पहाडबाट सुर्यले मुसुक्क मुस्काई सुन्दर दिनको सौगात दिदै थियो। तर उसको मन भने साउनको भेलले पखाले जस्तै अस्त व्यस्त थियो। उ हिड्ने अघिल्लो दिनमात्रै गाई दुहुन लाग्दा गाइले लात्ता हानेर श्रीमती थला परेकी थिइन्। आफु भोलि बिहानै हिड्नु पर्ने एता श्रीमती खुट्टा र कम्मरसम्म घाइते भएर थालिनु परेकोथियो । यो कस्तो परिबन्ध जाउ भने कसरि जाउ नजाउ भने छोरा बुहारीले धेरै कर गरेर बोलाएको नाई पनि कसरि भन्ने ? श्रीमतीलाई पनि त संगै लाने सोचेको थियो उसले तर खै के कागज मिलेनरे , उसको मात्रै भिसा लाग्यो अमेरिका जाने र गाह्रो मनलिएर एक्लै अमेरिका जाने निर्णय गरेका थिए उनले ।

त्यस दिन उनि बिहानै उठेर पुर्बतिर हेरेर टोल्याई रहे, केहि क्षणमै श्याम , उनका कान्छो छोरो, “ बुवा, बुवा अबेर भई सक्यो चाडो गर्नुहोस फेरि बस छुट्ला”, भन्दै कोठाबाट केहि दिन अघिमात्रै धरान बजारबाट किनेर ल्याएको नया सुटकेस घिसार्दै कराउछ। कृष्णहरि सर भने गरुङ्गो मन लिएर कोठाभित्र छिर्छन र धेरै बेर अलमल गरेर बाहिर निस्किन्छन ,उ कतै कुनै कारणले नजान परे पनि हुने जस्तो गरिरहेका हुन्छन। उसको छोरो भने दुई डाडा पारि सुटकेस नाम्लोले बाधेर ओरालो लागि सकेछ। उनिपनि एक घुट्को पानी पिएर बाहिरिन खोज्दा बिरामी श्रीमतीले सुस्तरी बोलाउछिन, “ए हजुर एकछिन बसेर जादा हुदैन, अब गए पछि कहिले हो कहिले आउने? , मेरो एस्तो हालत छ फेरि भेटिएला नभेटिएला, त्यति कुरा सुने पछि बुडा पनि आफ्नो श्रीमतीको छेउमै गएर बस्छन र लामो स्वास फेरेर धेरै बेर सम्म मौन रहन्छन , अचानक कान्छा छोरो स्यामेले मोबाइल फोनमा कराउछ “हन किन ढिलो गरेको नजाने कि क्याहो ? बरु मलाई जान मिलेको भए ….”

ल ल म आए भन्दै श्रीमतीको निधार सुम्सुमाएर बाहिरिन्छ , अचानक गहभरि आशु छचल्किन्छ , बारीको कान्लामा माली गाईले नराम्रो आवाज निकालेर कराउछे , काले कुकुरपनि आफ्नो मालिक हिडेको देखेर कुई कुई गर्दै कराउन थाल्छ। हिड्ने बेलामा रुन्चे स्वरमा उसको मुखबाट एति मात्रै निस्कन्छ, “आफ्नो ख्याल गर्नु, खाना खान नछोड्नु।”

त्यति भनेर श्रीमतीको जवाबको प्रतिक्षापनि नगरी कृष्णहरि सर हाते झोला बोकेर ओरालो लाग्छन। बाटो भरि सबैले हात हल्लाउदै उनको बिदा गर्छन, गाउका बुडापाकाहरु भन्दै गरेका हुन्छन, हेर यो कृष्णेको बुद्धि बुढेस कालमा बिरामी स्वास्नीलाई एक्लै छाडेर आफु भने अमेरिका लाग्यो। अर्का बुडा भन्छन, “ उसको भाग्यनै राम्रो छोरा छोरीलाई राम्रो सिक्षा दिएपछि यस्तो गाउको मान्छे पनि अमेरिका पुग्न पाउदो रहेछ”। गाउ भरि थुप्रै राम्रा नराम्रा प्रतिक्रिया चलि रहेको हुन्छ उ कसैको प्रतिक्रियाको जवाब नदिई आफ्नो बाटो हिडी रहन्छ। उ बसपार्क सम्म आइपुग्दा छोरोले अघिनै बिराटनगर सम्म जाने बसको छानोमा सुटकेस बाधी सकेको हुन्छ। गुरुजीली बसलाई पनि  अबेर भयो भन्दै गुड्नै लागेको हुन्छ।

