By

Published on

गीत, संगीत, कला र संस्कृतिलाई अन्तराष्ट्रिय रुपमा लैजाने अभियानमा छु – रामप्रसाद खनाल

गीत, संगीत, कला र संस्कृतिलाई अन्तराष्ट्रिय रुपमा लैजाने अभियानमा छु – रामप्रसाद खनाल, अध्यक्ष, अन्तराष्ट्रिय कलाकार मञ्च

उनको बारेमा बताउनु पर्दा धेरै विशेषणहरु जोड्नुपर्ने हुन्छ । प्रतिष्ठित पत्रकार, लोक तथा दोहोरी गीत क्षेत्रको गायक र नायक मात्र होइन धुर्वतारा, गीत, संगीत, साहित्य लगायत हर क्षेत्रमा राम्रो खुवी र प्रतिभा भएको व्यक्ति, अमेरिकी सरकारबाट, यिनै यिनै उत्कृष्ठताका लागि भ्हतचब इचमष्लबचथ ब्दष्ष्तिथ भएको विशेष अन्तराष्ट्रिय व्यक्तित्वको रुपमा ग्रीनकार्ड प्राप्त व्यक्ति हुन रामप्रसाद खनाल ।

नेपालमा दोहोरी गीत र लोकगीतको क्षेत्रमा तहल्का मच्याएका र आफ्नो अलग्गै इतिहास रच्न सफल भएका, २० वर्ष भन्दा बढी नेपालका सक्रिय पत्रकारिता गरेका खनाल नेपाल टेलिभिजनको वोर्डको संचालक, त्यस बाहेक कार्यक्रम निर्माता, निर्देशक र संचालकको रुपमा पनि नेपाल टिभी, रेडियो नेपालमा आफ्नो अमिट छाप छोड्न सफल छन् । २०६४ सालमा माओवादी अपहरणमा परी झण्डै मारिएका थिए उनी । राष्ट्रिय अन्तराष्ट्रिय मानवाधिकारवादी संघसंस्थाहरु, संयुक्त राष्ट्रसंघ, राष्ट्रिय मानवाधिकार आयोग, पत्रकार र कलाकारहरुको पहलमा माओवादी अपहरणबाट मुक्त भए पछि अमेरिका बस्दै आएका खनाल हाल पूर्ण रुपमा स्वतन्त्र भएर कला र संस्कृतिको लागि एउटा अन्तराष्ट्रिय अभियानको नेतृत्व गर्दैछन् ।

उनको अध्यक्षतामा बनेको र नेपालका प्रायः सवै बरिष्ठ कलाकारहरु सम्मिलित अन्तराष्ट्रिय कलाकार मञ्च मार्फत उनी अन्तराष्ट्रिय रुपमै क्रियाशिल छन् । दर्जनौं राष्ट्रिय, अन्तराष्ट्रिय पुरस्कार, सम्मान, अभिनन्दन पाइसकेका, १४ पुस्तक र ३८ वटा गीति एल्वम, १२०० भन्दा बढी लोक, आधुनिक, राष्ट्रिय गीत गाइसकेका खनाल (हेर्नुस् विस्तृत विवरण www.RamPrasadKhanal.com  मा) अध्यक्ष रहेको अन्तराष्ट्रिय कलाकार मञ्च (हेर्नुस् www.IAFAmerica.com मा) संसारका २२ वटा देशमा विस्तार भैसकेको छ भने यसको केन्द्रिय कार्यालय अमेरिकामै रहेको छ । नेपाल बाहिर अन्तराष्ट्रिय रुपमै चर्चित www.NepalMother.com / www.Nispakshya.com का प्रधान सम्पादक÷प्रकाशक समेत रहेका यीनै बहु प्रतिभाका धनी रामप्रसाद खनालसंग अमेरिकाबाट प्रकाशन हुने हाम्रो समाज डट नेटका प्रधान संपादक ध्रुव थापाले लिनु भएको अन्तर्वार्ता ।

  •  प्रश्नः के छ तपाई अध्यक्ष रहनु भएको अन्तराष्ट्रिय कलाकार मञ्चको हालखबर ?

उत्तरः हजुर, अन्तराष्ट्रिय कलाकार मञ्च अमेरिका सहित संसारका २२ वटा देशमा विस्तार गरेका छौं । अव यसलाई अझ विस्तार गर्दै जाने, संसार भर पुर्याउने, गीत, संगीत, कला, संस्कृति र साहित्यको क्षेत्रमा मञ्च क्रियाशील भएर काम गर्ने हाम्रो लक्ष छ ।

  •  प्रश्नः नेपालमा पनि मञ्चको विस्तार भएको छ क्यारे होइन ?

उत्तरः नेपालमा, वरिष्ठ हास्य कलाकार शिवहरी पौडेलको अध्यक्षतामा नेपालका ६० जना विभिन्न क्षेत्रका सुप्रसिद्ध कलाकारहरुको संलग्नतामा नेपाल शाखा बनेको छ ।

  •  प्रश्नः प्रसिद्ध कलाकारहरु सवै समेट्नु भएको छ त ?

उत्तरः हेर्नुस अन्तराष्ट्रिय कलाकार मञ्चको वेभसाईट धधध।ष्बाबmभचष्अब।अयm तपाईले सवै कुरा जानकारी पाउन सक्नुहुन्छ । नीर शाह, कृष्ण मल्ल, राजाराम पौडेल, हरि ब. थापा, मदन दीपवीम देखि हालसम्मका सुप्रसिद्ध कलाकारहरु प्रायः सवै समेटेका छौं । हामी मञ्चमा कुनै राजनितिक आस्थाका आधारमा होइनकि कला र संस्कृतिको गहिराइका आधारमा ५६ जना पुरानादेखि नयाँसम्म सवै कलाकार समेटेर केन्द्रिय समिति बनाएका छौं । जहाँ अमेरिकी कलाकारहरु समेटेर राखेका छौं । हामी कला र संस्कृतिको लागि काम गर्ने, मरिमेट्नेहरुलाई समेट्दै अगाडी बढ्ने नीति छ ।

  • प्रश्नः अमेरिकाका विभिन्न शहरहरुमा पनि आजकल तपाई आफ्नो एकल साँझ लिएर निकै क्रियाशिल हुनु भएको देखिन्छ कसरी संभव छ सवै कुरा ? त्यो पनि अमेरिका जस्तो ठाउँमा ?

उत्तरः म गत २५÷२६ वर्ष अघि देखि गीत संगीतको क्षेत्रमा पेशागत हिसावले लागेको मान्छे । गीत, संगीत, कलाकारिता, पत्रकारिता भनेका मेरा अभिन्न अंग हुन्, म यिनी बिना बाच्न सक्तिन । अनि म अल्छी मान्छे पनि होइन । तपाईंलाई थाहा छ अमेरिकाको जीवनचर्या कस्तो छ, व्यस्तता कस्तो छ भन्ने कुरा । यद्दपी मैले अहिलेसम्म सवै कुरा म्यानेज गरिरहेको छु । एकल साँझदेखि सामुहिक कार्यक्रम सम्ममा सहभागी हुन्छु । अमेरिकाका विभिन्न शहरबाट साथीहरुले बोलाउनु हुन्छ म अतिथि कलाकारका रुपमा पुग्ने गरिरहेकोे छु, संभव भए सम्म । तर पनि व्यस्तताले गर्दा सवै ठाउँ पुग्न सकेको छैन । अमेरिका बाहिर जस्तो युरोपका थुप्रै देशबाट साथीहरुले निम्ता गरिरहनु भएको छ एकल साँझका लागि तर पनि जान सकिरहेको छैन । अव अर्को वर्षदेखि म अन्तराष्ट्रिय स्तरकै दौडहामा निस्किने योजनामा छु ।

  • प्रश्नः अमेरिकामा के के गरिरहनु भएको छ अहिले ?

उत्तरः मेरो आफ्नै विजनेस छ, यस बाहेक रियल्टरको रुपमा कार्य गरिरहेको छु । नेपाल मदर डट कम र निष्पक्ष डट कम पनि संचालन गरिरहेको छु । सांस्कृतिक कार्यक्रमहरुमा पनि सहभागी भइरहेको छु ।

  •  प्रश्नः राजनितिबाट पूर्णतया अलग हुनुभएकै हो त ?

