अमेरिकामा त्यतिबेलाको र अहिलेको दशैँ – अतितलाई फर्केर हेर्दा

IMG_4309

अमेरिकामा त्यतिबेलाको र अहिलेको दशैँ – अतितलाई फर्केर हेर्दा

विदेशमा दशै वा कुनैपनि चाड पर्ब एक्लै वा घर परिवार, आफन्त देखि टाड़ो बसेर मनाउनु नपाउँदा वास्तवमै कहाली लाग्दो र अनौठो हिउदो रहेछ। त्यस्तै भएको थियो मलाई पनि अमेरिका आएका केहि बर्ष सम्म। त्यसबेला परिवार आएको थिएन एक्लो थिए। घर परिवार आफन्तहरु कल्पनै गर्न नसक्ने सन्सारको पल्लो भागमा थिए। भनौ पाताल लोकमा एक्लै काम र फोनमै मनाएको थिए दशै र थुप्रै चाड पर्वहरु। उनीहरु रमाइलो गरिरहदा आफु यहाँ सुतेको हुन्थे र यहाँ आफु उठेर केहि गर्दै गर्दा वहा सबै सुति सकेका हुन्थे, एक बर्ष सम्मत निक्कै अनौठो लागेको थियो यो भूगोलको खेलमा।
ति अतितका दिनहरु समझदा आजपनि कहाली लागेर आउछ । खै कस्तो ठाउ र सहरमा आएर बसिएछ त्यसबेला । त्यसबेला आफु आएर बसेको अमेरिकाको एउटा सानो राज्य रोड आइलेण्डको पनि एउटा सानो सहर इस्ट ग्रीनवीच जहाँ सात महिना सम्म पनि तेश्रो नेपाली देख्न पाइएन। अमेरिकाको सबैभन्दा सानो क्षेत्रफल भएको र आठौ थोरै जनसख्या भएको राज्यमा कसरि सात महिना बिताइयो अहिले सोच्दा पनि अचम्म लाग्छ । हुन् त् यो राज्यको आफ्नै ऐतिहासिक महत्व छ , ब्रिटिश साम्राज्यबाट ४ मई १७७६मा स्वतंत्र हुने पहिलो र सानो राज्य हो रोड आइल्याण्ड । अमेरिकी हरेक राज्यको आफ्नै एउटा बिसिस्त पहिचान सहितको नाम छ जस्तै क्यालिफोर्नियालाई “Golden State”स्वर्ण राज्य भनिन्छ भने यसलाई “The Ocean State”, समुद्री राज्य भनिन्छ। यसको पश्चिममा कनेक्टिकट र उत्तर र पूर्बमा मासाचुसेट राज्य अवस्तित छ। यसको कुल क्षेत्रफलको १४ प्रतिशत समुद्री सिमाना ओगटेको छ र न्यू योर्कको लांग बीच सित दक्षिण पश्चिमी भूभागको सिमाना सित जोडिएको छ। आफु बसेको इस्ट ग्रीनवीच राज्यको मध्यभागमा एउटा पुरानो सहरको रुपमा अवस्थित थियो जसको जनसंख्या २०१० मा पनि मात्र तेरह हजारको हाराहारीमा छ, जबकि हामि हालै बसेको यस उत्तरी क्यालिफोर्नियामा अनुमानित १५,००० नेपाली रहेको अस्पुस्ट जानकारी छ । त्यस्तो स्थानमा अर्को नेपाली परिवार पाउनुत वास्तवमै असम्भव लाग्थ्यो। सायद अहिले धेरै नेपालीहरु पुगी सके होलान बिसेष गरेर प्रोभिड़ेन्समा केहि नेपाली बिद्यार्थी र परिवार रहेको थियो जुन अहिले बढेर धेरै भएको हुनु पर्छ।
