किन वंशजको नागरिकताको निरन्तरता आज नेपालकै आवश्यकता हो?

हामीमध्ये धेरैलाई नेपाल छोडेको वर्षौँ भइसक्यो। समयसँगै हाम्रो बस्ने ठाउँ फेरियो। दैनिकी फेरियो। काम, जिम्मेवारी र जीवनशैली फेरिए। हामीमध्ये कतिपयको हातमा बोकेको पासपोर्टसमेत फेरियो। तर एउटा कुरा फेरिएन। संसारको जुनसुकै कुनामा कसैले सोध्यो,

“तपाईं कहाँको?” भने हाम्रो मनभित्रबाट आज पनि निस्कने पहिलो उत्तर हुन्छ,

“नेपालको।”

हामी अमेरिका पुगेका हौँला। अष्ट्रेलिया, बेलायत, क्यानडा, जापान वा युरोप पुगेका हौँला।
कसैले खाडीको कठोर गर्मीमा पसिना बगायौँ। कसैले विश्वविद्यालय, अस्पताल, प्रयोगशाला, होटल, रेस्टुरेन्ट, प्रविधि कम्पनी वा आफ्नै व्यवसायमा जीवनका दशक बितायौँला। हामीले त्यहाँ घर बनायौँ। काम गर्‍यौँ। कर तिर्‍यौँ। व्यवसाय खोल्यौँ। छोराछोरी हुर्कायौँ। हामी बसेको देशप्रति आफ्नो कर्तव्य पनि पूरा गर्‍यौँ। तर यति हुँदाहुँदै पनि हामीभित्र एउटा देश कहिल्यै बसाइँ सरेन।नेपाल।

दशैँ आउँदा हाम्रो मन नेपाल पुग्छ। तिहारको दियो देख्दा बाल्यकालको आँगन सम्झिन्छौँ। तीज, ल्होसार, छठ, उधौली-उभौली वा कुनै जात्रा आउँदा हामी हजारौँ किलोमिटर टाढाबाट पनि आफ्ना संस्कृतिसँग जोडिन्छौँ। नेपालमा भूकम्प आउँदा हाम्रो मन दुख्छ। बाढीपहिरो आउँदा सहयोग गर्न हात अघि बढ्छ। कुनै नेपालीले संसारको ठूलो मञ्चमा सफलता प्राप्त गर्दा हामी आफ्नै उपलब्धिजस्तो गर्व गर्छौँ। र कहिलेकाहीँ कुनै पुरानो नेपाली गीत बज्दा, कुनै गाउँको तस्वीर देख्दा वा हिमालको एउटा दृश्य आँखाअगाडि आउँदा थाहा हुन्छ,

हामी नेपालबाट टाढा पुगेका छौँ, तर नेपाल हामीबाट टाढा गएको छैन। यही अनुभूतिबाट आज हामी एउटा प्रश्न सोध्न चाहन्छौँ:

संसारभर छरिएका आफ्नै मानिसलाई नेपालले क्रमशः विदेशी बनाउँदै जाने कि उनीहरूलाई मातृभूमिसँग अझ बलियो गरी जोड्ने?

यो केवल गैरआवासीय नेपालीको प्रश्न होइन। यो आजको नेपालले भोलिको नेपाललाई सोध्नुपर्ने प्रश्न हो।


