कसरी मनाइदै छ अहिले हरतालिका तीज ?

अहिले तीज नेपाली समाजमा संस्कृति कि बिकृति ?

ध्रुव थापा, क्यालिफोर्निया

नेपाली समाजमा तीज एउटा उत्सवको रुपमा भन्दा पनि सामाजिक र आर्थिक पिडालाई बडी उजागर गर्ने गीतहरु गाएर महिलाहरुले आफ्नो मनमा लागेका कुराहरुलाई गीतको भाकामा ब्यक्त गरेर मनाउने प्रथा प्राचिन कालदेखिनै चलि आएको छ। यस दिन नेपाली नारीले आफ्नो  अटल सौभाग्यको लागि उपवास बसी भगवान शिवको पूजा आरधना गर्ने प्रचलन छ । पौराणिक हिन्दु कथाअनुसार देवी पार्वतीले यो ब्रत बसी भगवान् शिवलाई पतिका रुपमा पाएको उल्लेख छ । तिजको अघिल्लो दिन दरखाने दिनका रुपमा प्रचलित छ ।  तिजको दिनमा निरजल र निराहार ब्रत बस्नुपर्ने भएकाले मध्यरात सम्म  घर परिवारका नारी सदस्यहरु मिलेर   मिठो-मिठो  परिकार विभिन्न व्यञ्जन तयार गरी दर खाने  चलन छ  ।  बिहे गरेर गएका छोरी चेलीलाई   माइतीमा बोलाएर  तिज वा दरखाने खुवाउने चलन नेपाली समाजमा चलि आएको छ । मध्यरात सम्म जाग्रम बस्नु पर्ने भएकोले नाच गान गर्दै यसलाई मनाइन्छ र तीजमा गाउने गीतको पनि आफनै महत्व र मर्म लुकेको हुन्छ

तीजमा गाइने त्यस्ता गीतहरुले सबैको मन छुन्थ्यो र नारि पुरुषमा रहेको जुन भिन्नता र विसंगतिहरु थिए, त्यसलाई इंगित गरेको हुन्थ्यो । जसको ज्वलन्त उदाहरण केहि तीजका गीतहरुबाट हामीले पाउन सक्छौ। त्यसबेला नारी अधिकार र समानताका कुरा हुदैन थियो र नारीलाई चुला चौका देखि बाहिर निस्कन समेत दिदैन थिए । त्यसैले बर्षमा एक दिन भएपनि पुरुषको पुजा गर्ने बहानामा मनका कुण्ठा र दुखलाई ब्यक्त गर्ने माध्यमको रुपमा तीजलाई मनाउने र गाउने गरिएको हुन् सक्छ । त्यस समयका परिवेशमा महिलाहरुमा यो यो एउटा ससक्त मध्यम थियो। उनीहरुमा अहिलेको जस्तो स्वतन्त्रताको थिएन । आफ्ना भावणा र कुण्ठलाई साटासाट गर्ने माध्ययम पनि केहि थिएन। अन्धविश्वास , अशिक्षा र अज्ञानताका कारण हरेक घरका महिलाहरु माथि सासु, ससुरा तथा नन्द आमाजुले पनि अनावस्यक यातना दिने हुदा यहि वर्ष दिनको चाडमा मनको वह फुकाइ नाचेर वा गाएर रमाइलो गर्ने गर्दथे । कमसे कम बर्षमा एकदिन भएपनि रमाइलो गर्ने चाडको रुपम लिइन्थ्यो तीजलाई जसको ज्वलन्त उदाहरण तल दिएका तीजको गीत ले प्रस्ट पार्छ….

छोरीलाई सिन्की नातिलाई खट्टे ज्वाँइलाई घिउ दिएर
बेलै र माथि फर्कनु भोलि छोरीलाई लिएर

पोहोर साल को तीजमा माइत जान पाइन
यसपाली को तीजमा त जान्छु बरिलै ,
बुडा भएका बाबा आमा अनि संगी साथी भेट्छु बरिलै /

छोरालाई दिनदिनै माष्टरको काखमा
हामीलाई दाउरा, घाँस वन पाखामा ।
…………………………………..
भाइलाई भने बाबाले कापी किताब किन्दिने
मलाई भने बाबाले डोको बुन्दिने ।।
तीज आयो भन्छन् सबै माइत जान्छन
छोरी अभागिनी कसका माइत जाऊँ ?