वास्तबमै कस्तो थियो होला ति दिनहरु ? अहिलेत मात्र सम्झनाको तरेलीमा बसेकाछन ति दिनहरु , त्यो अबिस्मरनिय क्षणहरु। हो म र म संगै नेपालबाट आउनु भएको एक जना मेरो आदरणीय दाई भनेपनि अभिभावक भनेपनि ति दिनहरुमा मसंगै हुनुहुन्थ्यो। हरेकदिन सुख दुखका कुरा वहा संगै बाडीन्थ्यो। धेरै दिनहरु वहा संगै हिउको पर्खाल चिर्दै कहाली लाग्दो चिसो बाटोहरुमा हिडियो , धरै पल्ट एटलान्टिक महासागरको किनारै किनार गन्तव्यहीन भएर हिडियो। कहिले बन जंगलै लालिमय भएर रंगिएका मेपलका पातहरुलाई पैतालाले कुल्चदै रमाउने असफल प्रयासहरु गरिए तर यहाको भौतिक सुख सुबिधा र सम्पन्नताले यो मनलाई कहिले जित्न सकेन। यो मनत त्यहि आफ्नो देशको माटो खोला नाला र खेतबारीमा झुमी रहन चाहन्थ्यो। सधै यो मनले आफ्नोपनको खोजि गरिरहेको हुन्थ्यो भने कमसेकम कोहि आफ्नै भाषा बोलने समेत भेटिए घरै पुगेको अनुभूति हुन्थ्यो। सायद त्यसैले होला कहिले एक्कासी जाउ बोस्टन घुमेर आउ भनेर बोस्टन हानियो त कहिले न्यु योर्क र न्यु जर्सी सम्मको यात्रा गरियो। तर फर्केर आउनु त त्यहि एकान्त र कुनै नेपाली नपुगेको सहरमा गएर बस्नु थियो । अहिले समझदा त्यहाँ बिताएका सात महिना क्यालिफोर्नियामा बिताएको तेरह बर्ष भन्दापनि लामो र आतेस लाग्दो लागेर आउछ।
दिसम्बरको महिना थियो दिनभरिनै हिमपात भै रहेको थियो, केहि अमेरिकी साथीहरु र त्यहाँ बस्दै लादा केहि चिनेका परिवारहरुले क्रिसमसको तयारि गरिरहेका थिए र हामीलाई पनि सहभागी हुन् आमन्त्रित गरिएको थियो तर आफु भने कहिले यहा बाट अन्तै बसाई सरौ जस्तो भएको थियो।
एक दिन अचानक खै के सोच आयो मैले दाइलाई भने, “ हैन यसरि यस्तो ठाउमा कसरि कति दिन के को लागि बस्ने जाउ अन्तै भन्दा वहा मुसुक्क हास्नु भयो र “ल सुतौ आज भोलि यसबारेमा कुरा गरौला ”, भन्दै बत्ति निभाएर मलाइ पनि सुत्ने आदेस दिनु भयो। तर मलाइ भने बिहान पख सम्म पनि निन्द्रा लागेन बाहिर चिसो बतास संगै त्यस बर्षको हिमपात सुरु भै सकेको थियो। अह भोलि निर्णय गरेरै छोड्छु बरु एक्लै जान परे पनि जान्छु यो आतेस लाग्दो ठाउमा जत्तिनै राम्रो काम र दाम भएपनि बस्दै बस्दिन , एक बस्दिन, दुइ बस्दिन तीन. अचानक पल्लो कोठाबाट आवाज आयो “हन के भयो ? कहाँ बस्दिन भनेको ? किन नसुतेर रातभरी बर्बराएको ? भन्दै दाई कोठामा मा आउनु भयो र आफुलाई पनि निन्द्रा नलागेको जानकारी गराउनु भयो। म उठेर ए त्यसो हो भने कफी पिउ भन्दै किचेनमा गएर कफी बनाउन थाले र घडी हेरेको  तीन बज्नै लागेछ , ए बिहान पो हुन आटेछ भन्दै कफी को चुस्की लिदै मैले सोधे, “ अनि के गर्ने जाने होइन ?”
“जाने हो भने जाउन त तर कहा जानेनी एक्कासी? केन्टकी छोडेर बोस्टन आइयो त्यो पनि छोडेर यहाँ खै कस्तो ठाउमा आइयो अब कहा जाने ?”
