एउटा सत्य जानेर पनि सधै अन्जान हुन्छौ!

एउटा सत्य जानेर पनि
सधै अन्जान हुन्छौ
कि तिमि मर्नेछौ र म पनि
कोहि अमर र अजर छैनन
यो संसारमा !
तिमीले र मैले चिनेका
सबै मर्नेछन एक दिन
तर कहिले र कसरि ?
यदि यस महामारीमा
सकुसल बाचिएछ भने।
 
अहिले अछुत जस्तै भएकोछु म
तिम्रो दु:खमा साथ दिन सक्दिन
तिमीलाई अंकमाल गरेर
आफ्नो हृदयमा राखेर
एउटा न्यानो अंकमालमा
बाध्न सक्दिन म
म छु ! तिमि चिन्ता नगर
सब ठिक हुन्छ, भन्न सक्दिन म।
 
म आफ्नै अनुहार छुन डराउदैछु
तिम्रो सामिप्यको के कुरा गरौ
आफ्नै सरिर देखि ससंकित छु
एउटा अदृश शक्तिको परिधिमा
कैद जस्तै महसुर गरि रहेको छु।
यो भ्रम हैन अहिलेको यथार्थ हो।
 
हो बिस्तारै बिस्तारै सबै साम्य हुनेछन्
जीवन फेरी सल्बलाउनेछन गल्लिहरुमा
फेरी सबै व्यस्त हुनेछन आफ्नै दैनिकीमा
अनि फेरी हामी यो सब भुल्ने छौ
अहिलेको यस परिस्थितिलाई
ईतिहासको पन्नामा आउने पिडिले पढनेछन्
जब हामी समेत एउटा तितो ईतिहास बन्नेछौ ।
 
बिस्तारै बिस्तारै सबै साम्य हुनेछ
यहि हो प्रकृतिको नियमपनि
सुर्य, चन्द्र, र तारा जस्तै
आफ्नै परिधिमा , आफ्नै अस्तित्वमा
सधै हामीलाई जीवनदान दिई रहनेछ
यस धर्ति, प्रकृति र समयले मुकदर्शक बनेर
एउटा पुरानो स्टेसन जस्तै हरेक यात्रीलाई
हरेक दिन आउदै जादै गरेको हेरी रहने छ
र त्यहि भिडमा समय समयमा आजको जस्तै
महामारीहरु आउदै जादै गर्नेछन।
 
बस तिमि हतास न हौ , यहि जीवन हो
मर्नु र बाच्नु त जन्मदै लेखेर ल्याएका छौ
त्यो औलोकिक ज्ञानको अघि
विज्ञानपनि नतमस्तक बन्दो रहेछ
बिज्ञान र बिज्ञ को केहि न चल्दो रहेछ
नत्र किन यो महामारीमा
लाखौले ज्यान गुमाउनु पर्थ्यो र ?
 
तर एउटा सत्य जानेर पनि सधै अन्जान हुन्छौ
कि तिमि मर्नेछौ र म पनि
कोहि अमर र अजर छैन यो संसारमा!
 
बस बिचलित नबनौ
भाग्यमा जे लेखेको छ
त्यहि हुनेछ
यो संसारमा जति बाच्न लेखेको छ
त्यतिनै बाच्ने छौ ।
बस आफ्नो धर्म ,कर्तब्य र कर्म
राम्रोसित पालन गरौ
आफु पनि बाचौ र
अरुलाइपनि बाच्न सहयोग गरौ
यो धर्ति, प्रकृति र यसको हरेक सिर्जनालाई
आफ्नै अस्तित्वमा स्वतन्त्र बाच्न दिउ ।
यहि पाठ त सिकाएको छ अहिलेको महामारीले।
 

Categories: कविता