तर अहिले आएर यो एउटा फेसनको रुपमा त बिकाश भइ रहेको छैन? जसरि पछिल्ला समयमा विश्वको हरेक देशमा नेपाली समुदाय विश्वको हरेक कुनामा पुगेर बसेका छन् जस्तै अमेरिका, क्यानाडा, यूरोप, अस्ट्रेलिया र खाडी मुलुकहरुमा तीज नेपालमा भन्दा पनि धेरै र महिनौ दिनसम्म मनाउने चलन बढेको छ।  हरेक अनलाइन पत्रिका र सामाजिक संजालमा तीज आउनु एक महिना अघि देखिनै तीजको कार्यक्रमले सबै पन्ना रातै भएको देखिन्छ।  यो एउटा गर्वको बिषय पनि हो हामी विश्वको हरेक कुनामा बसेता पनि आफ्नो रिति रिवाज र संस्कृतिलाई बचाई राखेका छौ।  तर यो ब्यवस्तित, सालिन र मर्यादित हुनु जरुरि छ, त्यहाँ रहेको संघ संस्थाले यसलाई एउटा चाडको रुपमा एकै दिन भव्यरुपमा मनाए धेरै राम्रो हुने देखिन्छ र यसको तडक भड्कले महिनौ दिनसम्म नारि र उसको परिवारलाई दिक्क न होस् ताकि भविस्यमा यसको महत्व र आकर्षण कम हुदै नाजावोस।   तर अहिले आएर तीजको नाममा एक महिना अघि देखिनै नेपाल र बिश्वको हरेक कुनामा छरिएर बसेका नेपाली समुदायमा तीज एउटा उत्सवको रुपमा मनाउने चलन बनेको छ । महिनौ दिन सम्म डीजे को तालमा , नाना थरिका गीतहरुमा नाचेर, खाएर यस्तो फलदायी समय खेर फल्ने गरिएको छ । यो एउटा होड बाजिनै बनेको छ नेपाली समाजमा, अहिलेपनि तीज हुने खाने र सहर र बिदेशमा बस्ने उच्च आर्थिक श्रोत भएका हरुलाई रमाइलो र दुर्गम र आर्थिक रुपमा बिपन्न भएका नेपाली महिलाहरुलाई अभिसाप बनेको छ ।

अहिलेको महंगाईमा के नेपालका हरेक नेपाली महिलाले तीज महिनौ दिनसम्म ताम झामको साथ मनाउन सक्छन? एक छाक जुटाउन गाह्रो भएका महिलालाई तीज मनाउन रहर छैन होला र ? के चाड पर्व, जात्रा, उत्सव भनेको हुने खानेलाई मात्र हो ? नेपालमा अहिले पनि हुने खाने भन्दा हुदा खाने को संख्या धेरै छ त्यसैले हुदा खानेले कसरि मनाउने एक एक महिना सम्म तीज को रम झम? के यस बिषयमा कुनै संघ संस्था वा नारि उत्थानमा काम गर्ने महिलाहरु स्वयले सोचेका छन् होला त ? अब तीजलाई देश काल र परिस्थिति अनुसार सुहाउदो तारिकमा मनाउन सक्नु पर्छ जसले सामाजिक मूल्य मान्यता र गरिमालाई बचाई राख्न सकोस नकि एक अर्काको देखि सकी गर्दै प्रतिस्पर्धाको भावणा ले उ भन्दा म के कम उसले यस्तो गर्छ भने म उस्तो गर्छु भनेर गर्नु हुन्न, सामुहिकहित हुने सबैले मनाउन सक्ने हुनुपर्छ अब हाम्रो चाड पर्व र संस्कृतिहरु।