“ल बुवा यो टिकेट, नहराउनुनी, झोला र सुटकेस अब सिधै बिराटनगर पुगेपछि मात्रै निकाल्नु मैले माईली दिदीलाई भेनाजुसितै बसपार्कमा लिन आउनु भनेर भर्खरै फोन गरिदिएको छु , एक रात आराम गरेर भोलि काठमाडौँ जानु भनेर बुवालाई ढोग्छ। “ ल मलाई अबेर भई सक्यो स्कुलतिर लाग्छु भनेर हिड्छ। “ आमाको खयाल राखेस म चाडै आउछु भनेर उनि गाडीको सिट माथि ब्याग राखेर आफ्नो सिटमा थचक्क बस्छन ।

केहि क्षणमै गाडी पहाडी बाटो हुदै ओरालो लाग्छ बाटो भरि गाडीमा मानिस चड्ने र उत्रिने क्रम चलिनै रहन्छ। मन लागि नलागी धेरैलाई हात जोडेर नमस्कार फर्काउन र अमेरिका जाने कारण बताउन व्यस्त हुन्छन।

हुन् पनि यस गाउमा कृष्ण सरलाई नचिन्ने बिरलै होलान । चार दसक अघि धरानबाट झिकाएका मास्टर हुन् उनि। त्यसबेला गाउ छाडेर जान्छन भनेर त्यहाका प्रधानपन्चले गाउकै एउटी सुसिल केटीसित बिहे गरि घरजम गराई दिएका थिए । त्यसपछि तिनीहरुले  त्यस गाउलाई छाडेर अन्त कतै बसाई सरेर गएनन्।

कृष्णहरि सर  अहिले रिटायर्ड भएका छन् र उसको स्थानमा कान्छो छोरोले स्कुल सम्हाल्न थालेका छ । जेठो छोरो काठमाडौँमा जागिरे छन्, माइलो छोरो बुहारी दुवै अमेरिका गएका र छोरीको बिहे बिराटनगरमा गरिसकेका छन्, अब मात्र कान्छो छोरोको बिहे गर्न बाकि छ। उनको परिवार गाउमै एउटा सिक्षित परिवारको र आदर्श परिवारको रुपमा चिनिन्छन। त्यसैले उनलाई आफ्नो गाउ मात्र नभई वारी पारिका धेरै गाउलेले चिन्छन ।

बल्ल दुई घन्टाको यात्रापछि भने उन्लने चिनेका मानिस गाडीमा उक्लने क्रम कम हुन्छ र उ पनि बोतलबाट पानी  पिएर टोपीले अनुहार छोपेर निदाउने प्रयास गर्छन। अचानक उसको निन्द्रा खुल्दा बस धरानको बसपार्क आई सकेको हुन्छ र केहि बेर त्यहाँ रोके पछि गाडी फेरि तराईको फाटतिर लम्कन्छ चारकोसे झाडिलाई पछि पार्दै।

कृष्ण सर यसरि पुर्बी पहाडको एउटा बिकट गाउबाट धरान , बिराटनगर , काठमान्डू हुदै अमेरिकाको अति ब्यस्त सहर सन् फ्रान्सिस्को आइ पुगेर पनि छ महिना बिताई सकेका हुन्छन। र अहिले त्यहि गाउँ घरको र बिरामी श्रीमतीको सम्झनामा त्यसै टोलाई रहेका छन्। अमेरिका आएपछि  उनको परिचय फेरिएर अङ्कल र हजुर बुवा भै सकेका हुन्छन। उनलाई यहाँ कोहिपनि  जीवनभर कृष्णहरि सर भनेर बोलाउने हुदैनन्। उनि एउटा नया नाम र परिचय बोकेर अमेरिका भित्रिएका छन्।

अहिले उनलाई ल्यापटपमा हरेक दिन नेपालको बारेमा समाचार हेर्नु र सुन्नु बाहेक अरु कुनै काम छैन । समय कसैलाई पर्खदैन र आफनै गतिमा व्यतित भई रहन्छ , हामीबरु समयको गति संग हिड्न सकेनौ भने पछि पर्छौ , यस्तै सोच र विचार बोकेका कृष्णहरि सर आफुलाई सधै अपडेट गरि रहन चाहन्छन। उ सोच्छ  कति चाडै उ नेपालबाट अमेरिका आएदेखि नेपालमा धेरै परिबर्तन भई सकेको छ। उ हिडेकै एक हप्तामा नेपालमा ठुलो भुकम्प आएर देशनै तहस नहस पारिदियो। त्यसपछि धेरैदिन सम्म घरमा सम्पर्क हुन् सकेन बिरामी श्रीमती एक्लै घरमा भएको बेला कतै घरनै ढलेर किचेन भन्ने चिन्ताले सताई रह्यो तर पाचदिन पछि बल्ल फोन सम्पर्क हुदा सबै सन्चै रहेको जानकारी श्यामले भनेको थियो र आमा पनि अलिक सन्चो भएर हिडडुल गर्न थालेको जानकारी गराएको थियो ।

त्यसपछि नेपालमा संबिधान जारि भयो। संबिधान प्रति असन्तुस्ट जनाउदै तराईमा आन्दोलन चर्कियोर र पुलिसको उच्च अधिकारि देखि सर्ब साधारण धेरैले ज्यान गुमाउनु पर्यो। भारतले अघोसित रुपमै सम्पूर्ण नाकाबन्दी गरेर पेट्रोल लगायत आधारभूत आवस्यकताका सामानहरु बन्द गरिदियो। अहिले दशैको मुखमा समेत देश अन्योल र अभाबमा परेको छ। सरकार परिबर्तन हुदा समेत देसले कतै निकास पाउन सकेन। भारत र नेपाल संगको मित्रतामा चिसोपन बढिरहेको छ। कहिले भारत त कहिले चीनबाट तेल आउछ भन्ने हल्ला मात्रै आउछ अन्लाईन समाचार र सोसियल मिडियाहरुमा। दिन प्रतिदिन यस्तै खबरहरु अनलाइनमा पढेर कृष्ण सर बिरक्त मान्दै अमेरिकामा बसी रहेका छन।

अचनाक छोराले फोन गरेर तयार हुन् आग्रह गर्छ , “ बुवा म आउदैछु- हजुर तयार हुदै गर्नु होला बाहिर जानु पर्छ।” त्यति भनेर छोराले फोन राख्छ र उ आफुलाई एसो हेर्छ, “ के तयार हुनु ? तयारै त छुनी गाउमा जस्तो धुलो मैलो छैन , लुगा राम्रै लगाएको छु , बिहानै नुहाई धुवाई गरि पुजा पाठ गरि सकेको छु।” कृष्ण सर टोल्याउदै ल्यापटपमा मालसिरी धुन बजाएर बाथरुम तिर लाग्छन। सायद दसैको सम्झनाले होला यो धुन हरेक दिन कृष्ण सर नवरात्रिकै दिनदेखि बजाई रहेका छन। हुनपनि दसैँ लागि सक्यो र आज सप्तमीपनि लागि सक्यो तर यहाँ परदेशमा के को दशैँ ? कतै दसैको रौनकता छैन, मात्र केहि नेपालीहरु फोन गरेर दशैको कार्यक्रमको बारेमा र सुभकामना आदान प्रदान गर्ने गर्छन। कोहि छुट्टीको दिन दशैँ मनाउने र टिका लाउन आउने भनेर फोन गर्छन। हिज मात्र छोरोले सुनाएको थियो यहाको स्थानीय संस्थाले “सिनियर सिटिजनहरु सबैको सम्मान गर्ने रे , हजुर पनि जानु पर्छ “. भनेको थियो।

केहि क्षणमै छोरा बुहारी दुवै कामबाट आइपुग्छन र हतार हतार प्लास्टिकको बाल्टी, गार्बेज ब्याग र केहि प्लास्टिकका डब्बाहरु तयार पार्न थाल्छन। कृष्ण सरपनि , “ ल कता जाने हो म तयार छु भन्छन”,

“ ए एकछिन है हामि केहि खाई हालौ”, भन्दै बुहारी फ्रिजमा नियाल्न थाल्छिन र त्यहाबाट केहि खानेकुरा निकालेर माइक्रोबेवमा गरम गरेर दुवैजना हतार हतार खान थाल्छन।