अचानक मलाइ फोन उठाएर क्यालिफोर्निया फोन गर्न मनलाग्यो जहाँ आफ्नै गाउको चिनेका दाईहरु हुनुहुन्थ्यो ल एकछिन है अहिले क्यालिफोर्नियामा  सायद अहिले दाई कामबाट आई सकेको हुनुपर्छ , तीन घन्टाको समय फरक हुनाले सायद अहिले सुति सक्नु भएको छैन होला ,  फोन गर्न थाल्छु एसो हाइ हल्लो गरौ बरु, भन्दै फोन गर्न थाले , कुरा कुरैमा उताबाट हरियो सिग्नल आयो , “ ल आउने हो भने आऊन त मेरोमा बस्दा भै हाल्यो काम भने जत्ति पाइन्छ नेपालीहरु पनि फाट्ट फुट्ट भेटिन्छन यहा। तिमि बसेको जस्तो होइन फेरि हिउपनि पर्दैन”, भन्दै धेरै बेर सम्म कुरा भयो र मैले भने, “ ल भरे फोन गरेर टुंगो गर्छु है !” भनेर फोन राखी दिए।
फोन राख्दै भने , “ दाइले उतै आउ भन्दै हुनुहुन्छ के गर्ने ? दुवै जना दोधारमै सोच्दा सोच्दै काममा जाने बेला भयो र हामि आआफ्नो काम तिर लाग्यौ। फेरि मेरो दाजु भाउजु पनि क्यलिफोर्नियानै आउने कुरा छ बरु उतै जाउ केहि होला कि भन्दै मैले क्यालिफोर्निया जाने पक्का निर्णय सुनाए र दाइले पनि जाउन त् उतै भन्दै कामतिर लाग्यौ।
बेलुका आफ्नो डेरामा पुग्दा कोठाको बत्ति बलि रहेको रहेछ भित्र पसेको त मिठो मिठो परिकारको बास्ना आउदै रहेछ , “ ए दाई त चाडै आउनु भएछ त! भन्दै जुत्ता खोल्न थाले अनि वहाले कफी दिदै , “ ए अ आज चाडै आए बजारबाट मासु पनि लिएर आएर र पकाइपनि सके तिमि कति खेर आउने हो भनेर बाटो हेर्दै बसी रहेको थिए, कफी पिउने होइन बाहिर कस्तो चिसो छ भोलि त् झन् धेरै हिउ पर्छ अरे, समाचारमा भनेको।
वहाले कफी मेरो अघि सारी दिनु भयो। म केहि बोलिन एक घुट्को कफी पिएर बाथरुमतिर लागे, फ्रेस भएर निस्कदा खाना टेबलमा लागि सकेछ र खाना खानेकी एकछिन बस्ने भन्दै वहा मेरो छेउमै आउनु भयो।
अनि के निर्णय गर्यौ तिमीले , मैले त भोलि देखि काममा आउदिन इमर्जेन्सी परेर बाहिर जानु छ भनेर बिदा र पैसा लिएर आए। क्रिसमसको बिदा परेकोले होला छुट्टी पनि पाइहाले। उनि भन्दै हुनुहुन्थ्यो।
“अब जाउ यहाबाट यो सहरमा कति बस्ने ?” , म छक्क परे कुरा म उठाउने र हिड्न हतार वहा गर्ने ?सायद मलाई भन्दा पनि वहालाई यस सहर छाड्न हतार रहेछ तर भन्न मात्रै न सकेको अड्कल काटे। ल त्यसो हो भने “डन होइन त ?” दुवै जना डन भन्दै गलल हास्न थल्यौ , त्यतिन्जेल सम्म अर्को कोठामा बस्ने भारतीय मुलका साथीहरु पनि आएर पन्जाबी गीतको तालमा बोतल नचाउन थाले। खाना खाएर सुत्ने तरखर गर्दा गर्दै भोलि वा पर्सि यहाबाट हिड्ने निर्णय गरेर आआफ्नो कोठमा लाग्यौ र त्यसको तीन दिनपछि क्रिसमस थियो र अन्तमा अन्तिम पल्ट सबैसित क्रिसमसको पार्टी सकेर बिदा लिएर जाने निर्णय भयो र क्रिसमसको पार्टीमा सबैलाई जानकारी गराइयो । मैले भने ,” हामीहरु अब यहा बाट क्यालिफोर्निया जादैछौ” सबैले सुभकामना र बिदाई को दुइ शब्द साथै क्रिसमसको उपहार साटा साट गरियो । त्यसपछि हामि दुवैजना सदाको लागि रोड आइल्याण्ड छोडेर नया सोच, नया जोश र नया सपना बोकेर क्यालिफोर्निया जाने तरखर गर्न थाल्यौ । अचानक खै के बिचार आयो कुन्नि प्लेनमा होइन गाडीमा अमेरिकालाई एकपल्ट नजिकबाट हेर्दै जाने सुर कसियो र ग्रेहाउण्ड को टुर प्याकेज लिएर पाच हजार किमिको यात्रा दिसम्बरको अन्तमा गरियो र नया बर्षमा मात्र सन् फ्रान्सिस्को सहरमा आइपुगियो। त्यो लामो यात्राको बर्णन अर्कै लेखमा यहाँहरु समक्ष राख्नेनै छु जुन निक्कै रोमाञ्चक र जोखिमपूर्ण रह्यो कारण बाटोभरी हिमपातले ढाकेको सडकमा त्यति लामो यात्रा गर्नु आफैमा एउटा रोमान्चक र चुनौती पूर्ण घटना थियो।

आज घटस्थापना बिहानै जमरा राख्दै गर्दा फोनको घन्टी बज्यो उही दाई हुनु हुदो रहेछ , बिजया दशमीको सुभकामना भन्दै बेलुकी घरमा आउने निम्तो दिदै भन्नु भयो, “आज खसी लिन जान लागेको जाने होइन ?” “होइन दाइ मैले त हिजै लिएर आई सके, अहिले एति धेरै नेपाली जनसंख्या बढेको छ, भने जस्तो खसी न पाइयेला भनेर श्रीमतीले हिजै जाउ भनेर हामीले त ल्याई सक्यौ”, भने, “ल राम्रो भयो हामि हिड्न लागेको भरे भेटौला”, भन्दै फोन काटियो।
समय कति चाडो बित्दो रहेछ यो बिदेशमा , खै अबत सपरिवार एतै बसियो , इस्ट मित्र सबै एतै हुन् थाले , आफ्नो जे भने पनि सबै एतै छन् अब त। दसैँ तिहार , तीज , लोसार छट सबै यहि मनाइन्छ , बिहा ब्रतबन्ध कर्म काण्ड सबै एतै हुन्छ, बिभिन्न संघ संस्थाहरु खुले र हरेकले केहि नकेही कार्यक्रम गरिने रहेका हुन्छन, नेपालबाट आफन्तहरु आउने जाने नेता देखि कलाकारहरु समेत आउन थाले। थाहै नपाई यहीको परिवेशमा घुलमिल हुन् थालियो। भनौ एक प्रकारले एउटा सानो नेपालनै बनिसकेको छ यहाँ। अहिले त् झन् सबै मिलेर नेपाली कम्युनिटी सेन्टरनै बनाउन लागि परेकाछन। हालै मात्र मह जोडीको दशैँ कार्यक्रम मह जात्रामा करिब अठार सय नेपालीको उपस्तिती रहेको आयोजक समितिले जानकारी गराएका छन्।

अहिले र त्यसबेलाको दिनहरु समझदा आफैलाई अचम्म लागेर आउछ। नेपालबाट भर्खर आएको त्यो दिनहरु र अहिले सपरिवार बिताएका यि दिनहरु समझदा आकाश र पातालको फरक लाग्छ । अहिले हाम्रै आफ्नो दाजु भाइको दुइटा परिवार र साथी भाइका सयौ परिवार भइ सकेका छौ। अचेल महिनौ दिनसम्म तीजको रौनक चलि रहन्छ , सामुइहिक ब्रतबन्ध, म्ह पुजा , साकेला देखि देउसी भैलो र आफ्नै संस्कृति अनुसारको अनुष्ठान र पुजा आजा र बिबिध कार्यक्रमहरु भइनै रहन्छ। यहि दशैमा र तिहारमा मात्रै पनि धेरै ठाउ इस्टमित्र मान्न जानु पर्ने छ। यस्तैछ अहिले यहाको परिवेस र नया नेपाली समाज को बिकाश क्रम।

त्यसबेला मसितै बस्ने दाइले पनि कहिले आउ म दशैको टिका लगाई दिन्छु भन्नु भएन र मैले पनि एसो अछेता मुछेर मेरो निदारमा लगाई दिनुन भन्न सकिन तर अहिले हरेक बर्ष वहाको परिवारले बोलाउछ्न र दशैँमा टिका लगाई दिन्छन। कान भरि जमरा सिउरी दिन्छन। यस्तो वातावरण अहिले जता ततै देखिन थालेको छ ।