अहिले तीज नारी मुक्ति, नारी स्वतन्त्रता वा नारी अधिकारको लागि नभएर नारीमा कुण्ठा, हिनताबोध बढाउनतिर अग्रसर त भै रहेको छैन? के वास्तबमै यो चाड सहि रुपमा मनाइंदै छ त ? यो सब सोच्ने बेला आएको छ नत्र यसले समाजमा धेरै बिकृति र विसंगति भित्राउन सक्ने छ…. यो चाड सहरिया र उच्च आर्थिक प्रदर्सन गर्ने मध्यम बन्नु हुदैन , यसले हाम्रो समाजमा र नारीमा बिभाजन र हिनताबोध ल्याउनु हुदैन जसले गर्दा कुनै नारीलाई हरेक हप्ता नया पहिरन र गहना किन्न बाध्य नपारोस, सक्नेले दिनै नया पहिरन र गहना प्रदर्शन गर्न सक्छन तर नेपाल जस्तो आर्थिक कम्जोर भएका आधा भन्दा धेरै नारीहरुलाई के यो सम्भव हुन्छ ? “हुँदा” खानेहरुका लागि चाडपर्बहरु अभिशाप हुनु हुदैन । अहिलेका आधुनिक नारीहरु र हुनेखानेहरु तडकभडकमा विश्वाश गर्छन। मध्यम बर्गियहरु लोकाचारका लागि ऋण खोजेर भए पनि परिवारको ईच्छा पुर्‍याउन वाध्य छन भने निम्न बर्गकाहरु यो चाड पर्व एउटा जटिल समस्या बन्दै गइ रहेको छ, यिनै बिकृतिहरुको कारण जन्मेका हुन समाजमा दण्डहिन्ता, भ्रस्टाचार, अपराध, लुटपाट र चोर डकैतिहरु । जुन नेपालमा हरेक चाड पर्वको समयमा अत्यधिक रुपमा बढेको विभिन्न पत्र पत्रिकाहरुमा हुने गर्छ।

समाजमा लोकाचार र आफुलाई सक्षम र हैसितावाला देखाउनकै लागि कालो बजारी र घुसखोरी तन्त्र हाबी भइ रहेको छ। अहिले हरेक चाड पर्बमा फलानोको श्रीमतीले एती तोलाको गहणा र एति मुल्यको साडी लागएको थियो भन्ने चर्चाले प्राथमिकता पाएको हुन्छ । उ भन्दा आफु के कमि ठानेर ऋणपान गरेर हुन्छ कि लोग्नेलाई भ्रस्टाचार वा घुस लिएर हुन्छ श्रीमतीको चाहना र पुरुषत्व जोगाउन भए पनि “म पनि किनी दिन्छु नि” भन्ने पुरुषहरुले अपराध गर्न वाध्य भएका घटनाहरु पनि प्रसस्तै भेटिन्छन।
गाउ घरका अशिक्षित र सधै भरि घरव्यवहारको वोझमा थिचिएका महिलाहरुले के यसरी तीज मनाउन सक्छन ? के हलो कोदालो र किषानले आफ्नो श्रीमतीलाई त्यस्तो महँगो गहना र लत्ता कपडा किनिदिन सक्छन त ? यो खोक्रो अडम्बरले हाम्रो समाजलाई कुन दिशातिर लगी रहेको छ यो एउटा गम्भीर प्रश्न हो?

मेरो आसय तिज वा कुनै चाड पर्वको बिरोध होइन यो त हाम्रो संस्कृति हो यो त हाम्रो पहिचान हो र यो सब भुले हामीले हामीलाई नै भुल्ने छौ , तर कुनै पनि चाड पर्व मनाउदा सामाजिक र आर्थिक पक्षलाई ध्यानमा राखेर गरे राम्रो हुनेथ्यो भन्ने आसय मात्र हो यस पंक्तिकारको। हुनत केहिले यो नारिहरुमाथि ज्यादती हो समेत भनेकाछन तीजलाई तर नकारात्मक सोच मात्रै राख्नु ठिक होइन सकारात्मक सोच र विचार राखेर सामाजिक मर्यादामा रहेर हामीले हाम्रो संस्कृति मनाउनु पर्छ।

हो हामी बिदेशमा बसेका लाई त झन यो अतिनै महत्वपुर्ण कुरा हो किनकि यहि संस्कृति र चाड पर्व हामीले हाम्रा बिदेशमा हुर्किदै गरेका सन्तान लाई सिकाउनु पर्छ तर सिकाउदा जहिले पनि राम्रो कुरा र राम्रो ज्ञान दिन जरुरि हुन्छ, यो चाड एउटा फेसन परेड होइन । सुन्दरी प्रतियोगीता पनि होइन यो त नारीहरुले मनाउने एउटा पबित्र र गरिमामय चाड हो यसमा नारिले पाउने बर्ष दिनमा एकदिन भए पनि स्वतान्त्रतो को संग्राम हो । अब यो चाडले नया रुप लिन जरुरि छ , नया ढंग बाट मनाउन जरुरि छ , यो एउटा नारि दिवसको रुपमा मनाउन जरुरि छ जसले गर्दा नारीलाई सिक्षा, ज्ञान र अन्धविश्वास जस्तो बिषयमा चर्चा बहस गरेर मनाउने गर्नु पर्छ , नारीले भोगेका सामाजिक, आर्थिक, र ब्यवारिक र घरेलु हिंशा जस्तो बिषय बस्तुलाई समेट्न जरुरि छ।

यहि चाडलाई र तीजका गीत हरुलाई हेर्ने हो भने त्यहाँ मनोबैज्ञानिक रुपमा महिलालाई आफुमा हुदै आएका घरेलु हिंशा, असमानता र भेदभावका बिषय लाई केन्द्रित गरेर तीज का गीत गाएका छन्, त्यस पक्ष लाई हेर्ने हो भने यो एक बिद्रोह हो पुरुष प्रदान समाज प्रति, यो एउटा व्यंग्य हो पुरुषलाई उच्च देखाएर मनको भावणा अभिव्यक्त गर्ने… त्यसैले यसलाई मानो बैज्ञानिक दृष्टिकोणबाट हेरेर यसका राम्रा पक्षलाई उजागर गर्न सक्नु पर्छ। यसलाई समाज सास्त्रीय सन्धर्बमा ब्याख्या र चर्चा हुनु जरुरि छ। यो नारि जागरण, नारि मुक्ति र नारि अधिकारका कुराहरु छन् भनेर सिकाउन सक्न सक्नु पर्छ …. राम्रो लाई अंगाल्ने र नराम्रोलाई पन्छाउन सक्नुनै कुनै जाति समुदाय वा समाजको उत्थान हो … “२१ औं शताब्दी मा आएर पनि विश्वले नारि पुरुषलाई समानताको अधिकार दिएको अवस्थामा नेपालमा भने सिक्षा र रुडिबादी विचारकै कारण नेपालको तथ्यांक अनुसार ५१ % संख्या ओगटेको नारीहरु अहिले पनि ज्यादै तल्लोस्तरमा बाच्न विवश छन् , केहि नारीले समानता र अधिकार पायो भन्दैमा रमाई हाल्ने स्थिति छैन, अहिले पनि महिला दिदीबहिनीका दुःख, पीडा, वेदना र मर्मलाई उजागर गर्न निकै कसरत गर्नुपर्ने अवस्था रहेको छ । वास्तवमा महिला भएकै कारण कतिपय कुराहरुबाट बन्चित हुनु नेपालको परिपेक्षमा गाउंमा मात्र होइन सहरमा पनि एउटा दुःखदायी कुरा हो ।

अहिले पनि नारीमा हुने घरेलु हिंशा हत्या, अङ्गभङ्ग, लुटपाट, रखैल राख्ने, चरित्र हत्या, वेश्यावृत्ति, चेलिवेटी बेचविखन, शारीरिक यातना, मानसिक यातना, कुटपीट, गाउ निकाला, झुठो आरोप, गाली बेइजती, यौन दुर व्यवहार जस्ता समस्या आम नेपाली महिलाहरुको लागि साधारण भइ रहेको छ । बरु यस्ता बिषय बस्तुलाई समेटेर तीज का गीतहरु बजारमा आउन जरुरि छ. … बरु त्यसबेलाका नारीहरुले आफ्नो दुख बेदना गीतको माध्यमबाट पोख्थे भने अहिले तीजको गीतमा कस्तो सब्द र भाव आउन थालेको छ यसको ब्याख्या गरिनसक्नु छैन ।गीतकारले गीत श्रीजना गर्दा पनि आफ्नो सामाजिक दायित्व लाइ ध्यानमा दिए तीजको महत्व अझ बढ्ने थियो होला र एक्काईसौं सताब्दिमा तीज चाड को महत्व बढ्ने थियो होला जसमा नेपालका सर्जकले नेपाली महिलाको पिडा र बिदेशमा बसेका र भोगेका सर्जकले बिदेशम नारीले भोगेका समस्या, यातना हरुलाई गीतको रुपमा ल्याएर सामाजिक क्रान्तिको संखघोष गर्न सके तीजको महत्व कस्तो हुन्थ्यो होला?

“…..पौइला जान पाउ……” वा”

पौइला जान पाउ भन्ने लाइ मैले लान पाउ”

भनेर गाइने गित के वास्तबमा तीज को महिमा र गरिमालाई बचाउन सफल हुन्छ त ? एक पल्ट यहि गीतमा नाच्दा नाच्दै भएपनि सोच्ने बेला आएको छ… नत्र यस्ता गीत र बजारले हाम्रो संस्कृति र रिति रिवाजलाई खिल्ली उडाउदै जाने छ र हामीले हाम्रो आउदो पिडीलाई यहि सिकाइ रहेको हुनेछौ …..जसको ज्वलन्त उदाहरुण तलका गीतमा हेरौ….

मैले चाहीँ बाईकमा
घुमाउने मन पराउने ।
बाबाले रोज्नु भो भैंसी चराउने ।।
…………
मलाई मन पर्ने
फिलिममा रमाउने ।
बाबाले रोज्नु भो हलो समाउने ।।
…………………बरिलै हलो समाउने ।।

यो शिस्ट  र सभ्य भाषामा प्रयोग गरेका केहि गीतहरु  हुन् तर बजारमा बज्ने तीजका गीत हरुले के तीज को मर्म , यसको व्यथा , नारि उत्त्थानका कुराहरु बोकेका छन् त ? आज हुनेले लाखौ खर्च गरेर तीज मनाइ रहेका छन् भने लाखौले एक छाक मिठो दर खान नपाई तीज र पंचमीको ब्रत बस्दा बस्दै बेहोस भएर उपचारको कमीमा ज्यान समेत गुमाएका छन्, हुनेले झुसुली डकार आउदै ब्रत बसेका छन् भने न हुनेले पटुकी कसेर घास दौरा र चुला चौका गर्दै ब्रत बसेका छन् के यहि हो नारि समानता र नारि अधिकार ? हो सक्छौ भने ति लाखौ गरिब एक छाक दर खान सम्म नसक्ने महिलाहरुलाई बर्षमा एक पल्टै भएपनि पेटभरि खुवाएर नया चुरा धागो र पोते दिएर संगै नाचौ नत्र भने एक थरिकाहरुले नाचेको र रमाइलो गरेको देखेर गरिब र बिपन्न हुनुको अभिसाप आफैलाई दिएर हिनता बोध बाट लाखो नारीलाई ग्रसित हुन बाट बचाऊ, यो हाम्रो सामाजिक दवित्व हो …. बिदेशमा वा सहरमा बसेका नेपालीले महिनौ होइन एक पल्ट भव्यरुपम तीज मनाउ र बाकि रहेको त्यो ताम झाम र फिजुल खर्चले एउटा बिपन्न र असहाय नारीलाई तीज मनाउन सहयोग गर्ने प्रण गरौ … सबैलाई तीजको हार्दिक शुभकामना ।