नेपाल रित्तिँदै छ

“नेपाल रित्तिँदै छ” भन्दा यो केवल भावुक वाक्य होइन। आज नेपालका धेरै गाउँमा पुग्दा बन्द घर देखिन्छन्। कुनै समय बालबालिकाले भरिएका विद्यालयमा विद्यार्थी घटेका छन्। खेती गर्ने हात कम हुँदै छन्। विश्वविद्यालय पढ्दै गरेका युवाको कुराकानीमा भविष्यको पहिलो गन्तव्य आफ्नै देशभन्दा विदेश बन्न थालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा उभिएर केही समय मानिसहरूलाई मात्र हेर्ने हो भने आजको नेपालको एउटा गहिरो कथा देखिन्छ। झोलाभन्दा ठूला सपना बोकेका युवाहरू। आँसु लुकाइरहेका आमाबुबा। सानो बच्चालाई छोडेर कामका लागि हिँडेको बाबु। बुढेसकालमा फर्किन्छु भन्दै जीवनको सबैभन्दा ऊर्जाशील उमेर विदेश लिएर गइरहेको एउटा पुस्ता। राष्ट्रिय जनगणना २०७८/2021 सम्बन्धी राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनअनुसार जनगणनाको समयमा विदेशमा अनुपस्थित नेपाली जनसंख्या करिब २२ लाख थियो, जुन कुल जनसंख्याको करिब ७.५ प्रतिशत हो। यो संख्या आफैँमा ठूलो छ। तर तथ्याङ्कले एउटा कुरा गन्न सक्दैन:

त्योसँगै देशबाट कति सपना, सीप, ऊर्जा र सम्भावना बाहिरियो?

हामीले विदेश जाने सबैलाई आजै रोक्न सक्दैनौँ। सायद रोक्नु पनि समाधान होइन। मानिसले जहाँ अवसर पाउँछ, त्यहाँ जान्छ। शिक्षा खोज्छ। काम खोज्छ। आफ्नो परिवारका लागि राम्रो भविष्य खोज्छ। यो मानवीय स्वभाव हो। तर एउटा राष्ट्रका रूपमा हामीले गर्न सक्ने एउटा महत्वपूर्ण काम छ:

जानेहरूलाई रोक्न नसके पनि फर्किने ढोका बन्द नगरौँ।


हामी विदेश किन गयौँ?

हामीमध्ये सबै एउटै कारणले नेपाल छोडेका होइनौँ। कसैले उच्च शिक्षा खोज्यौँ। कसैले रोजगारी। कसैले व्यवसाय। कसैले परिवारको भविष्य। कसैले परिस्थितिले धकेल्यो। कसैलाई अवसरले बोलायो। तर विदेश पुगेपछि हामीले केवल पैसा कमाएका छैनौँ। हामीले संसार देखेका छौँ। नयाँ प्रणाली देखेका छौँ। काम गर्ने संस्कार सिकेका छौँ। प्रविधि सिकेका छौँ। व्यवस्थापन सिकेका छौँ। अनुसन्धान सिकेका छौँ। पारदर्शिता र जवाफदेहिताका राम्रा अभ्यास देखेका छौँ। स्वास्थ्य सेवा कसरी चल्छ देखेका छौँ। वृद्ध नागरिकलाई कसरी सम्मानपूर्वक हेरचाह गरिन्छ देखेका छौँ। उद्योग कसरी निर्माण हुन्छ देखेका छौँ। सानो विचार कसरी startup बन्छ देखेका छौँ। स्थानीय उत्पादन कसरी विश्व बजारमा पुग्छ देखेका छौँ। हामीसँग आज केवल कमाएको पुँजी छैन। अनुभवको पुँजी पनि छ। तर नेपालको नीति अझै हामीलाई मुख्यतः एउटा कुराबाट चिन्छ: रेमिट्यान्स।


हामी केवल रेमिट्यान्स पठाउने हात होइनौँ

नेपाल राष्ट्र बैंकका तथ्याङ्कले प्रत्येक वर्ष देशमा ठूलो मात्रामा रेमिट्यान्स भित्रिएको देखाउँछन्। आर्थिक वर्ष 2023/24 मा मात्र नेपालमा करिब रु. 1,445 अर्ब रेमिट्यान्स आएको थियो। विश्व बैंकका अनुसार 2024 मा personal remittances नेपालको GDP को करिब 26 प्रतिशत बराबर थियो। यस योगदानलाई कसैले सानो भन्न सक्दैन। हाम्रो पसिनाले लाखौँ परिवार चलेका छन्। छोराछोरी पढेका छन्। घर बनेका छन्। उपचार भएका छन्। गाउँमा पैसा पुगेको छ। देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ। तर एउटा दिन हामीले आफैँलाई प्रश्न गर्नैपर्छ:

के हाम्रो सम्बन्ध नेपालसँग पैसा पठाउने बैंक खातासम्म मात्र सीमित रहने हो?

हामी नेपाललाई रेमिट्यान्सभन्दा धेरै दिन सक्छौँ। हामीसँग ज्ञान छ। हामीसँग विश्वव्यापी नेटवर्क छ। हामीसँग प्रविधि छ। हामीसँग उद्यमशीलता छ। हामीसँग विभिन्न देशमा बनेका व्यावसायिक सम्बन्ध छन्। हामीसँग नेपालका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने क्षमता छ। हामीसँग नयाँ पुस्ता छ। र अझै पनि हामीमध्ये धेरैको मनमा एउटा चाहना जीवित छ: एक दिन नेपालका लागि केही गर्ने।


तर नेपाल फर्किने सोच्दा हाम्रो मनमा एउटा डर आउँछ

हामीमध्ये धेरैले जीवनको ठूलो हिस्सा विदेशमा बिताइसकेका छौँ। कतिपयले त्यहाँको नागरिकता लिएका छौँ। यो निर्णय नेपाल त्यागेर गरिएको नहुन सक्छ।

कहिलेकाहीँ कामका लागि आवश्यक थियो। कहिलेकाहीँ परिवारका लागि। कहिलेकाहीँ बच्चाको भविष्यका लागि। कहिलेकाहीँ सामाजिक सुरक्षा, स्वास्थ्य सेवा वा व्यावसायिक अवसरका लागि। तर अर्को देशको नागरिकता लिँदै गर्दा कसैले आफ्नो बाल्यकाल त्याग्दैन। आफ्नो गाउँ त्याग्दैन। आफ्नो भाषा त्याग्दैन। आफ्नो पुर्खा बदल्दैन। त्यसैले वर्षौँपछि जब हामी सोच्न थाल्छौँ, “अब नेपालमा केही गरौँ,” त्यहीँ एउटा प्रश्न अगाडि आउँछ:

नेपालका लागि अब हामी को हौँ?
विदेशी?
पर्यटक?
NRN?
वा यही माटोमा जन्मिएका, यही देशको वंशज नागरिकता बोकेर संसारतिर निस्किएका नेपाली? यही प्रश्नले नागरिकताको बहसलाई भावनाभन्दा धेरै अगाडि लैजान्छ। यो कानुनी विश्वासको प्रश्न हो।


वर्तमान कानूनले के भन्छ?

यो विषयमा हाम्रो भावनाभन्दा तथ्य महत्वपूर्ण छ। नेपालको संविधानको धारा १४ ले निश्चित सर्त पूरा गर्ने, SAARC बाहेकका देशको नागरिकता लिएका नेपाली मूलका व्यक्तिलाई संघीय कानूनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गैरआवासीय नेपाली नागरिकता दिन सकिने व्यवस्था गरेको छ।

यो एउटा महत्वपूर्ण उपलब्धि हो। यसले नेपालले diaspora सँग सम्बन्ध राख्न चाहेको संकेत गर्छ। तर यो पनि स्पष्ट हुनुपर्छ:

गैरआवासीय नेपाली नागरिकता र वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता एउटै कुरा होइन।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० अनुसार नेपाली नागरिकले स्वेच्छाले विदेशी नागरिकता प्राप्त गरेमा उसको नेपाली नागरिकता कायम रहँदैन। त्यसैले अहिलेको संविधान र कानूनमा सामान्य अर्थमा पूर्ण dual citizenship को व्यवस्था छैन। यही कारणले “वंशजको नागरिकताको निरन्तरता” को माग महत्वपूर्ण छ।


निरन्तरता भनेको अर्को नागरिकता दिनु मात्र होइन

“निरन्तरता” शब्द आफैँमा सरल छ। यसको अर्थ हो, नटुट्नु। जुन सम्बन्ध छ, त्यो कायम रहनु। यदि वंशजका आधारमा प्राप्त नागरिकता पहिले समाप्त हुन्छ र त्यसपछि अर्को श्रेणीको नागरिकता प्रदान गरिन्छ भने त्यो अधिकार र सुविधा दिने व्यवस्था अवश्य हो। तर त्यसलाई पहिलेको नागरिकताको वास्तविक निरन्तरता भन्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। हाम्रो मागको केन्द्र यही हो।

वंशजका आधारमा स्थापित भएको नेपालीसँग राज्यको मूल नागरिक सम्बन्ध, अर्को देशको नागरिकता लिएको कारणले पूर्ण रूपमा अन्त्य हुनैपर्छ कि संविधानले निर्धारण गर्ने उचित सर्तसहित कायम राख्न सकिन्छ? नेपालले अब यो प्रश्नबाट भाग्नु हुँदैन।


नागरिकता हाम्रो लागि कागज मात्र होइन

विदेशमा धेरै वर्ष बितेपछि नागरिकताको भावनात्मक अर्थ अझ स्पष्ट हुँदो रहेछ। नेपालमा रहँदा नागरिकता प्रमाणपत्र एउटा सरकारी कागजजस्तो लाग्न सक्छ। तर विदेशमा बसेर हेर्दा त्यही कागजमा हाम्रो इतिहास देखिन्छ। हाम्रो जन्मस्थान। हाम्रो बाबुआमाको नाम। हाम्रो पुर्खासँगको सम्बन्ध। र एउटा राज्यले हामीलाई दिएको परिचय: “तिमी नेपाली हौ।”

त्यसैले नागरिकताको निरन्तरताको आवाजलाई केवल सुविधा खोज्ने मागका रूपमा हेरिनु हुँदैन। यो हाम्रो कानुनी सम्बन्ध र belonging को प्रश्न पनि हो। हामी बसेको देशप्रति पूर्ण जिम्मेवार हुन सक्छौँ। त्यहाँको कानून मान्न सक्छौँ। त्यहाँ कर तिर्न सक्छौँ। त्यहाँको समाजमा योगदान दिन सक्छौँ। र त्यससँगै नेपाललाई आफ्नो मातृभूमि मानिरहन सक्छौँ। यी दुई सम्बन्ध एकअर्कालाई नष्ट गर्नैपर्ने सम्बन्ध होइनन्।


हामी फर्कन चाहन्छौँ भने केवल स्थायी रूपमा बस्न होइन

“फर्किने” भन्ने शब्दको अर्थ पनि अब परिवर्तन भएको छ। आजको संसारमा सबै नेपालीले विदेशको घर बेचेर सधैँका लागि नेपाल आउनुपर्छ भन्ने होइन। कसैले वर्षको तीन महिना नेपालमा बस्न चाहन्छ। कसैले व्यवसाय खोल्न चाहन्छ। कसैले startup मा लगानी गर्न चाहन्छ। कसैले विश्वविद्यालयमा पढाउन चाहन्छ। कसैले गाउँमा स्वास्थ्य केन्द्र खोल्न चाहन्छ। कसैले वृद्ध सेवा संस्था निर्माण गर्न चाहन्छ। कसैले आधुनिक कृषि सुरु गर्न चाहन्छ। कसैले केवल आफ्ना छोराछोरीलाई नेपालसँग जोडिराख्न चाहन्छ। यही आधुनिक संसारको brain circulation हो। हामी शरीरले सधैँ नेपाल नफर्किए पनि, हाम्रो ज्ञान फर्कन सक्छ। हाम्रो पुँजी फर्कन सक्छ। हाम्रो अनुभव फर्कन सक्छ। हाम्रो network फर्कन सक्छ। हाम्रो अर्को पुस्ता नेपालसँग जोडिन सक्छ। तर त्यसका लागि एउटा आधार आवश्यक छ: विश्वास।


हामीलाई विशेष सुविधा होइन, स्पष्ट सम्बन्ध चाहिएको हो

कहिलेकाहीँ नागरिकताको निरन्तरताको मागलाई यस्तो प्रस्तुत गरिन्छ मानौँ विदेशमा रहेका नेपालीले नेपालबाट विशेषाधिकार मागिरहेका छन्। तर हामी प्रश्न उल्टो सोधौँ: के नेपाललाई हामीसँग सम्बन्ध राख्नु आवश्यक छैन?