बुहारीले हतारिदै भन्छे , “ ल जाउ अब ढिलो हुन्छ। भने जस्तो न भेटिएला। कृष्ण सर अलमल्ल पर्छन र मन मनै सोच्छन , त्यस्तो के रहेछ ढिलो गए नभेटिने , यहा त आज सम्म कतै केहि लिन जादा पाइएन , सकिएछ , बन्द रहेछ भनेको उसले कहिले सुनेकै थिएँन।

उ पनि हतारिदै जुत्ता लगाएर गाडी तिर लम्कछन र सबैजना गाडीमा चढेर बाटो लाग्छन। बाटोमा  दुई जना छोराका साथीहरुपनि उनीहरुकै गाडीमा चड्दै , “ जाउ अब धेरै अबेर गरे बन्द होला र रित्तै फर्किन पर्ला”, भन्दै गाडीमा हुइकिञ्छन।

अब गाडी सन् फ्रंसिस्कोको बे ब्रिज हुदै अघि बढ्छ, उसलाई एति मात्र थाहा छ यहि बाटो भएर उ नेपालबाट तीन महिना अघि यहा आउदा छोराले , “ यो नया बे ब्रिज हो हेर्नुर्स त पर अर्को पुरानो भत्किएको पुल , हामिहरु त्यहि पुरानो पुलबाट यहा आएको थियौ अहिले नया बनाएर पुरानो भत्काउदैछ।”

तर गाडी एरपोर्टतिर नलागेर पश्चिमतिर लाग्दा उनि अब नया ठाउँतिर लागेको महसुस गर्छन। गाडी अब द्रुत गतिमा बाटोको देब्रेतिर पहाड र दाहिनेतिर आखाले नभ्याउने जति फैलिएको निलो प्रशान्त महासागरको किनारै किनार दौडिन्छ। ओहो कस्तो राम्रो ठाउँ , कति सुन्दर नेपालको जस्तै पहाड तर त्यसैको किनारमा यस्तो बिशाल महासागर, केहि क्षणमै गाडी पहाडलाई चिर्दै लामो सुरुङ्ग हुदै समतल मैदान र खेतबारी तिर लम्कन्छ तर दाहिने तिरभने त्यस्तै निलो सुन्दर समुन्द्रमा केहि मानिसहरु रमाइरहेका र खेली रहेका हुन्छन।

गाडी केहि क्षण कुदेपछि खेतबारीको किनारै किनार लाग्छ, त्यहाँ खुला मैदानमा चारैतिर पयेलै ठुल ठुला थुम्कोमा थुपारिएको केहि गोलो आकारहरु देखेर अचम्म मान्दै छोरालाई सोध्छन , “ ए माईला त्यो के हो त्यस्तो बारीभरी? हेर त कति धेरै फलेको ? “ए त्यो त पमकिन हो बुवा। यहाँ हामि दुई तिन हप्ता अघि आएको भए पम्किन फेस्टिबलमा यहाँ टेक्ने ठाउ हुदैन थियो”। यो “हाफमुन बे” हो र यहाँ हरेक बर्ष अक्टोबरमा ठुलो पम्पकिन अथवा फर्सीको मेला लाग्छ। छोरोको कुरा सुनेर उ छक्क पर्छ र मनमनै भन्छ फर्सीको मेला पनि हुदो रहेछ। उनि अचम्म मान्दै मनमनै सोच्छन  , एति धेरै र एउटा कारमा समेत अटाउन नसक्ने यो फर्सी कहाँ लगेर के गर्दा हुन्। तर यस बारे कसैलाई सोध्दैन्न , कतै छोराका साथीहरुले उसलाई पाखे रहेछ यो बुडो भन्ने सोचले  चुप लाग्छन।

