कथा

जीवनको मूल्य !

एकदिन एउटा मानिस जीवन को मूल्य बुझ्न भगवान बुद्धको सामु गएर बिन्ति गरेछ भगवान , मेरो जीवनको मुल्य कति हो ?

भगवान बुद्धले त्यस मानिसलाई नियालेर हेरेपछि एउटा ढुंगा दिएर भन्नु भएछ , यो ढुंगा लिएर जाउ र यसको मूल्य कति रहेछ पता लगाएर आउँ। तर भुलेर पनि यसलाई नबेच्नु।

हवस् हजुर, भनेर उ बजारतिर लागेछ, बाटोमा एउटा फल वालालाई देखाएर भनेछ हजुर यस्को मूल्य कति होला ? फल वालाले भनेछ म तिमीलाई यसको “एक किलो सुन्तला दिन तयार छु” ।

त्यसपछि एउटा किराना पसलमा जादा ” २ बोरा चामल ” दिने प्रस्ताव राखेछ। उ त्यहाबाट निस्किएर सोझै एउटा सुनारको दोकानमा गएर सोधेछ , हजुर यस ढुंगाको मुल्य कति होला ? सुनारले त्यस पत्थरलाई नियालेर हेरेपछि “एक तोला सुन “संग साट्ने प्रस्ताव राखेछ।

अब उ अन्योलमा परेछ, यसको मूल्य हरेकले किन फरक फरक राखी रहेको छ ? उ त्यहाँबाट एउटा जौहरीकोमा पुगेर देखाएछ।

जौहरी ले त्यो अमुल्य रत्नलाई आफ्नो  हातमा लिएर पहिले त ढोगेछ र नियालेर , तौलीदै  भनेछ , यो त अतिनै बहुमुल्य रत्न हो , यसको मुल्य तिमि जति भन्छौ म अहिले दिन तयार छु। उसले त्यसको मुल्य  रु १० लाख भन्दा जौहरीले तत्काल १० लाख दिन तयार भएछ।

तर बुद्धको आज्ञा अनुसार उसले लालचमा आएर त्यो बेच्न सकेन र उ त्यहाँबाट फेरी फर्केर बुद्ध को मा फर्की आएछ।

हे भगवान , मैले यसको मुल्य बुझ्न सकिन हरेकले यसको मूल्य फरक फरक राख्दै गए र सबैले यसलाई पाउने इच्छा प्रकट गरे। हजुरनै भनि दिनुहोला यसको मूल्य कति हो ?

बुद्धले मन्द मुस्कानका साथ उत्तर दिएछ , हेर मित्र तिमि यहाँ आफ्नो जीवनको मूल्य बुझ्न आएका थियौ , अब सुन हाम्रो जीवनको मूल्य पनि यस्तै हरेकले आफ्नो औकात , हैसियत , क्षमता र बिबेक अनुसार  तोक्छन।

त्यसैले तिम्रो यो बहुमुल्य जीवनलाई , प्रेम गर, इज्जत गर, कहिले यसको अवहेलना नगर र त्यो संग मात्र संगत गर जसले तिम्रो इज्जत गर्दछ र त्यहाँमात्र जाउ जहाँ तिम्रो कदर हुन्छ ।

चिन्ता नगर तिमीलाई सहि मुल्यांकन गर्नेहरु पनि यो संसारमा धेरै छन्।

(भगवान बुद्धका प्रेरणादायक कहानीमा आधारित )

Categories: कथा