नेपाललाई लगानी चाहिएको छ। प्रविधि चाहिएको छ। विश्व बजारसँग सम्बन्ध चाहिएको छ। दक्षता चाहिएको छ। अनुसन्धान चाहिएको छ। विश्वविद्यालय र उद्योगबीच सम्बन्ध चाहिएको छ। स्वास्थ्य, पर्यटन, कृषि, IT र अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव चाहिएको छ। विश्वभर लाखौँ नेपाली बसेका छन्। यो नेपालका लागि कमजोरी मात्र होइन। सही नीतिले हेर्ने हो भने यो संसारभर फैलिएको विशाल नेपाली नेटवर्क हो। यसलाई गुमाउनु बुद्धिमानी हुँदैन।


नागरिकताको निरन्तरता मात्र सबै समस्याको समाधान होइन

यस विषयमा हामी आफैँ पनि इमानदार हुनुपर्छ। भोलि नागरिकताको निरन्तरता सुनिश्चित भयो भन्दैमा विदेशमा रहेका सबै नेपालीले तत्काल नेपालमा लगानी गर्छन् भन्ने कुनै ग्यारेन्टी छैन। लगानीका लागि अरू धेरै कुरा सुधार गर्नुपर्छ। कानूनी स्थिरता। सरल प्रशासन। करको स्पष्टता। सम्पत्ति अधिकारको सुरक्षा। भ्रष्टाचार नियन्त्रण। व्यावसायिक विवादको छिटो समाधान। पुँजी र नाफा व्यवस्थापनको स्पष्ट प्रक्रिया। नीतिगत निरन्तरता। त्यसैले नागरिकता आफैँमा आर्थिक चमत्कार गर्ने उपाय होइन। तर यसको मनोवैज्ञानिक र कानुनी महत्व अत्यन्त ठूलो छ। यसले एउटा आधारभूत सन्देश दिन्छ: “तिमी संसारको जहाँ पुगे पनि नेपालसँगको तिम्रो मूल सम्बन्ध समाप्त भएको छैन।” र ठूलो लगानीभन्दा पहिले चाहिने सबैभन्दा महत्वपूर्ण पुँजी नै विश्वास हो।


हाम्रो अर्को पुस्ता अझ महत्वपूर्ण छ

हामी पहिलो पुस्ताका प्रवासी नेपालीलाई नेपाल सम्झाउन पर्दैन। हाम्रो स्मृतिमा गाउँ छन्। हाम्रो स्कूल छ। हाम्रो आमाको भान्सा छ। हाम्रो बुबाको घर छ। चाडपर्व छन्। साथी छन्। खोलानाला छन्। पहाड, तराई, हिमाल छन्। तर विदेशमा जन्मिएका हाम्रा छोराछोरी? अनि उनीहरूका छोराछोरी? उनीहरूले नेपालसँग कस्तो सम्बन्ध राख्ने? यदि नेपालले कानुनी, आर्थिक र सामाजिक पुल बलियो बनाएन भने केही पुस्तापछि नेपाल उनीहरूका लागि केवल: “My parents were from Nepal.” भन्ने एउटा परिचय हुन सक्छ। त्यो हाम्रो ठूलो क्षति हुनेछ। आज उनीहरू बच्चा छन्। भोलि उनीहरू वैज्ञानिक हुन सक्छन्। चिकित्सक हुन सक्छन्। विश्वविद्यालयका professor हुन सक्छन्। उद्यमी हुन सक्छन्। राजनीतिक वा व्यावसायिक नेतृत्वमा पुग्न सक्छन्। विश्वभर प्रभावशाली network बनाउन सक्छन्। त्यो पुस्तालाई नेपालसँग जोडिराख्ने काम आजको कानूनले गर्छ। त्यसैले नागरिकताको निरन्तरताको बहस आजका NRN को मात्र होइन।

यो अर्को पचास वर्षको नेपालको बहस हो।


राष्ट्रिय हित पनि सुरक्षित हुनुपर्छ

हामी नागरिकताको निरन्तरताको समर्थन गर्छौँ भन्दैमा यस विषयमा उठ्ने वैध चिन्तालाई बेवास्ता गर्नु हुँदैन। नेपालको भू-राजनीतिक परिस्थिति संवेदनशील छ। राष्ट्रिय सुरक्षा महत्वपूर्ण छ। संवैधानिक पद महत्वपूर्ण छन्। निर्वाचन प्रणाली महत्वपूर्ण छ। त्यसैले नागरिकताको निरन्तरता भनेको हरेक राजनीतिक र संवैधानिक अधिकार स्वतः, बिना कुनै सर्त दिनैपर्छ भन्ने होइन। राज्यले संवेदनशील पदका लागि अलग शर्त बनाउन सक्छ। आवश्यक residency requirement राख्न सक्छ। उच्च संवैधानिक, राजनीतिक वा सुरक्षा जिम्मेवारीका लागि विशेष नागरिकता सम्बन्धी व्यवस्था गर्न सक्छ। त्यो राष्ट्रिय बहसको विषय हुनुपर्छ। तर केही संवेदनशील अधिकारको प्रश्न समाधान गर्न सकिन्छ भनेर सम्पूर्ण diaspora सम्बन्ध नै कमजोर बनाउनु उचित हुँदैन। सुरक्षा र सम्बन्ध दुवै जोगाउन सकिन्छ। यसका लागि चाहिने कुरा स्पष्ट र दूरदर्शी कानून हो।


माइतीघर किन जाने?

भदौ १८ र १९ गते माइतीघरमा जम्मा हुनुको अर्थ केवल नाराबाजी गर्नु होइन। यो एउटा राष्ट्रिय प्रश्नलाई सार्वजनिक रूपमा राख्नु हो:

संसारभर फैलिएका आफ्ना मानिससँग नेपालले कस्तो सम्बन्ध राख्न चाहन्छ?

हामी त्यहाँ कसैको नागरिकता खोस्न होइन, आफ्नो सम्बन्ध नखोस्न भन्न जान्छौँ। हामी विशेषाधिकार माग्न होइन, स्पष्ट नीति माग्न जान्छौँ। हामी नेपालबाट केही लिएर मात्र जान चाहँदैनौँ,

नेपाललाई हामीसँग भएको ज्ञान, पुँजी, अनुभव र अर्को पुस्तासँग जोड्ने ढोका खोल्न चाहन्छौँ।

बुझेका मानिसले आवाज उठाऊन्। नबुझेकाले प्रश्न गरून्। बुझेर पनि नबुझेझैँ गर्नेहरूलाई जनमतले झक्झकाओस्। तर बहस तथ्यमा होस्। कानूनमा होस्। र भविष्यको नेपाललाई केन्द्रमा राखेर होस्।


हामी नेपाल छोडेर गएका हौँ, नेपाललाई छोडेका होइनौँ

हामीमध्ये धेरै विदेशमा सफल भयौँ होला। धेरै अझै संघर्षमै छौँला। कसैले आफ्नो घर बनायौँ। कसैले व्यवसाय। कसैले नयाँ जीवन। तर एउटा सानो ठाउँ हाम्रो मनभित्र आज पनि नेपालको नाममा सुरक्षित छ। त्यहाँ पासपोर्टको रंग पुग्दैन। त्यहाँ immigration status पुग्दैन। त्यहाँ नागरिकताको कानुनी परिभाषाभन्दा पुरानो एउटा सम्बन्ध बस्छ।

पुर्खाको सम्बन्ध।

हामी विदेशिएका हौँ। तर हाम्रो कथा नेपालमै सुरु भएको हो। हाम्रो भाषामा नेपाल छ। हाम्रो नाममा नेपाल छ। हाम्रा संस्कारमा नेपाल छ। हाम्रो खानामा नेपाल छ। हाम्रो संगीतमा नेपाल छ। हाम्रो सम्झनामा नेपाल छ। त्यसैले नेपालले हामीलाई एउटा कुरा मात्र नभनोस्: “तिमी अब विदेशी हौ।”

बरु सोधोस्: “तिमीले संसारबाट के सिक्यौ, अब नेपालसँग त्यो कसरी जोड्न सक्छौ?” यही सोचले राष्ट्र बदल्न सक्छ।


पासपोर्ट फेरिन सक्छ, पुर्खा फेरिँदैनन्

हाम्रो ठेगाना फेरिन सक्छ। हामी बोल्ने भाषामा अर्को भाषा थपिन सक्छ। हाम्रा छोराछोरी अर्को देशमा जन्मिन सक्छन्। हाम्रो हातमा अर्को देशको पासपोर्ट आउन सक्छ। तर हाम्रो जन्मभूमिको इतिहास मेटिँदैन। हाम्रा पुर्खा फेरिँदैनन्। हाम्रो बाल्यकाल फेरिँदैन। हाम्रो स्मृतिमा बसेको नेपाल फेरिँदैन। त्यसैले वंशजको नागरिकताको निरन्तरता केवल कानूनी दस्तावेजको बहस होइन। यो एउटा ठूलो प्रश्न हो: नेपाल आफ्ना मानिसलाई कति टाढासम्म आफ्नो मान्छे मान्छ?

हामीले देशबाट श्रम बाहिर पठायौँ। अब ज्ञान फर्काउने समय आएको छ। हामीले remittance भित्र्यायौँ। अब investment, innovation र technology भित्र्याउने समय आएको छ। हामीले एउटा पुस्ता विदेश पठायौँ। अब अर्को पुस्तालाई नेपालसँग जोडिराख्ने समय आएको छ। र यसको सुरुवात एउटा विश्वासबाट हुन्छ:

“हामी जहाँ पुगे पनि नेपालसँगको हाम्रो मूल सम्बन्ध समाप्त हुँदैन।”

नेपाल रित्तिँदै गएको यो समयमा आफ्नै मानिससँगको सम्बन्ध कमजोर बनाउने होइन,

अझ बलियो बनाउने बेला आएको छ। जानेहरूलाई तत्काल रोक्न नसकिएला, तर फर्किने ढोका सधैँ खुला राख्न सकिन्छ।


अन्तिम आग्रह

हामी dual citizenship को बहसलाई केवल दुईवटा पासपोर्ट राख्ने सुविधाको प्रश्नका रूपमा नहेरौँ। हामी मूल प्रश्नमा जाऔँ:

वंशजका आधारमा नेपाली भएको व्यक्तिको नेपालसँगको नागरिक सम्बन्ध अर्को देशको नागरिकता प्राप्त गरेकै कारण पूर्ण रूपमा अन्त्य हुनैपर्छ कि उचित संवैधानिक सीमा र राष्ट्रिय हितको सुरक्षासहित त्यसलाई निरन्तरता दिन सकिन्छ?