उत्तरः हो, म नेपाली राजनीतिबाट पूर्णतया अलग भएर स्वतन्त्र रुपमा बसेको पनि ५÷६ वर्ष भयो । नेपाली राजनीति प्रति मलाई अत्यन्त घृणा छ । तपाई आफै भन्नुस त नेपाली राजनीति के सही लाइनमा छ र म त्यसलाई समाएर हिडुँ !

  • प्रश्नः तर अमेरिकामा त झन बढी नेपाली राजनीति छ नेपालीहरुबीच !

उत्तरः तपाईंले ठिक भन्नुभयो । अमेरिका आएर पनि हामी नेपाली सुध्रिन चाहेका छैनौं, यहाँ पनि कांग्रेस, एमाले, माआवादी, मधेशवादी, राजावादी दलका भातृ संगठन खोलेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा त्यही नेपालको गन्धा राजनीति गर्दैछौं, नेपाली नेपालीबीच एकता र मेलमिलाप होइन गुटबन्दीको काम भइरहेको देख्दा मुटु चिरिएर आउँछ । अझ त्यसमाथि हरेक पार्टीका भातृ संगठन भित्र पनि गुट, उपगुट देख्दा त अझ घृणा लाग्छ । हामी अमेरिकामा बस्नेले गर्ने हो भने अमेरिकी राजनीति गर्ने हो, अमेरिकाबाट केही राम्रा कुरा सिकेर नेपाल र नेपालीलाई दिने हो, सिकाउने हो, अव हुँदा हुँदा यहाँ पनि फेरि नेपालकै राजनीति हेर्नुस त हामी नेपालीको बुद्धिमा बिर्को लाग्या ! म त अचम्ममा पर्छु कहिले काहिँ ।

  •  प्रश्नः अरु के के कुराले तपाईको मन छोएको छ अमेरिकामा ?

उत्तरः अमेरिकामा नेवार जातीका ५ वटा संगठन, गुरुंग, मगर, दलित, तामांग, लामा, क्षेत्री हरेकका आआफ्नै संगठन छन्, बाहुनहरुको संगठन बाहेक । अन्य केही संस्थाहरु पनि छन् जुन पूर्ण रुपमा राजनीतिकरण गरेर बर्बाद पारेका छन् हाम्रा साथीहरुले । यस्तो किन ? यहाँ पनि धरान, चितवन, गुल्मी, धादिंग, लुम्विनी आदि क्षेत्रगत, जातीगत, भाषागत संघसंगठन छन् नेपालमा जस्तै । सवै विभाजित छन, यो कुराले मलाई निकै चिन्तित बनाउँछ । हामी सवै जातजाती, भाषाभाषी, नेपाल भित्र जहाँका भए पनि नेपाली होइनौं र ? नेपाल र नेपाली यी २ वटा शब्द भित्र हामी सवै अट्न सक्छौं । तर हामी मुर्ख नेपालीहरु अमेरिकामा बसेर पनि जातजाती, भाषाभाषी, क्षेत्रगत, जातीगत, आधारमा विभाजित छौं । नेपाली राजनीतिको फोटोकपी गरेर विभाजित छौं । पृथ्वी नारायण शाहले एकिकरण गर्नु अघिको बाइसे चौविसे मनस्थितिबाट गुज्रिरहेका छौं । यो साह्रै दुःख लाग्दो पक्ष हो । अझ हाँसो उठ्दो कुरा त अमेरिकामा बसेर केही मान्छेहरु माओवादीको पक्षमा वकालत गर्छन् । यो पो बुझि नसक्नु छ बा !

  • प्रश्नः माओवादीको निकै खैरो खन्नुहुन्छ नि नेपाल मदर डट कम, अनि निष्पक्ष डट कममा, किन त्यति कठोर हुनभएको उनीहरुप्रति ?

उत्तरः पहिलो कुरा त म राजनीतिबाट पूर्णतया सन्यास लिएको व्यक्ति । म कसैको पक्षमा वा कसैको विपक्षमा छैन । मेरा निम्ति सवै समान छन तर जहाँसम्म माओवादीको विषयमा सोध्नुहुन्छ भने म माओवादीलाई राजनीतिक पार्टी मान्दिन, यो त हात हतियारधारी, बन्दुकधारी, वाइसिएलधारी, लडाकुधारी नेपालको ठूलो अराजक समूह हो जसका कारण सत्र हजारको ज्यान गयो । नेपाल तहशनहश भयो, अझै बढी तहशनहश हुँदैछ । यिनीहरुले के चाहीँ राम्रो गरेका छन र मैले माओवादीको प्रशंशामा कलम चलाउ ? तपाई आफै भन्नुस त ?! यिनीहरु सुध्रेछन भने, राम्रो काम गर्न थालेछन् भने त्यो दिन प्रशंशा पनि गरौंला ।

  •  प्रश्नः तपाईलाई माओवादीले अपहरण गर्नुको, दुःख दिनुको कारण के थियो ?

उत्तरः अपराधीहरुको जमातलाई मैले कहिले राजनीतिक दल मानिन, राम्रो भनेर लेखिन, उनीहरुको कथित जनयुद्धको पक्षमा कलम चलाइन, त्यसैकारण उनीहरु म माथि खनिए । मलाई मार्ने सम्मको योजना थियो उनीहरुको तर मार्न सकेनन् । अपहरण गरेर वेपत्ता पारे पछि पनि इज्यतका साथ रिहा गर्न बाध्य भए राष्ट्रिय अन्तराष्ट्रिय दवाव परेपछि । माओवादीले कसरी मान्छे मार्छन, कसरी लुट्छन, कुट्छन, अपहरण गर्छन भन्ने कुरा सवैलाई थाहा भएकै कुरा हो नि । के कारण चाहिन्छ र ! यिनीहरुलाई गुणगान र पैसा भए पुग्छ ।

  • प्रश्नः राजनीतिबाट सन्यास लिए पनि एउटा सचेत नेपालीको नाताले नेपालको राजनीतिलाई अहिले कसरी हेरिहनु भएको छ ?

उत्तरः प्रजातन्त्रवादी नेपाली कांग्रेस, एमाले लगायतका दलहरुलाई अपराधी मनोवृत्तीले ग्रसित, कब्जाको रोगले थलिएको माओवादीले एकपछि अर्को गर्दै चुकाउदै, खेलाउँदै र देशलाई सोमालिया, इराक, अफगानिस्तन, हाइटी, कंगो, बुरुण्डी सियरालियोन जस्ता असफल राष्ट्र झैं बनाउँदै अगाडी बढीरहेको छ । मान्नुस या नमान्नुस अहिले नेपालमा सफल छ भने माओवादी पार्टी मात्र सफल छ । हुन त उनीहरु भित्रै पनि द्वन्द छ, ढिलो चाँडो माओवादीहरु आफूआफूमै काटाकाट र मारामार गरेको दृश्य नेपालीले देख्नु पर्ने छ । त्यो दिन पनि नेपाली जनताले दुःख पाउने हुन । जंगलमा हुँदा पनि जनतालाई सताए, संसदमा, सरकारमा आए पछि पनि जनता सताउने काम उनीहरुबाटै भइरहेको छ । एमाले, कांगे्रस अन्य दलहरु निरिह देखिन्छन् । राज्यको ढिकुटीबाट लडाकुलाई अरबौं बाडेको माओवादी हर क्षेत्रमा आफूलाई फाइदा पुर्याउने र जनता झुक्याउने काममा क्रियाशिल भएको कुरा कसैबाट छिपेको छैन । माओवादीलाई तह लगाउन कांग्रेस, एमालेबीच कार्यरत एकता साना दलहरुको साथ जरुरी छ । होइन भने लेखेर राख्नुस् माओवादीले सब आँच्चै उनीहरुले भनेझैं सत्ता कब्जा गर्ने बेला आएको छ ।

  • प्रश्नः त्यस्तो हुन सक्ला र खनालजी ?

उत्तरः किन नसक्नु, बाँकी एउटा थियो नेपाली सेना त्यहाँ पनि साढे हजार अपराधीहरु सेनाको विल्ला भिराएर माओवादीले पठाउँदै छ । प्रहरी सशस्त्र प्रहरी, कर्मचारी यन्त्र सवै उसले भाँडी सकेको छ । न्यायालय र न्यायाधीशलाई धम्क्याउँदै हत्याराहरुलाई प्रहरीका हाकिमहरुसँग अगाडी पछाडी लगाएर उल्टै सुरक्षा दिइरहेको देख्नु भएकै होला । गणेशमानजीले भने झै नेपाली जनता भेंडा जस्ता छन् जसको शक्ति उसको भक्ति गर्ने चलन छ हामी नेपालीको । त्यसैले सदनदेखि सरकारसम्म, सडक देखि सुरक्षा निकायसम्म कर्मचारी यन्त्रदेखि न्यायालयसम्म माओवादी पन हावी गराउन सफल माओवादीका अगाडी अन्य दलको उपस्थिति कमजोर देख्दछु मैले । धम्क्याई धम्क्याई लडाकु, वाइसिएल, हात हतियारका बलमा माओवादीले सत्ता कब्जा गर्ने दिन नआउला भन्न सकिन्न । यो रोक्न कांग्रेस एमालले बुद्धि पुर्याएर लागे मात्र सम्भव छ ।

  •  प्रश्नः गीत÷संगीत, एल्वम प्रकाशनमा चाहिँ के गर्दै हुनुहुन्छ नि ?

उत्तरः ३८ वटा एल्वम प्रकाशन पछि रोकएको मेरो गीतसंगीत यात्रा नेपाल नफर्कदासम्म अवरोधले घेरिएको छ । अमेरिकामा नेपाली गीत गाउन, रेकर्ड गर्न, एल्वम निकाल्न सजिलो छैन त्यसका लागि नेपालनै जानुपर्छ । योजना गर्दैछु । गीतहरु लेखेर तयार गरेको छु ३ वटा एल्वमलाई पुग्ने गरी । छिटै ३९ औं एल्वम बजारमा ल्याउने प्रयासमा छु ।

  •  प्रश्नः तपाईं अमेरिका हिडेपछि नेपालका टेलिभिजनमा छाएको लोक दोहोरी हलचल हरायो भन्छन नि दर्शकहरु ?

उत्तरः नहराउनु पर्ने हो । मैले सयौं÷हजारौंको संख्यामा नयाँ पिंढीका भाई÷बहिनीहरुलाई तयार पारेर छोडेको हुँ । अन्यतिर उनीहरुले राम्रै गरेका छन् । टेलिभिजनहरुमा किन छाउन सकेनन् कुन्नी । फेरी सधै भरी एकजनाले मात्र थाम्न खोजेर पनि हुँदैन । नयाँ प्रतिभाहरुलाई पनि मौका दिनु पर्छ । नयाँ नयाँँ प्रतिभाहरु आउन्, मैले भन्दा पनि अझ राम्रो गर्न सकुन् भन्ने मेरो चाहना छ ।

  • प्रश्नः भावी लक्ष के छ नि ?

उत्तरः अन्तराष्ट्रिय कलाकार मञ्चलाई विश्वव्यापीकरण गरेर गीत, संगीत, कला, संस्कृति, साहित्यका लागि योगदान दिने, नेपाली घृणित राजनीतिमा कहिलै नफर्किने, गर्नै परे अमेरिकी राजनीति गर्ने लक्ष छ ।

  •  प्रश्नः अन्त्यमा अन्तर्वार्ताका लागि धन्यवाद !

उत्तरः तपाईलाई विशेष धन्यवाद, तपाईको मिडिया प्रति म आभारी छु जसले मेरा विचारहरुलाई संसारभरी मेरा दर्शक, श्रोता, पाठकबीच पुर्याउने पुलको काम गर्यो । जाँदाजाँदै फेरी थप्न चाहन्छु नेपालमा होस वा विदशकमा होस नेपाली नेपाली मिलेर बाँचौं । नेपाल र नेपाली नै हाम्रा लागी काफी छ । जातजाती, भाषाभाषी, क्षेत्रगत, वर्ण, जातीयताको राजनीति बन्द गरौं । नेपालको घृणित राजनीति विदशेमा पनि ल्याउन बन्द गरौं । राजनीति नै गर्ने भए जहाँ बस्छौं त्यहिको राजनीति गरेर नेपाल र नेपालीलाई अघि बढाऊँ । कला र संस्कृतिलाई माया गरौं । यति भन्दै र फेरि पनि तपाई र तपाईको मिडियालाई धन्यवाद दिँदै म पनि विादा चाहन्छु । नेपाल र नेपालीको सधै जय होस । धन्यवाद ।


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading