By

Published on

पानीविना एक शताब्दी बाचेकी महिलाको रहस्य: स्वास्थ्य र दीर्घायुको नयाँ दृष्टिकोण

 

एक शताब्दीको रहस्य: पानीविना बाँच्ने कथा

 

मेरो जीवनमा एउटा यस्तो महिला संग भेट्ने अवसर पाए जसको बारेमा जति जान्ने कोसिश गर्छु, त्यति नै आश्चर्य चकित हुने गर्छु। हुनत, उनीसँग भेट भएको एक वर्ष हुन् लाग्यो। एक वर्ष अघि मात्र, जब मैले एक स्वास्थ्य सेवा संस्थामा काम गर्ने अवसर पाएँ, त्यहीँ मैले उनलाई पहिलो पल्ट भेटेको हुँ। मेरो दैनिक कार्यको सिलसिलामा एक असाधारण महिलासँग परिचय भयो जसको उमेर सुनेरै म चकित भएँ। उनको जीवन शैली र बोल्ने क्षमताले मलाई धेरै पटक झस्काई दिएको छ भने, उनको दीर्घायुको रहस्य र जीवनशैलीले मेरो सबै बुझाइलाई हल्लाइदियो। हो, उनी १०६ वर्षकी छिन्, जीवन्त र हाँसिलो। उनको दीर्घायुको रहस्य के हो त? म सधैं उनलाई देख्दा सोच्ने गर्छु। एक दिन मैले उनलाई सोधेँ, उनको उत्तरले मलाई चकित पार्यो – उनले भनिन्, “मैले आजसम्म प्राकृतिक रूपमा प्रदान गरेको शुद्ध पानी पिएको थाहा छैन। म पानी पिउँदिन र बासी र प्रशोधित खाना खादिन।”

अनौठो जलकथा

पहिलो पटक उनलाई भेट्दा र आजसम्म पनि मैले उनलाई रस, दूध, कफी, चिया जस्ता स्वादिलो पेय पदार्थ मात्र पिउँदै गरेको देखेको छु। यहाँसम्म कि नर्सले उनलाई औषधि दिँदा समेत पानीको सट्टा दूध वा रस दिने गर्छिन्, किनकी उनी कहिल्यै बिना स्वादको शुद्ध पानी पिउँदिनन्। एक दिन उत्सुकताले भरिएर, मैले उनलाई सोधेँ, “तपाईं पानी किन पिउनुहुन्न?” उनी मुस्कुराउँदै उत्तर दिन्छिन्, “म पानीको स्वाद मन पराउँदिन। त्यसमा कुनै स्वाद छैन। म बाल्यकालदेखि रस, कफी, दूध—पानी बाहेक सबै कुरा पिउँदै आएको छु।” उनको यो खुलासा सुनेर म चकित भएँ र अझ उनको बारेमा जान्ने चासो बढ्यो।

स्वास्थ्यको विज्ञान र रहस्य

स्वास्थ्य विज्ञानले हामीलाई सधैं शुद्ध पानी पिउन सल्लाह दिन्छ। पानीले शरीरलाई हाइड्रेट राख्छ, विषाक्त पदार्थहरू निकाल्छ, र शरीरको हरेक प्रणालीलाई सुचारु रूपमा चलाउन सहयोग गर्छ। तर यो शताब्दी महिलाले कसरी बिना पानी दीर्घायु प्राप्त गरिन्? उनको जवाफ सरल थियो – उनले शुद्ध पानीको सट्टा फलफूलको रस, दूध, कफी, र चिया जस्ता पेय पदार्थहरू पिउँछिन्। यी सबै पेय पदार्थमा पानी हुन्छ र सायद त्यसले उनको जल आवश्यकताहरू पूरा गर्न मद्दत गर्छ होला।

ताजगीपूर्ण फलफूलको शक्ति

उनको दीर्घायुको अर्को रहस्य भनेको ताजगीपूर्ण फलफूल र हरियो सलाद, साग पात र ताजा मौसम अनुसारको तरकारीहरूको माया हो। उनलाई विशेष गरी खरबुजा, नीलकण्ठ (ब्लुबेरी), एवोकाडो, सुन्तला, टमाटर, सेलेरी र तरबुजा मन पर्छ। यी फलफूलहरू मात्र हाइड्रेटिङ्ग होइन, महत्त्वपूर्ण भिटामिन, खनिज, र एन्टिअक्सिडन्टले भरिपूर्ण छन्। उदाहरणका लागि, तरबुजामा ९०% भन्दा बढी पानी हुन्छ, जसले यसलाई स्वादिलो र हाइड्रेटिङ्ग बनाउँछ। तर उनले भनिन्, “यो सबै मलाई मन पर्छ र खान्छु, जे मलाई मन पर्दैन त्यो छुदै छुँदिन, खानु त परकै कुरा हो।” एक दिन मेरो अर्को प्रश्नको जवाफमा उनले भनेकी थिइन्, “मलाई थाहा छैन कुन फलफूलमा कत्ति केलोरी वा पौष्टिकता हुन्छ, म सधैं मौसम अनुसारको फलफूल खान्छु तर मलाई मन पर्ने मात्र। जुन खाँदा मेरो शरीर र मलाई सहज महसुस हुन्छ, त्यही खान्छु वा पिउँछु। मलाई वाइन पनि मन पर्छ तर अहिले छोडीसके, अल्कोल फ्री वाइन भने कहिलेकाहीँ अझैपनि पिउँछु।”

अनुवांशिकता र अनुकूलन

मैले उनीसँग एक दिन सोधेँ, “तपाईंको आमाले पनि पानी पिउनुहुन्नथ्यो?” उनी हाँस्दै भनिन्, “हो, मेरी आमा पनि पानी पिउँदिनथिन्। उहाँ ९० वर्षसम्म बाँच्नुभयो।” यसले संकेत दिन्छ कि सायद उनीहरूको अनुवांशिक (जेनेटिक) प्रवृत्तिहरूले उनीहरूको असाधारण जल परिपूर्णता क्षमतालाई साथ दिएको छ। स्वास्थ्य विज्ञानका अनुसार, शरीरको अनुकूलन क्षमता अत्यन्तै शक्तिशाली हुन्छ। ती महिलाको शरीरले पनि यस अनौठो तरिकाले जल व्यवस्थापन गर्न अनुकूल परेको हुनुपर्छ, म आफुलाई बुझाउने प्रयास गर्छु।

शुद्ध आहार र नियमित शारीरिक गतिविधि

यो महिलाको जीवनशैलीको अर्को महत्त्वपूर्ण पाटो भनेको उनको खानपानको स्वच्छता हो। उनले कहिल्यै कुनै प्रशोधित खाना खाँदिनन् र बाँकी बचेको खाना वा पेय पदार्थ पनि पिउँदिनन्। उनले सधैं ताजा खाना मात्र खाने र पेय पदार्थ पिउँछिन्। सायद यो उनको शारीरिक र मानसिक स्वास्थ्यको लागि एक प्रमुख कारण हो। मलाई थाहा छैन स्वास्थ्य विज्ञानले यसलाई कसरी हेर्छ।

मैले उनको दैनिकीको बारेमा एक दिन सोधेको थिएँ, उनले भनिन्, “म ९० वर्षको हुँदा सम्म हरेक दिन बिहान र बेलुकी हिड्न जान्थेँ, तर अहिले त्यसरी हिड्न सक्दिनँ तर आफ्नो वारीमा सकेसम्म दिनमा दुई पटक हिड्ने गर्छु।” उनले मलाई भनेकी थिइन्, “म हरेक दिन कम्तीमा एक घण्टा हिड्छु होला आज पनि। यसले मेरो शरीरलाई फिट राख्छ र म ताजगी महसुस गर्छु। तर अचेल अलिक धेरै थाक्ने गरेको छ, सायद उमेर धेरै भएर होला।”

जीवनशैलीका आदतहरू

उनको जीवनशैलीको अर्को अनौठो पाटो भनेको उनको सकारात्मक सोच र हाँसोको महत्त्व हो। उनी भन्छिन्, “म सधैं हाँस्न रुचाउँछु। हाँसोले मलाई खुशी र स्वस्थ राख्छ।” उनी नियमित रूपमा ध्यान र योग अभ्यास गर्छिन्, जसले उनको मानसिक शान्ति र शारीरिक लचकता कायम राख्न मद्दत गर्छ।

साथीभाइ र समाज

उनी आफ्ना साथीभाइ र समाजसँग घनिष्ट सम्बन्ध राख्छिन्। उनी नियमित रूपमा सामुदायिक गतिविधिहरूमा सहभागी हुन्छिन्, जसले उनलाई सामाजिक रूपमा सक्रिय र मानसिक रूपमा ताजा राख्छ। उनी भन्छिन्, “साथीभाइ र समाजसँग जोडिएर रहनु जीवनको सजीवता हो। यसले मलाई जवान र ऊर्जावान महसुस गराउँछ।” तर, मेरो साथीभाइ भनेको मेरो नातीपनातिको उमेरका छन्। मेरा दुवै छोरा मरे, श्रीमान् मरेको पचास वर्ष भइसक्यो, एउटी छोरी छे, थुप्रै नाती-नातिनी र पनाती-पनातिनीहरू छन्। उनीहरू संग बेला-बेला मा अहिले चलन चल्तीको कुराहरू गर्छु र आफुलाई भर्खरको महसुस गर्छु।”

दीर्घायुका लागि विभिन्न मार्गहरू

मैले नेपाल र भारतमा सुनेको छु कि धेरै योगीहरूले आफ्नो जीवनभर अन्न नखाई, केवल पानी र फलफूलको भरमा बाँचिरहेका छन्। तर १०० वर्ष भन्दा बढी उमेरको एक व्यक्तिलाई कहिल्यै शुद्ध पानी नपिएर जीवित देख्नु मेरा लागि पहिलो पटक थियो। यो अनौठो तर सत्य घटनाले हामीलाई मानव शरीरको अद्वितीय क्षमता र अनुकूलन क्षमतालाई नयाँ दृष्टिकोण दिन्छ।

अन्त्यमा

यो महिलासँगको भेटले मलाई स्वास्थ्य र दीर्घायुको बारेमा नयाँ दृष्टिकोण दिएको छ। उनको कथाले सन्देश दिन्छ कि स्वस्थ जीवनको लागि विभिन्न मार्गहरू हुन सक्छन्। जलको स्रोत जस्तै, स्वास्थ्य र दीर्घायुका लागि मार्गहरू पनि विविध हुन सक्छन्। यो घटना स्वास्थ्य विज्ञानमा नयाँ अध्ययन र अनुसन्धानका लागि प्रेरणादायक हुन सक्छ, जसले हामीलाई मानव शरीरको जटिलता र यसको सहनशीलता बारे अझ बढी बुझ्न सहयोग गर्छ।

यो कथा स्वास्थ्य विज्ञानको क्षेत्रमा एक महत्वपूर्ण योगदान हो, जसले हाम्रा परम्परागत ज्ञानलाई चुनौती दिँदै मानव स्वास्थ्यको विविधता र व्यक्तिगत फरकपनको कदर गर्न मद्दत गर्दछ। यसले हामीलाई सन्देश दिन्छ कि स्वास्थ्यको लागि एकभन्दा बढी मार्गहरू हुन सक्छन्, र मानव शरीरको अध्ययनमा अझ धेरै अन्वगर्नुपर्ने छ।

यो कथा जस्तै थुप्रै अन्य घटनाहरूको बारेमा आउने दिनमा लेख्दै जानेछु। मेरो ब्लग हेर्दै गर्नु होला – ध्रुव


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading