हो बा तिमीले रोकेर अब रोकिन्न

हो बा तिमीले रोकेर अब रोकिन्न

जनताको अधिकार अब खोसिन्न्
जनता आफै बुझ्ने र जान्ने भइसके
कसलाई काखा र कसलाई पाखा लाउने
यसको ज्ञान अब जनतामा पलाई सके
त्यसैले तिम्रो बमको प्रहारले पनि रोकिन्न
तिम्रो आतंक र बिद्रोहले पनि रोकिन्न
चक्का जाम र टायरको धुवाले पनि रोकिन्न
हो बा तिमीले रोकेर अब रोकिन्न !!

सिद्धान्तको नाममा इमान बेच्नेहरु
जनताको नाममा देशलाई ऋण बोकाउनेहरु
दुइ शब्द परोपकारको मन्त्र जप्न नजान्नेहरु
देशको ढुकुटीमा गिद्दे नजर राखेर
बकुलाले माछा कुरे जस्तै कुरेपनि
तिम्रो फोस्रा र खोक्रा भाषणले
जनता को मन अब पगाल्न सकिन्न
हो बा तिमीले रोकेर अब रोकिन्न !!

निर्बोध बालाको टाउकोमा बम हानेर
निर्दोष जनताको अधिकार हनन गरेर
बर्बरता र आतंकको खेति गर्नेहरु
एक फेर आफ्नै संतानलाई बम हानि हेर
एक फेर आफ्नै घर सल्काई हेर
कि तिमीले त्यहाँ न्यानो पाउछौ कि शान्ति?
एक फेर आफैलाई ऐनामा हेरीहेर
कि त्यहाँ आफ्नै भविस्य देखिन्छ कि देखिन्न?
हो बा तिमीले रोकेर अब रोकिन्न !!

तिमि भित्रको सानो मुटुलाई
एक फेर आफैले प्रश्न सोधी हेर
देशलाई एक फेर मुटुको छेउमा राखी हेर
हिमाल,पहाड र मदेसलाई एकफेर छोई हेर
यसले एउटा सिंगो देस बोक्छ कि बोक्दैन?
र त्यसलाई फेरि एकपल्ट टुक्राई हेर
त्यसले तिम्रो मुटु दुख्छ कि दुख्दैन ?
त्यसले तिम्रो मुटु सुक्छ कि सुक्दैन ?
त्यसैले त बा अब तिमीले रोकेर रोकिन्न !!