वहा मेरो सधै आदरणीय र अभिभावक हुनुहुन्छ र वहाले पनि एउटा भाइलाई जस्तै माया गर्नु हुन्छ र हरेक कुरामा साथीलाई जस्तै व्यवहार गर्नु हुन्छ । सायद त्यसैले होला हाम्रो मित्रता भनौ या आफ्नो पन सधै कायम रहेको छ । वहा आफनै व्यवसाय गर्नु हुन्छ म आफ्नै तर पनि हामीमा यो कस्तो आत्मियता छ म बयान गर्न सक्दिन। हुन त कहिले काही आफ्नो काम र व्यस्तताले महिनौ दिनसम्म पनि हाम्रो भेटघाट हुदैन। तर हरेक चाड पर्वमा दुख सुखमा हामि संगै हुन्छौ।

समयले कोल्टे फेर्दै गयो, दिन, महिना, बर्ष हुदै अवत दसकनै बिति सक्यो यहा आएर बसेको पनि। थाहै नपाई अमेरिकामा सबै भन्दा धेरै मित्रता र सम्पर्कनै कमाईयो जस्तो लाग्छ , ख्याल ख्याल र रहरै रहरमा थाहै नपाई आठ बर्ष निरन्तर रुपमा हम्रोसमाज.नेट अनलाइन पत्रकारिता चलाइयो र धेरै पुरस्कार, प्रशंसा पत्रहरु र धेरै नेपाली कलाकार देखि नेताहरु समेतको अन्तर्वार्ता लिईयो । अमेरिका को सबै भंद्र पुरानो रास्ट्रीय संस्था ए एन ए को स्मारिका देखि लयान्स क्लब हुदै स्थानीय छ बटा विभिन्न संघ संस्थाको स्मारिका सम्पादन र प्रकाशन गरियो। दुइ बर्षको अन्तरालमा आफ्नै कबिता संग्रह र नेपाली परिकारको अंग्रेजीमा पुस्तक नोबेल पुरस्कार विजेताहरुको हातबाट सम्भवत नेपाली साहित्यमा पहिलो पल्ट बिमोचन समेत गराइयो र एउटा गीति एल्बमको समेत प्रकाशन गरियो। जसले गर्दा देश र बिदेशमा बसेका नेपाली समुदायको केहि अंशले चिन्ने भईयो, चाहे त्यो अनलाइन र भर्चुवल संसारनै किन नहोस। अहिले आफनै इमेल र फेसबुकको भित्ताहरुलाई नियाल्दा, विश्वका हरेक देश जहाँ नेपाली पुगेका छन् सायद एकाघ देश बाहेक प्राय सबै देशबाट फेसबुक, स्काइपी , भाइबर र इमेलमा विजया दशमीको शभकामनाको ओइरो आई रहेको छ, धन्य छ यो आधुनिक गुगल र सामाजिक संजालहरु जस्ले चिन्दै नचिनेको र जिवनभर कहिल्यै भेटनै नसक्ने र नभेटकाहरुलाई पनि एउटै संजालमा समेट्न सफल भएको छ। यस बर्षको दशेै लाग्न नपाउदै सुभ कामणाको ओइरो लागेको छ र त्यसलाई नियाल्दा नियाल्दै दिन वितेको पत्तै पाईन ।

अचानक श्रीमतीले, “ हन आज काममा नजाने ? त्यहि कम्प्युटरमा टोलाएर बसीरहने”, भन्दा पो ए ल हिड्न म त तिमीलाई नै पर्खि रहेको थिए भनेर बहाना बनाउछु । तिमि तयार भएकी छैनौ जस्तो लागेर एसो इमेल चेक गर्दै थिए। अ कति कुरा आएको एक घण्टा भै सक्यो हजुरको फेसबुक स्टाटसमा अनलाइन देखेको। खुब कम्प्युटरमा काम गरेको जस्तो गरेर मलाइ पर्खेको भन्ने।
ल ल हिड म आए भन्दै कम्प्युटर बन्द गरेर बहिरिन अघि सबैलाई एक मुस्टमा बिजया दशमीको सुभकामना लेखेर सबै सामाजिक संजालहरुमा कपि पेस्ट गरेर बहिरिन्छु। गाडी स्टार्ट गरेर कामतिर लाग्दा पनि मनभरि अमेरिका आउदा खेरिको त्यो उराठ लाग्दो दिनहरु र त्यसबेलाको दसैँ र अहिलेको दशैलाई सम्झी रहेको हुन्छु भने श्रीमती टेक्सासमा रहेको आफ्नो दिदिसित फोनमा दशैको बारेमा कुरा गरिरहेकी हुन्छिन। म पनि मनमनै खुसि हुन्छु अहिले कमसेकम एतिका बर्षपछी भने दशैमा अमेरिकैमा भएपनि रमाउन थालेकी छिन न नत्र त हरेक चाड पर्वमा गुनासो मात्रै सुन्न पर्थ्यो।