चोरको भन्दा धेरै साधुको डर लाग्छ

चोरको भन्दा धेरै साधुको डर लाग्छ

बरु मलाई दोबाटोमा लुट्ने चोर भन्दा
खरानी धस्ने साधु देखि डर लाग्छ
चोर त चोरै भयो सबैले चिन्छन
छि छि र दुर गर्छन
तर साधुलाई शिर निहुराई प्रणाम गर्छन
त्यसिले मलाइ त
खरानी भित्रको अनुहार हेर्न रहर लाग्छ
किनकी चोरको भन्दा धेरै साधुको डर लाग्छ।

बरु मलाई रुखो बोल्ने मान्छे मनपर्छ
किनकी उ जे सहि ठान्छ त्यहि बोल्छ
एक पलको लागि यो मन चस्स पोल्छ
तर मिठा कुरा बोल्ने मान्छेले
सुबास छर्ने मैन बत्तीले जस्तै पोल्छ
उज्यालोमा झुमेका छिचिमिरालाई जस्तै पोल्छ
त्यसैले रुखो भन्दा मिठो शब्द देखि डरलाग्छ।

मलाई मन्दिरमा बसेर दान गर्ने भन्दा
एक टुक्रा रोटि बाडेर खाने मनपर्छ
आफ्नो पाप पखाल्न दान गर्ने भन्दा
दस नग्रा खियाएर काम गर्ने मनपर्छ
उ कसैलाई एक टुक्रा दिएर प्रचार गर्दैन
कसैको सित्तैमा खाएर अत्याचार गर्दैन
त्यैले त आडम्बरी दानी देखि सधै डर लाग्छ।

बरु मलाई महलमा बस्ने नेताको भन्दा
पसिनाले नुहाएको जनता मनपर्छ
जुन नेताको भाषणले एकछाक रासन दिन सक्दैन भने
जुन नेताको भाषणले एक मुट्ठी अन्न उमार्न सक्दैन भने
किन चाहियो त्यो पाखण्डी नेताका फुस्रा भाषण ?
किन चाहियो सुर्य र चन्द्र ल्याई दिन्छु भन्ने आस्वासन ?
बरु मलाई त पानीको साटो पसिनाले सिचेको
त्यो मलिलो र उर्बर भूमिको रहर लाग्छ
त्यसैले मलाई जनताको भन्दा नेताको डर लाग्छ।

हो मलाई चोक बजारमा कराएको शोर भन्दा
सभा गोष्ठीमा बोलिने मिठो शब्ददेखि डर लाग्छ
चोक बजारको चर्को स्वरमा आक्रोश हुन्छ
जुन आक्रोश हरेकले प्रस्ट सुन्छ
तर मनै चिप्लाउने त्यो मिठो बोलीमा
को पस्न सक्छ ?
उसले जे बोल्छ त्यहि सहि हो भन्न कर लाग्छ
त्यसैले खस्रो बोलि भन्दा मिठो बोलीको डर लाग्छ।