तेस्रो अन्तIMG_0740र्राष्ट्रिय टोपी दिवसको अवरमा अहिले फेसबुकभरि टोपीको प्रदर्शन बढेको छ । देश विदेशमा बस्ने हरेक नेपालीले कमसे कम वर्षमा एकदिन नै भए पनि शिरमा टोपी लगाएर फेसबुकमै भए पनि टोपी दिवस मनाउन थालेका छन् त्यो राम्रो कुरा हो । यसले हाम्रो टोपीको मात्र प्रचार नभएर सिंगो नेपाल र नेपालीको मान सम्मान सगरमाथा जस्तै अग्लो बनाएको छ । जसले पनि जुनै देशमा जादा पनि बोक्न सक्ने र चाहिएको बेला शिरमा लगाउन सक्ने यो टोपी , टोपी दिवसको लािग मात्रै नबनोस् । अहिले युवाहरू मात्र होइन युवतीहरू पनि ढाकाटोपी लगाएर फोटो खिचेर फेसबुकमा हाल्न आतुर देखिन्छन ।
जे होस् यो फेसबुकबाटै सुरु भएको अभियानले झन्डै अंग्रेजी नयाँवर्ष नै बिर्सने गरि फेसबुकको भित्ता भरिनै ढाकाटोपीले प्रमुखता पाई रह्यो चाहे युवाहरू होस् वा युवतीहरू सबै ढाकाटोपीमा गमक्क परेर नेपाली बनौँ र नेपाली पनमा रमाऔँ भन्दै आफ्नो स्टाटस अपडेट गरिरहेका देखिए । १ जनवरी २०१६ भरि नै सबैलाई हतार देखिन्थ्यो कतै आफ्नो ढाकाटोपी लाएको फोटो हाल्न ढिलो होलाकी भनेर ।
तर, थोरैलाई थाहा होला सन् २०१३ को अक्टोबरतिर लन्डनमा अध्ययनरत गोरखाका रामचन्द्र मरहट्टा उर्फ मचराले यस अभियानको सुरुआत गरेका हुन् भन्ने बारेमा । सायद उनले पनि सोचेका थिएनन् होला यति चाडो यो अभियान यति धेरै सफल हुन्छ भनेर । फेसबुकबाटै नेपाली टोपी दिवसको सुरुआत भएकोले अहिले फेसबुकभरी यसले प्रमुख स्थान पाउनु स्वाभाविक पनि हो र यो सोसियल मिडियाको करामत पनि हो । सायद चाँडै नेपालमा यसले सरकारी स्तरमै मान्यता पनि पाउला । जे होस् अहिले हेर्दा यही अभियानले गर्दा पनि नेपाली टोपीको लोकप्रियता युवाहरूमा ह्वात्तै बढेको छ । तर कताकता अलिक असुहाउँदो पनि देखिँदो रहेछ एउटै टोपी केटा र केटीले लगाउँदा । कसै कसैले त फेसबुक र ट्वीटरमा यसको नराम्रो प्रतिक्रिया समेत लेखेको देखियो । सायद मर्दको शान हो ढाका टोपी भनेर हुन् सक्छ । यो एउटा शान मात्रै नभएर समग्र नेपालीको पहिचान पनि हो, त्यो हामीले भुल्नु हुँदैन । त्यसैले मैले नारीले ढाका टोपी लगाउनु हुँदैन भन्न खोजेको होइन । पुरुषसरह लुगा लाउन हुने र यो टोपी किन लाउन नहुने भने प्रश्न अवष्य उठ्न सक्छ र म पनि लगाउन हँुदैन भन्ने पक्षमा पटक्कै छैन ।
टोपीकै कुरा गर्दा विभिन्न देशमा र अहिले फेसनमा आएको टोपी अथवा क्याप नारी र पुरुष दुवैले लाउने पनि पाइन्छ । तर विशेष गरेर औपचारिक रूपमा टोपीलाई हेर्ने हो भने नारी र पुरुषले लाउने टोपीमा अवश्य फरक हुने गर्दछ जस्तै, टोपीको रंग, आकार र त्यसमा बनाइएका डिजाइनहरू जसलाई हामी सजिलै चिन्न सक्छौँ । नेपालीले पनि ढाकाटोपीवाहेक अन्य टोपी जाडोको मौसममा होस् वा वर्षाको मौसममा लगाउँदा कसैले वास्ता गर्दैन किनकी त्यो टोपी एउटा आवश्यकता वा फेसनको रूपमा प्रयोग भएको हुन्छ ।
तर, एउटा देश सम्प्रदाय वा जातिलाई चिनाउने टोपी लगाउँदा सुहाउँदो पनि हुनुपर्छ र अलिक फरक खालको पनि हुनुपर्छ भन्ने मान्यता मेरो छ । यसमा धेरैको फरक मत पनि हुन सक्ला । नेपालकै कतिपय पहाडी जातिहरूमा नारी पुरुष दुवैले लगाउने टोपी छन् र उनीहरूलाई त्यो टोपीले निक्कै राम्रो देखिन्छ पनि र उसको पहिचानसमेत झल्कन्छ ।
अहिले जुनप्रकारले अन्तर्राष्ट्रिय स्तरमै ढाकाटोपी दिवस अंग्रेजी महिनाको पहिलो तारिखमा मनाउने चलन बसेको छ र अहिले तेस्रो वर्षमा आइसक्दा सायदै कुनै नेपाली होलान् जसलाई ढाकाटोपी दिवसको बारेमा जानकारी नहोला । यसको एउटा उदाहरण नेपाल वा विश्वभरबाट निस्कने नेपाली मिडिया होस् वा सोसियल मिडिया, गतवर्षको तुलनामा यो टोपी दिवस धेरै लोकप्रिय बनेको महसुस गरियो । महिला होस् वा पुरुष सबैले गर्वका साथ् शिरमा ढाकाटोपी लगाएका फोटाहरू देखिए ।
तर, भोलि चौबन्दी चोलो दिवस पनि मनाउने भनियो भने के पुरुषले लगाउलान् त चौबन्दी चोलो र गर्वले सोसियल मिडियामा सेल्फी खिचेर हाल्लान त ? हुन त नारीले जहिले पनि पुरुषको जस्तै लुगा लाएर हिँड्ने छुट छ तर पुरुषले त्यसो गर्न सक्दैनन् वा चाहँदैनन् । यसमा नारीले पुरुषसरह हुनका लागि लगाएको भन्ने पनि सुनिन्छ तर अहिले आएर नारीले पुरुषको जस्तै लुगा लगाएता पनि त्यसमा नारित्व झल्कने डिजाइन बनेका हुन्छन् ।
पुरुष र नारीले लगाउने प्यान्ट वा सुरुवालको कुरा गरौँ, त्यसको बनावट अलिक फरक र नारी र पुरुषलाई भनेर फरक डिजाइनमा बनाइएको हुन्छ र लगाउँदा सुहाउने मात्र नभएर शरीरमा मिल्ने समेत हुन्छ । यो फेसन डिजायनरले धेरै अनुसन्धान र मेहनत गरी तयार पारेको हो । त्यसैले नारी र पुरुषले लगाउने कोट प्यान्ट होस् वा सुरुवाल कमिज सबैमा नारीत्व झल्कन्छ र सुन्दर देखिन्छन् ।
त्यसैले, अब यो ढाकाटोपी पनि नेपाली नारीले निक्कै रुचाएर लगाएको देखियो र सायद उनीहरूलाई पनि सोसियल मिडिया मा सेल्फी खिचेर हाल्न मात्र नभई विशेष समारोहमा समेत सहज रूपमा लगाउन सक्ने डिजाइन निर्माण गरे राम्रो होला जस्तो लाग्छ । सायद यो अहिलेको समयको माग पनि हुनसक्छ र फेसन डिजाइनलाई राम्रो आम्दानीको श्रोतसमेत हुनसक्ने देखिन्छ ।
विशेष गरेर नेपाल बाहिर बस्ने हरेक नेपालीले नेपालबाट आउँदा वा कोही आउँदा ढाकाटोपी र नेपालको झन्डा ल्याउन लगाउँछन् र विषेश जमघट वा कार्यक्रममा शानका साथ लगाउँछन् । चाहे शरीरमा जस्तोसुकै लुगा लगाएको किन नहोस् शिरमा ढाकाटोपी लगाइसकेपछि ऊ नेपाली बन्छ र त्यसैमा गर्व महसुस गर्छ ।
साथै यो सजिलो पनि र हरेक नेपालीले आपूmसँग देश विदेश जहि जाँदा पनि लिएर जान सक्ने र जस्तै बेलामा पनि लगाउनु पर्दा लगाउन मिल्ने भएकाले ढाकाटोपीको महत्व अहिले विदेशमा धेरै बढेको छ । तर, नारीहरूले जबसम्म चौबन्दी चोलो, वा साडी चोलो लाउँदैनन् तबसम्म विदेशको कार्यक्रममा यो नेपाली रहेछ भनेर छुट्टाउन सकिँदैन ।
त्यसैले अहिले हरेक नेपालीले शिरमा हिमाल र सगरमाथा बोकेको गर्व ठान्छन् । नेपाली नारीलाई पनि सजिलो र नेपालीको पहिचान देखिने केही भए हुन्थ्यो भन्ने लागेको हुन सक्छ । त्यसैले अब कल्चरल फेसन डिजाइनरले नारीलाई सुहाउने ढाकाटोपी बनाउन सके राम्रो हुने थियो होला ।
अलिक फरक खालको र नारीको सौन्दर्यलाई अझ निखार्ने खालको ढाकाटोपी चौथो अन्तर्राष्ट्रिय टोपी दिवसमा हेर्न पाइयोस यही छ यसवर्षको टोपी दिवस र अंग्रेजी नयाँ वर्षको चाहना । पुरुषले मात्र होइन अब हरेक नारीलेसमेत शिरमा सगरमाथा सिउरेर हिँड्ने गर्व अनुभूति गर्न पाउन् । जय टोपी दिवस ।
– See more at: http://www.souryadaily.com/2016/01/122723.html#sthash.5IZAo9fO.dpuf

    Trending