गाडी द्रुत गतिमा दौडी रहेको हुन्छ र बाटोको दुवै किनारमा जता ततै फर्सीनै फर्सीको रास देखेर हैरान हुन्छन। सबै एउटै रंगको सुनौलो पहेलो र सबै गोला गोला फर्सीका थुप्राहरु र ठाउँ ठाउमा परालको बिटा र नेपालमा धानको बिजन छरेको बेला विभिन्न आकृतिको मुखुण्डो(scarecrow ) बनाएर राखेको आकृतिहरु । त्यहाँ थुपारिएको फर्सीको साइज हेर्ने हो भने १२ जना मर्दले हल्लाउनै नसक्ने । अब फर्सी बारीबाट गाडी अघि बढेर बन्दा कोपि, फुल्कोपी र खै के हो हरियै हरियो बालि हुदै अघि बढ्छ र फेरि पारितिर पहाडहरु देखिन थाल्छन झन्डै नेपालको भेडेटार, हिले जसतै मनोरम ठाउ तिर लाग्छ गाडी। तर अमेरिकामा बाटो भने कुन सहर कुन गाउ सबै एकै नासको चिल्लो सडक र कतै कसैले फोहोर मैला नफालेको सुन्दर स्थानहरु देखेर उनि मन मनै भन्छन हाम्रो नेपालको गाउमा पनि यस्तै बाटो र बिजुलीको सुबिधा पुर्याउने हो भने यहाँ भन्दा धेरै तरकारी खेतीहरु गरेर गाउको मुहारै फेर्न सकिन्थ्यो।

यस्तै के के सोच्दै गर्दा अचनाक गाडी एउटा साँगुरो गल्लीमा छिर्छ , जसलाई यहाँ प्राइभेट बाटो भनिन्छ र त्यसले कसैको निजि घर, खेति वा स्थानमा पुर्याउदछ। जति बिकट र लामो प्राइभेट बाटो त्यतिनै धनि बस्ने स्थान अरे, कस्तो अचम्म, हाम्रो नेपाल हुने भए हामि बिकट र दुर्गम स्थानका मानिस अमेरिकीहरुको लागि धनि हुने रहेछौ। तर किन हो उ बुझ्न सक्दैन्।

केहि क्षणमै गाडी एउटा खुल्ला फर्म हाउस अघि रोकिन्छ , चारै तिर हरियो घासे मैदान, र त्यहाँ केहि कुकुरले हजारौको संख्यामा रहेको गाई , बाख्रा, खसी , बंगुरलाई सुरक्षा गरेर चरनमा पहरा दिई रहेको हुन्छ। छोराको साथीले अचानक, “ बुवा उत्रिसियो यहि हो हामीले दशैको खसी लिने ठाउ।” उ बल्ल बुझछन ए यिनीहरु त दशैको खसी पो लिन आएका रहेछन।

नेपालमा हुदा आजकै दिन कस्तोसित गाउभरीका साथी भाईहरु भेला भएर मार हनिन्थ्यो। जे होस् छोरोले यहापनि खसी किनेर मार हान्ने परेछ तर मलाई त कहिले पनि भनें उस्ले।  सायद भन्न भुल्यो होला। उनीहरु गाडीबाट ओर्लेर सोझै खसीको खोरतिर लाग्छन जहाँ बिभिन्न मूल्य तोकेको बोर्ड छ , जसमा, २०० डलर देखि ४५० डलर सम्मको साईन टासेको देखेर उनि नेपाली रुपिया कति हुन्छ हिसाब गर्न थाल्छन।

केहि क्षणमै मन परेको खसीहरु छानेर काट्न लाउछन र “ जाउ एक घण्टा लाग्छ रे एसो कफी लिएर आऊ”, भन्दै गाडी तिर लाग्छन , “अनि खसी लाने होइन ?” कृष्ण सरले छोरोलाई सोध्छ , “हो लाने हो, एक घन्टामा काटेर तयार पारिदिन्छ अहिले यहाँ बसेर के गर्ने ?”

“ अनि मार हान्ने होइन ? अलिक हिच्किचाउदै सोद्छन “ , के को मार हान्नु ? हामी त्यो काटेको ठाउमा त जान पाउदैनौ , यहाँ काट मार गर्न पनि लाइसेन्स चाहिन्छ अनि मात्र काट्न पाईन्छ।

“ ए त्यसो भए घर मै भनेको भए एसो अलिकति बेसार बोकेर ल्याउथे नि। “ ए बा यहाँ त्यस्तो  हुदैन हिड्नुस अहिले फेरि ढिलो हुन्छ , केटा केटीहरु घरमा आई सके होलान।” कृष्ण सर केहि बोल्दैनन , मन मनै सोच्छन ठिकै छ जे भएपनि नेपाली चाड मनाउनत पाइएको छ। बरु श्रीमती पनि संगै भएको भए उसले निक्कै मिठो भुटन बनाउथि, बुहारीलाई आउछ कि आउदैन आए पनि भ्याउछिन कि नाई।

कृष्ण सर फेरि नेपालमै पुग्छन र दशैको चटारो र कमेरो माटोले सिंगारिएको त्यो सुन्दर गाउमा आफु बिहानै देखि पानी  तताएर खसी काट्ने तरखरमा लागेका , गाउघरका केटाहरुपनि सबै हो होल्ला गर्दै सर खसी काट्ने बेला भएन ? अरु थुप्रै घरमा मार हनन जानु छ भन्दै कृष्ण सरलाई हतार लगाएको सम्झनछन । खसी काटेको बेलुकी गाउघरका बुडापाका , केटाहरु भेला भएर खै गुरुआमाले रक्ति पकाई सक्नु भएन ? हामि त आयौ है भन्दै सबै आगनभरि घेरा लाएर कोहि मालसिरी धुन त कोहि आपसमा गफिन थालेको सम्झन थाल्छन ।

“ बुवा कफी लिनिने कि चिया ?” छोराले उसलाई झस्काई दिन्छ र यथार्थमा आउछन ए म त अहिले अमेरिकामा पो छु त। केहि क्षणमै उनीहरु फेरि फार्म हाउस पुग्छन र आफ्नो आफ्नो नम्बर अनुसारको खसीको मासु , रक्ति , कलेजो, आन्द्रा, भुडी बोकेर हिड्छन। छोरा भन्दै गरेको हुन्छ , “ बुवा थाहा छ बल्ल चार पाच बर्ष भयो यो रक्ति कलेजो आन्द्रा भुडी, टाउको, खुट्टा सबै लान दिन थालेको , अहिले त नेपाली स्टाइल कट भन्दै बुझ्ने भै सके यिनीहरु  , पहिले पहिले कत्ति बिन्ति गर्दा पनि दिदैन् थिए, “इट इज इल्लिगल” भन्थ्ये , तर हामि नेपालीलाई यो सब नभई कहाँ दसैँ आउथ्यो र मासु त आलु प्याज जत्तिकै बर्षे भरि खाईन्छनि यसैको लागि त दसैँ। यसपाली त दशैमा बुवाको हातको टिका लाएर टन्नसित रमाइलो गर्ने हो ।

कृष्ण सर केहि बोल्दैनन छोरा बुहारी र उसका साथीहरु बाटो भरि नेपालमा हुदा मनाएको दशैको गफ हाकी रहेका हुन्छन । सायद यस परदेशमा नेपालमा मनाएको त्यो रमाइलो दसैँ तिहारको सम्झाना आउदो हो यिनीहरुलाई।

उ भने गाउ घर, श्रीमती र कान्छो छोरालाई सम्झी रहेका हुन्छन , खै कसरि मनाउदै होलान यसपाली दशैँ , नेपाल सबै बन्द छ।  इन्धन नभएर गाडी सदर मुकाम सम्म नआएको पनि पन्द्र दिन भै सक्यो भन्थे  कान्छो छोरोपनि यसपाली दसैको केहि बन्दो बस्त गरिएन भन्थ्यो । आफु नभएको सायद घरै सुन्य र नरमाइलो लाग्दो होला आमा छोरोलाई। हिज मात्रै श्रीमती सित फोनमा कुरा गरेको सम्झी रहनछन श्रीमतीले फोनमा रुदै भनेकी थिइन् ,” हजुर पनि उतै हामी दुई आमा छोरा मात्रै छौ। केहि गर्ने मन लागेन , त्यहि माथि म बिरामी छु । एक्लो छोरोपनि आफ्नै काम , घर खेतमै व्यस्त हुन्छ”।

अचनाक उसको मुखबाट निस्कन्छ “ खै के रमाइलो होला र यो अमेरिकाको दसैँ”, छोरा र उसका साथीहरु अचनाक चुप लाग्छन र छोराले प्रश्न गर्छ, “ के भयो बुवा ? सन्चो भएन र ? के भयो भन्नु न”, बुवा केहि बेर मौन रहन्छन र फेरि भन्छन , खै कसरि भनौ नेपालमा त्यस्तो संकट, विपद, र दुख परेको बेला , यसपाली यो अमेरिकामा दशैँ रमाइलै हुन्छ भनेर ?

 


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading