कविता

पखाल्न नसकेका बिचारहरु

पखाल्न नसकेका बिचारहरु

बागमती आफै धमिलियो
विचारका मैलहरु पखाल्दा पखाल्दै
पबित्र गंगा जलसमेत प्रदुसित भो
उसका विचारका मैल पखाल्दा पखाल्दै
तर उसको मन चोखो हुन सकेन।

मन्दिरमा घन्टी र धुप दिप जलाएर
लाखौ बत्तिको आहुति दिएर
मात्र घन्टीको चारैतिर दुलो पर्यो
बत्तिको आहुतिले दैलोहरु सल्की रह्यो
तर अह उसको बिचार र मन चोखो हुनसकेन।

अझै पनि गडीमाईको मेलामा
सबै भन्दा अघिल्तिर उसलाई देख्छु
र देख्छु बुडा सुब्बा र मनोकामनाको दैलोमा
कहिले रागो, बोका र भाले बलि  चडाउदै गरेको।

बलि चढेका निरिह प्राणीको रगतका सुकेका धब्बाहरु
अहिले प्रस्टै देखिन थालेको छ उसका अखाहरुमा
जहाँ अझै भोका र अतृप्त चाहनाहरु
साउनको भेल जस्तै उर्ली रहेको छ।

त्यसैले त खडेरी परेर चिरिए जस्तै पैताला
हरेक मन्दिरमा टक्क रोकिदा
चारो टिप्दै गरेको परेवा पनि त्रसित भएर उड्छ
कतै आज उसकै बलि दिने पालो त होइन भनेर।

तर अह उसको मनमा भने शान्ति छैन
बेचैन मन र मस्तिस्कले शान्ति पाउदैन
पावोस पनि कसरि ?
रगतको फल्सामा टेकेका पैतालाले
फेरी पनि रगत्नै खोजि रहेको हुन्छ।

शान्ति त त्यहि बलि चड्ने निरिह जीवमा छ
जसको आखामा एक फेर नियाली हेर
उसको हृदयलाई एकफेर छामी हेर
एक जोडी परेवालाई पिन्जराबाट मुक्त गरि आकाशमा उडाई हेर। …

मन्दिरको दलिनमा बसेका लावारिस मनहरुलाई
एक मुठी मन खोलेर दान गरि हेर
र मन्दिरको एउटा कुनामा बसेर
जीवन र मरणको बारेमा चिन्तन गरि हेर
शान्ति र अशान्तिको बारेमा सोची हेर
नैतिकता र कर्तव्यको बारेमा घोत्लि हेर
र संसारको सबै प्राणीलाई एकफेर
आफुलाई जस्तै माया गरि हेर
तिम्रा मनका पाप र विचार आफै पखालिने छन।

Categories: कविता