आज नेपालले यही प्रश्नको उत्तर दिनुपर्ने समय आएको छ। किनकि,

हामी विदेशमा छौँ, तर नेपालको बाहिर होइनौँ। हामी अर्को देशका नागरिक हुन सक्छौँ, तर आफ्नो इतिहासबाट विदेशी भएका छैनौँ।
हामीले अर्को घर बनाएका छौँ, तर जन्मभूमिलाई घर भन्न छोडेका छैनौँ।

र यदि नेपालले यो भावना, यो ज्ञान, यो पुँजी र यो विश्वव्यापी नेपाली सञ्जाललाई आफ्नो भविष्यसँग जोड्न सक्यो भने, आजको brain drain, भोलिको brain gain बन्न सक्छ। आजको remittance, भोलिको investment बन्न सक्छ। आजको diaspora, भोलिको नेपालको सबैभन्दा ठूलो global strength बन्न सक्छ। त्यसैले हाम्रो आवाज सरल छ:

नागरिकताको निरन्तरता कुनै कृपा होइन, मातृभूमिसँगको सम्बन्ध जोगाउने दूरदर्शी राष्ट्रिय नीति हो।


सन्दर्भ तथा तथ्य स्रोतहरू

१. नेपालको संविधान, २०७२, धारा १४
गैरआवासीय नेपाली नागरिकताको संवैधानिक व्यवस्था।
Office of the Attorney General / Government of Nepal.
https://ag.gov.np/files/Constitution-of-Nepal_2072_Eng_www.moljpa.gov_.npDate-72_11_16.pdf

२. नेपाल नागरिकता ऐन, २०६३, दफा १०
स्वेच्छाले विदेशी नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहने वर्तमान कानुनी व्यवस्थाको आधार।
Nepal Citizenship Act, 2063 (2006).
https://natlex.ilo.org/dyn/natlex2/natlex2/files/download/87479/NPL87479.pdf

३. नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८०
गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसम्बन्धी कानुनी व्यवस्था।
गृह मन्त्रालय, नेपाल सरकार।
https://moha.gov.np/

४. National Population and Housing Census 2021: International Migration in Nepal
विदेशमा अनुपस्थित जनसंख्या र अन्तर्राष्ट्रिय migration सम्बन्धी तथ्याङ्क।
National Statistics Office, Government of Nepal.
https://censusnepal.cbs.gov.np/

५. Current Macroeconomic and Financial Situation 2023/24
आर्थिक वर्ष 2023/24 मा रु. 1,445.32 अर्ब remittance inflow सम्बन्धी तथ्य।
Nepal Rastra Bank.
https://www.nrb.org.np/

६. Personal Remittances Received, Nepal
नेपालको GDP मा remittance को योगदानसम्बन्धी अन्तर्राष्ट्रिय तथ्याङ्क।
World Bank Data.
https://data.worldbank.org/country/nepal

७. Nepal Labour Migration Report 2024
नेपालबाट भइरहेको श्रम आप्रवासन, श्रम स्वीकृति र migration trends सम्बन्धी सरकारी अध्ययन।
Ministry of Labour, Employment and Social Security, Government of Nepal.
https://moless.gov.np/

८. Nepal Development Update, April 2026
नेपालको आर्थिक वृद्धि, श्रम बजार, migration र remittance dependency सम्बन्धी विश्लेषण।
The World Bank.

९. “Will it give me a job? Nepal’s election promises don’t stop youth exodus”
युवा विदेशिने अवस्था, रोजगारी र आर्थिक अवसरबारे ground reporting.
Reuters, February 26, 2026.

१०. “वंशजको नागरिकतालाई निरन्तरता दिन एनआरएनको माग”
वंशजको नागरिकताको निरन्तरतासम्बन्धी पछिल्लो राजनीतिक तथा सार्वजनिक बहस।
कान्तिपुर, August 17, 2026.


नोट: यस लेखमावंशजको नागरिकताको निरन्तरतालाई एउटा नीतिगत तथा संवैधानिक मागका रूपमा प्रयोग गरिएको छ। नेपालको वर्तमान संविधान कानूनले सामान्य अर्थमा पूर्ण dual citizenship प्रदान गरेको छैन। संविधानको धारा १४ अन्तर्गतको गैरआवासीय नेपाली नागरिकता वंशजको नागरिकताको पूर्ण निरन्तरता अलग कानुनी अवधारणा हुन्।

© Dhruva Thapa | Dhruva’s Creations

Leave a Reply

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading